म्याग्दीमा ‘लम्पी स्किन’ तीव्र रुपमा फैलियो

  • १४ असार २०८०, बिहीबार
  • 519 पटक पढिएको

 

म्याग्दी, १४ असार । म्याग्दीमा ‘लम्पी स्किन’ बाट एक हजार ६६९ गाईगोरु र भैसी बिरामी परेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु सेवा प्राविधिक गणेश रिजालले जिल्लाका ६ वटै स्थानीय तहमा लम्पी स्किन फैलिएको बताउनुभयो ।

‘गाई, गोरु, बाच्छा र बाच्छीमा देखिएको यो रोग पछिल्लो समय मंगला गाउँपालिकामा एक वटा भैसीमा पनि लम्पी स्कीन भेटिएको उहाँले जानकारी दिनुभयो । केन्द्रको तथ्याङ्क अनुसार, बेनी नगरपालिकामा ८१, मंगला गाउँपालिकामा ५०, मालिकामा ४३, धवलागिरीमा १५४, रघुगंगामा ४६१ र अन्नपूर्णमा ८८० पशुमा लम्की स्किन देखिएको छ ।

लम्पी स्किनबाट बेनीमा ९, मालिकामा ४, धवलागिरीमा ४, रघुगंगामा २९ र अन्नपूर्णमा ७४ पशु मरेका छन् । १३ वटा बाच्छाबाच्छी, ३६ वटा गाई, ७१ वटा गोरु मरेका केन्द्रले जनाएको छ । म्याग्दीमा लम्पी स्किन देखिएका मध्य ७.१९ प्रतिशत पशु मरेका छन् । वि.स. २०७९ चैत १३ गते रघुगंगा गाउँपालिकामा जिल्लामा पहिलो पटक यो रोग देखिएको थियो ।

पछिल्लो पटक अन्नपूर्ण गाउँपालिकामा यो रोग तिब्र रुपमा फैलिएको छ । गोरु बिरामी परेका र मरेका कारण मुख्य खाद्यबाली धान रोपाई प्रभावित भएको अन्नपूर्ण गाउँपालिका–६ घारका कृषक टेकबहादुर खड्काले बताउनुभयो । ‘गाईहरु बिरामी भएपछि घारमा सञ्चालित चिज उद्योग पनि बन्द भएको छ ।’

ज्वरो आउने र शरिरका फोका देखा पर्ने, पछि झोक्राउँदै जाने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेका छन् । यो रोग हावाका माध्यमबाट सर्ने बताइएको छ ।

प्रदेश सरकारबाट प्राप्त भएको लम्पी स्किनबाट बिरामी भएका पशुलाई खुवाउने एन्टिबायोटिक औषधी स्थानीय तहहरुलाई उपलब्ध गराएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख रामकृष्ण सुवेदीले बताउनुभयो ।