मोना बेल्जियमद्धारा क्यूकेनहप पार्कको भ्रमण

  • ३० चैत्र २०७९, बिहीबार
  • 389 पटक पढिएको

धु्रवसागर शर्मा

म्याग्दी ३० चैत । बेल्जियममा रहेका मोना बेल्जियममा आवद्ध रहेका ८५ जना सदस्यहरुले १० अप्रिल २०२३ मा क्यूकेनहप पार्कको भ्रमण गरेका छन् । विदेशमा रहेर पनि आफ्नो जन्मभूमिमा शिक्षा,स्वास्थ्यको विकास, प्राकृतिक प्रकोप,विपन्न र असहायको लागि आर्थिक सहयोग लगाएत विभिन्न परोपकारी कार्यहरुमा संलग्न रहँदै आएको मोना वेल्जियममा आवद्ध म्याग्देलीहरुले क्यूकेनहप पार्कको भ्रमणबाट एकापसमा परिचय र सम्वन्ध विस्तार भएको बताएका छन् ।

प्रतिकुल मौसम भए पनि उल्लेख्य रुपमा भएको सहभागिताले आफू उत्साही भएको मोना वेल्जियमका अध्यक्ष रकेन्द्र घिमिरेले बताउनुभयो । यो भ्रमण आपसी सम्वन्ध विस्तार र परेको बेलामा जन्मभूमिको लागि सहयोग जुटाउनका लागि पनि महत्वपूर्ण माध्यम भएको उहाँले जानकारी दिनुभयो । भ्रमणमा सहभागिता जनाउनेहरुलाई अध्यक्ष घिमिरेले धन्यवाद व्यक्त गर्नुभएको थियो । बेल्जियममा रहेका म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना बेल्जियम)ले म्याग्दीका विद्यालयलाई डिजिटल सामाग्री लगाएत अन्य सहयोग गर्दै आएको छ ।

केही समय पहिले लुलाङको लुलाङ आधारभूत विद्यालयमा रु ५० हजार बराबरको डिजिटल साउण्ड सिस्टम १ थान र सूचना प्रविधिका लागि आवश्यक उच्च गतिको ईन्टरनेट जडानका लागि १ थान वाइफाइ राउटर सहयोग गरेको थियो । यसैगरी (मोना) बेल्जियमले म्याग्दीका विरामीको उचारका लागि आर्थिक सहयोग गरेको छ । उच्च रक्तचापका कारण टाउकोको शल्यक्रिया गरेका मंगला गाउँपालिका २ हिदीका बेलबहादुर विकलाई रु १ लाख,२ हजार ९ सय आर्थिक सहयोग उपलव्ध गराएको मोना बेल्जियमले जनाएको छ । यसैगरी अन्य ठाउँ र क्षेत्रहरुमा पनि मोना बेल्जियमले आवश्यक सहयोग गर्दै आएको छ ।