स्वयंसेवक बनेर आमाहरुलाई पढाउँदै सेवानिवृत्त शिक्षक( तस्विर सहित )

  • ९ भाद्र २०८०, शनिबार
  • 443 पटक पढिएको

 

कमल खत्री
बेनी, ९ भदौ : प्रकाश माध्यमिक विद्यालयबाट सेवानिवृत्त शिक्षक हरिकृष्ण सुवेदी आमाहरुलाई पढाउन पुनः स्वयंसेवक शिक्षकको रुपमा शिक्षण पेशामै फर्कनुभएको छ । पढ्ने रहर अधुरै भएका आमाहरुलाई लक्षित गरेर बेनीको मंगलाघाटमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा ६२ बर्षिय सुवेदीले स्वयंसेवक शिक्षकको रुपमा शिक्षण पेशालाई पुनः निरन्तरता दिनुभएको हो ।
लामो समयसम्म प्रकाश माविको प्रधानध्यापक भएर जिम्मेवारी पुरा गर्नुभएका सुवेदीले अस्थायी सहित ४३ बर्ष, ६ महिना १८ दिन शिक्षण गर्नुभएको थियो । २०७८ फागुन १८ गते अनिवार्य अवकास लिएर सेवानिवृत्त दैनिकीमा समय विताउँदै आउनुभएका सुवेदी भदौ पहिलो सातादेखि उज्यालो बैकल्पिक विद्यालयमा जोडिनुभएको हो ।
आमाहरुले अध्ययन गर्दै आएको विद्यालयमा शिक्षकको अभाब भएको र विद्यालय व्यवस्थापन समितिबाट भएको आग्रह बमोजिम आफु स्वयंसेवक भूमिकामा पुनः शिक्षणमा फर्किएको उहाँले बताउनुभयो । ‘‘ अधिकाँश विद्यार्थी आमाहरु नै हुनुहुन्छ, उहाँहरुमा पढ्ने तीब्र इच्छाशक्ति छ, मेरो अनुभव र क्षमताले भ्याएसम्म उहाँहरुको सिकाई उपलब्धी बढाउनतर्फ मेरो प्रयास रहन्छ’’–सुवेदीले भन्नुभयो ।
सानो उमेरमा अध्ययन गर्न नपाएका, बिचैमा विद्यालय छाडेका महिला र आमाहरुलाई लक्षित गरेर बेनी सामुदायिक विद्यालय मातृ विद्यालय रहने गरि वि.स. २०७१ सालदेखि बेनीमा उज्यालो वैकल्पिक विद्यालय सञ्चालनमा आएको थियो । अहिले सामाजिक विकास कार्यालय सञ्चालनमा रहेको तत्कालिन महिला तथा बालबालिका कार्यालयको भुँइतलामा कक्षाकोठा व्यवस्थापन गरेर कक्षा १ देखि १० सम्म पठनपाठन सञ्चालन गर्दै आईएको छ ।
विद्यालयमा अहिले ३३ जना विद्यार्थी अध्ययनरत छन् । विविध कारणले बिचैमा पढाई छाडेका महिला र आमाहरु नै विद्यालयका विद्यार्थी हुन् । जीवनको कुनै चरणमा शिक्षाको ठक्कर लागेर अध्ययन गर्न आउनुभएका आमाहरु विद्यार्थी भएकाले पनि पठनपाठन गराउन सहज भएको शिक्षक सुवेदीको भनाई छ ।
‘‘विद्यालयमा सबैभन्दा गाह्रो काम भनेको विद्यार्थीहरुलाई प्रेरणा दिनु हो, उहाँहरु आफै पढ्नपर्छ भनेर विद्यालय आउनुभएको छ, पढ्ने उत्कृष्ट चाहना हुनु नै आधा सिकाई हुनु हो, हामीले उहाँहरुको क्षमताको पहिचान गरेर सिकाई उपलब्धी बढाउने गरि शिक्षण गर्ने जमर्को गर्छौ’’–उहाँले भन्नुभयो । शिक्षाको अवसरबाट बञ्चित भएका आमाहरुलाई साक्षर गराउने कार्यमा सहभागी हुन पाउनु आफ्नो लागि पनि योगदान गर्ने अवसर रहेको सुवेदीको भनाई छ ।
शिक्षक सुवेदी सहित सम्झना विक र अविशेक विक गरी विद्यालयमा नवनियुक्त तीन जना शिक्षकहरुलाई शुक्रवार विद्यालयमा स्वागत गरिएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाक्य सहित पदाधिकारी र सदस्यहरुले शिक्षकहरुलाई स्वागत गर्नुभएको थियो । सेवानिवृत्त जीवनलाई आमाहरुलाई साक्षर बनाउने कार्यमा खर्चिनु आफैमा स्वागतयोग्य र प्रसंसदनीय रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश शाक्ले बताउनुभयो ।
लामो समयसम्म एउटा विद्यालयको प्रधानध्यापक भएर विद्यालयलाई उत्कृष्ट बनाउन सफल शिक्षक सुवेदीको आगमनले उज्यालो वैकल्पिक विद्यालयको समग्र शैक्षिक विकास र गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष शाक्यले बताउनुभयो । यस विद्यालयमा अहिले ६ जना शिक्षकहरु कार्यरत हुनुहुन्छ ।
विद्यालयमा अध्ययन गरेर दुई बर्षदेखि आमाहरुले एसइई परिक्षा समेत उर्तिण गर्दै आउनुभएको छ । यस बर्षको एसइईमा नौ जना आमाहरु एसइईमा उर्तिण हुनु सफल भएको विद्यालयका शिक्षक साहारा थापाले जानकारी दिनुभयो । उहाँका अनुसार, विद्यालयमा ६० बर्षसम्मका आमाहरु अध्ययनरत हुनुहुन्छ ।
विद्यालय सञ्चालनमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा विकास तथा समन्वय इकाई र बेनी नगरपालिकाले सहयोग गरेका थिए । तर सहयोगको निरन्तरता नभएको र स्रोतको सुनिश्चिता नहुँदा सहयोग जुटाएर विद्यालयमा कार्यरत शिक्षकहरुको तलब सुविधा उपलब्ध गराउनुपर्ने बाध्यता आएको विद्यालय व्यवस्थापन समितिका सहसचिब सन्दिप खत्रीले बताउनुभयो ।   राससमा प्रकाशित