बेनी नगरपालिकाको १८ औ नगरसभामा नौ जनालाई सम्मान र पुरस्कार

  • १४ पुष २०८२, सोमबार
  • 63 पटक पढिएको

बेनी, १४ पुष ः म्याग्दीको बेनी नगरपालिकाको सोमबार सम्पन्न १८ औ नगरसभामा नौ जनालाई सम्मान र पुरस्कार वितरण गरिएको छ । उत्कृष्ट कर्मचारी, उपभोत्ता समिति, टोल विकास संस्था, उपभोक्ता समिति र निर्माण ब्यवसायीलाई सम्मान गरिएको हो ।

गत आर्थिक वर्षमा तीन वटा योजनाको ठेक्का लिएर निर्धारित समयमै काम सम्पन्न गरेको एसएस बिल्डर्सका सञ्चालक नवराज बरुवाल, पात्लेखेतको छरटोल देखि साविले गोरेटो बाटो उपभोक्ता समितिका अध्यक्ष जिवन राम्जाली र सिंगा तल्लो तातोपानी टोल विकास संस्थाका उपाध्यक्ष सिता घले बुढा र सबैभन्दा बढी कर तिर्ने वडा नं. ८ की मिठुकुमारी श्रेष्ठलाई सम्मान गरिएको थियो ।

यसैगरी अधिकृत स्तरको कर्मचारीतर्फ जनस्वास्थ्य अधिकृत चन्दन सुवेदी, स्वास्थ्यकर्मीतर्फ रत्नेचौर स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक होमनाथ गौतम, वडा कार्यालयमा कार्यरत कर्मचारीतर्फ वडा नम्बर ८ का सचिव रमेश पौडेल, सहायक स्तरको कर्मचारीमा अल्पकालिन सेवा केन्द्रका प्रमुख साधना केसी र कार्यालय सहयोगी मध्यबाट लक्ष्मण क्षेत्रीलाई सम्मान गरिएको हो ।

उत्कृष्ट करदाता श्रेष्ठले गत आर्थिक वर्षमा नगरपालिकालाई सबैभन्दा बढी रु. ६८ हजार एक ८७ दशमलब १५ राजस्व तिर्नुभएको प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउनुभयो । नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने पौडेल र प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले कदरपत्र प्रदान र दोसल्ला ओढाएर सम्मान तथा पुरस्कृत गर्नुभएको थियो ।

उत्कृष्ट, विद्यालय, शिक्षक र विद्यार्थीको पुरस्कार अर्को छुट्टै कार्यक्रममा वितरण गरिएकाले नगरसभामा नगरिएको नगर प्रमुख केसीले बताउनुभयो ।