अमर मा.वि. चिमखोलामा स्थापित अक्षयकोषहरुबाट ३१ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान

  • १ भाद्र २०८०, शुक्रबार
  • 705 पटक पढिएको

म्याग्दी १ भदौ । म्याग्दीको रघुगंगा गाँउपालिका – ७ चिमखोलामा रहेको  अमर माध्यामिक विद्यालयमा सहयोगदाताहरुले स्थापना गर्नुभएको विभिन्न अक्षयकोषबाट छात्रबृत्ति वितरण गरिएको छ । शुक्रवार विद्यालयमा आयोजित कार्यक्रममा विभिन्न सहयोग दाताहरुले स्थापना गर्नुभएको चार वटा अक्षयकोषबाट ३१ जना विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरिएको हो ।
कार्यक्रममा “नर बहादुर गजमति स्मृति” कोषबाट सर्बाेकृष्ट विद्यार्थी, छात्रा सर्बाेकृष्ट र दलिततर्फ सर्बाेकृष्ट अंक ल्याएर उर्तिण भएका तीन जना विद्यार्थीहरुलाई  जनही नगद रु १ हजार पाँच सयको दरले छात्रावृत्ति वितरण गरिएको छ । निबर्तमान महिला बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्री थममाया थापाले २०५७ सालमा आफ्ना दिवंगत बुबा नर बहादुर थापा र आमा गजमति थापाको नाममा रु एक लाख एक राशीको “नर बहादुर गजमति स्मृति” कोष स्थापना गर्नुभएको थियो । उक्त कोषबाट वि.स. २०५८ साल देखि प्रत्येक बर्ष विद्यालयको विद्यालय सर्बाेकृष्ट, छात्रा सर्बाेकृष्ट र दलित सर्बाेकृष्ट अकल्याउने विद्यार्थीहरुलाई छात्रावृत्ति वितरण गर्न सुरु गरिएको थियो । दिवंगत नर बहादुर थापा विद्यालयको सस्थापक प्र.अ. हुनुहुन्थ्यो भने वद्यालयको स्थापना, सञ्चालन तथा ब्यवस्थापनमा उहाँको ठूलो योगदान रहेको छ ।
त्यसैगरि कार्यक्रममा चिमखोला टोल नं. ५ (हाल यु.के.) निवासी शिक्षाप्रेमी अमृत गर्बुजा तथा स–परिवारबाट दिवंगत बाबा आमा शेर बहादुर गर्बुजा र जनिमा थापाको नाममा स्थापित रु तीन लाख राशीको “शेर जनिमा स्मृति” कोषबाट अमर माध्यामिक विद्यालयका गरिव तथा जेहेन्दार ६ जना विद्यार्थीहरु, सिद्ध आधारभुत विद्यालयका दुई जना विद्यार्थीहरु र चिमखोला आधारभुत विद्यालयका दुइ जना विद्यार्थीहरु गरि जम्मा १० जना विद्यार्थीहरुलाई जनही रु. दुई हजारको दरले छात्रबृत्ति वितरण गरिएको छ । २०७० सालमा स्थापित “शेर जनिमा स्मृति” कोषबाट २०७१ देखि नै छात्रबृत्ति वितरण गरिँदै आईएको छ ।
त्यसैगरि चिमखोलाको टोल नं. ७ (हाल बेनी) निवासी पूर्व शिक्षिका एवं राष्ट्रिय लोक तथा दोहोरी गीत  प्रतिस्ठानका संस्थापक सदस्य धनकुमारी थापाद्धारा दिवंगत छोरी संगीता बानियाँ रामजालीको स्मृतिमा स्थापित ‘संगिता रामजाली स्मृतिकोष’ बाट १४ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको छ । २०७४ सालमा स्थापित रु तीन लाख राशीको ‘संगिता रामजाली स्मृतिकोष’बाट बार्षिक परिक्षामा मा.वि. प्रथम र द्धितीय, नि.मा.वि. प्रथम र द्धितीय, प्रा.वि. प्रथम र द्धितीय तथा असहाय विद्यार्थी कक्षा ७ मा अध्ययनरत साहाना बुढालाई जनही रु दुई हजार तथा  ८ जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई जनही रु एक हजारको  छात्रबृत्ति प्रदान गरिएको छ ।
त्यसैगरि यसैबर्षदेखि छात्रबृत्ति वितरण गर्ने गरि चिमखोलाको गौडामुनी घर भई हाल चितवनको खैरहनी नगरपालिका–२ बसोबास गर्नुहुने सिता थापा पुनले आफ्नो दिवंगत  बुबा केश बहादुर थापा पुन तथा आमा बोमति थापा पुनको स्मृतिमा स्थापना गर्नुभएको “केश बहादुर बोमति थापा पुन”अक्षयकोषबाट  चार जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको छ । रु १ लाख रकमको उक्त अक्षयकोषबाट अति विपन्न तथा जेहेन्दार ३ जना विद्यार्थी लाई जनही नगद रु १ हजार पाँच सय र  एक जना जेहेन्दार विद्यार्थीलाई रु १ हजार नगद वितरण गरियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्र बहादुर बुढा, पूर्वमन्त्री थममायाँ थापा, वडा अध्यक्ष थकबहादुर पाईजा, विद्यालयका प्रअ पृथबहादुर थापा लगायतले विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै पूर्वमन्त्री थापाले चिमखोलामा रहेको अमर माविको भौतिक र शैक्षिक विकासमा सबैक्षेत्रबाट सहकार्यको आबश्यकता औँल्याउँदै आफ्नो तर्फबाट सक्दो पहल र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा प्रअ पृथ बहादुर थापाले गतबर्ष र यस बर्षको तुलनात्मक शैक्षिक गतिविधिबारे जानकारी गराउँदै विद्यालयमा विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगदाताहरुलाई धन्यबाद प्रकट गर्नुभयो । वडा अध्यक्ष थकबहादुर पाईजाले विद्यालयको भौतिक पूर्वाधार संगसंगै शैक्षिक गुणस्तर सुधारमा जोड दिँदै आफ्नो तर्फबाट विद्यालयको विकासमा संधै हातेमालो गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्रबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा  दिपप्रज्वलन तथा फोटोमा टिकामाला अर्पण गरी प्रमुख अतिथिबाट उद्घाटन गरिएको थियो । शिक्षक क प्रसाद थापाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक होमनाथ शर्माले गर्नुभएको थियो भने विद्यार्थीहरुले विविध साँगेतिक प्रस्तुती राखेका थिए ।           तस्विर : होमनाथ शर्मा