रघुगंगामा २० औँ गाउँसभाबाट अर्थबार्षिक समिक्षा र बजेट संशोधन

  • १४ पुष २०८२, सोमबार
  • 17 पटक पढिएको

म्याग्दी १४ पुस ।  म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८२/०८३ का लागि छनौट भएका योजनाहरुमध्ये रु २ करोड ४९ लाख २० हजार बजेट बराबरको योजना तथा कार्यक्रम संशोधन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २० औँ गाउँसभाले विभिन्न योजना तथा कार्यक्रमका लागि १९ औँ गाउँसभाबाट विनियोजन भएको बजेटलाई संशोधन तथा गाउँपालिकाको आन्तरिक स्रोतबाट थप रु ७ लाख २० हजार बराबरको बजेट विनियोजन गरेको छ ।
सभामा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको गत आर्थिक बर्षको यथार्थ आय व्यय विवरण तथा चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमाथिको संक्षिप्त समिक्षात्मक प्रगति विवरण र उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको संशोधन प्रस्ताब छलफल सहित पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो ।
गत असार ५ गते सम्पन्न भएको १९ औँ गाउँसभाबाट चालु आर्थिक बर्ष २०८२/०८३ का लागि रु ५१ करोड ७८ लाख ४० हजार बराबरको अनुमानित बजेट स्वीकृत गरिएकोमा पुस १० गतेसम्म संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोतबाट समेत गरेर रु २८ करोड ३६ लाख ८५ हजार राजश्व तथा अनुदान संकलन भएर परिचालन भएको पालिका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।


गाउँपालिकाले पुस १० गतेसम्म चालु खर्चतर्फ रु ३७ करोड २५ लाख बजेटमध्ये ९ करोड २४ लाख र पुँजीगततर्फ रु १४ करोड ५३ लाख बजेटमध्ये १ करोड ८६ लाख बजेट खर्च गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको हालसम्म जम्मा १२ दशमलब ८० प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ । जेनजी आन्दोलनले सिजृत परिस्थिति, संघीय सरकारको अस्थिरताका कारण बजेट कार्यान्वयन सम्बन्धी निर्देशिकामा ढिलाई र द्धिविधा उत्पन्न हुनु र उपभोक्ता समिति गठनमा ढिलाई हुँदा बजेट कार्यान्वयनमा सुस्तता आएकाले कार्यतालिका बनाएर योजना तथा कार्यक्रमको कार्यान्वनयमा जुट्नुपर्ने पालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।
सभाले चालु योजनाहरूको प्रगति मूल्याङ्कन गर्दै बाँकी अवधिका लागि बजेट परिमार्जन र विकासका नयाँ प्राथमिकताहरू समते पारित गरेको छ।