आयोजकलाई एक घण्टा कुराएका मन्त्रीद्धय जब बिस मिनेटमै खाना खान निस्कीए ….

  • १० भाद्र २०८०, आईतवार
  • 281 पटक पढिएको

म्याग्दी १० भदौ । सार्वजनिक कार्यक्रमहरु समयमै सुरु नहुँदा धेरैको सयम खेर जाने गरेको छ । जिल्ला स्तरका कार्यक्रमहरु मात्रै होइन मन्त्रीहरु नै सहभागी हुने कार्यक्रमहरु पनि घण्टौ ढिला हुने गरेका छन् । शनिवार बेनीमा आयोजना भएको कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको कार्यक्रम सार्वजनिकरण कार्यक्रममा पनि यस्तै नियती भयो ।

कार्यक्रममा मन्त्रीकाे प्रतिक्षामा बसेका अायाेजक र सहभागीहरू ।

कार्यालयले पत्रिकामै सूचना प्रकाशन गरेर ११ बजेदेखि कार्यक्रम सुरु हुने भन्दै सार्वजनिक सूचना जारी गरेको थियो । प्रदेशका विभागीय मन्त्री नै कार्यक्रममा आउने भएपछि कृषक र सहभागीहरु पनि समयमै कार्यक्रमस्थलमा पुगेका थिए । कार्यक्रम सार्वजनिकरण हुने भनिएको जिल्ला समन्वय समितिको सभाहलमा आयोजक र सहभागीहरु प्रतिक्षा गरिरँहदा कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी र विशिष्ट अतिथि उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापा भने बेनीमा काँग्रेस पार्टी कार्यालयमा नेता, कार्यकर्ता भेटघाटमा व्यस्त थिए ।


त्यसो त १२ बजेर २० मिनेट जाँदा कार्यक्रममा आइपुगेका मन्त्रीद्धयले बिस मिनेमटै फेरी आलोचित हुने व्यवहार देखाए । कार्यक्रममा सहभागी भएको २० मिनेटमै मन्त्रीद्धय खाना खान भन्दै निस्कीए । जवकी कार्यक्रममा कृषि ज्ञान केन्द्रको गत बर्षको समिक्षा र आगामी बर्षको कार्यक्रम सार्वजनिक सुरु भैसकेको थियो । खानाको लागी कार्यक्रमको उद्घाटन गरेर निस्कीएका मन्त्रीद्धय सबा १ बजे गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनको साथमा पुनः कार्यक्रममा फर्किएका थिए ।

कार्यक्रममा सहभागीहरुले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा तथा पशु सेवा विज्ञ केन्द्रको कार्यक्रम सार्वजनिकरण कार्यक्रममा दुई जना मन्त्री सहभागी हुन आउनुलाई पनि अनौठो मानेका थिए । हुनत म्याग्दीलाई प्रदेश र संघीय सरकारका मन्त्री तथा मातहतका विभागका कर्मचारीहरुले बजेट तथा योजना कटौती गर्ने तर मुस्ताङ भ्रमणको सिलसिलाको ट्रान्जीट कार्यक्रम गराउने गरेका छन् । अधिकाँशको लक्ष्य म्याग्दीको कार्यक्रममा आउनु भन्दा पनि मुस्ताङ भ्रमण सकेर फर्कनु हुने गरेको विगतदेखिकै अभ्यास जस्तै छ । कार्यक्रममा सहभागी किसान र कृर्षकहरुले बास्तविक कृषक र किसानहरुलाई लाभ हुने गरि कार्यक्रम कार्यान्वनय नहुने, पशुपालनतर्फको बजेट कटौती भएको , पहुँचवालाहरुले मात्रै सुविधा पाउने गरेको गुनासो गरेका थिए ।