बेनी नगरपालीकाको सार्वजनीक सुनुवाई
- २८ असार २०७४, बुधबार
- 2359 पटक पढिएको
बेनी २८ असार । बेनी नगरपालीकाको कार्यालयद्धारा चालु आर्थिक वर्ष २०७३/७४ मा सञ्चालित योजना तथा कार्यक्रम र सेवा प्रवाहको विषयमा बुधबार बेनीमा सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुले समयमै योजना कार्यान्वयन नहुनु र आर्थिक वर्षको अन्तमा हतारमा काम गरिदाँ पूर्वाधार निर्माण दिगो तथा गुणस्तरीय बन्न नसकेको गुनासो गरेका थिए ।
बजेट बिनियोजनका क्रममा ग्रामिण क्षेत्रलाई प्राथमिकता दिनुपर्ने, आर्थिक वर्षको अन्तमा योजना कार्यान्वयन गर्ने प्रवृती रोक्नुपर्ने, सामाजिक सुरक्षा भत्ता सहज रुपमा वितरण गर्ने व्यवस्था मिलाउन, फोहोर व्यवस्थापन र सडक स्तरवृद्धीलाई प्राथमिकता दिन सुझाव दिएका थिए ।
सवै वडा कार्यालयमा आवश्यक जनशक्ति र पूर्वाधारको व्यवस्था मिलाएर सम्बन्धित ठाउँबाटै सेवा प्रवाह गर्नुपर्ने माग राखेका नगरबासीले बेनीमा विद्युत, खानेपानी, सडक र कटान नियन्त्रणको समस्या समाधानका लागि सम्बन्धित निकायसंग पहल गर्नुपर्ने बताएका थिए ।
नगरप्रमुख श्रेष्ठले सहभागीले सोधेका प्रश्नको उत्तर दिदै नगर क्षेत्रमा सडक, खानेपानी, सिचाई लगायत पूर्वाधारलाई व्यवस्थित बनाउन प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभयो । बेनीको फोहोर व्यवस्थापनका लागि ल्याडफिल साईटको जग्गा खोजी, बधस्थल निर्माण स्थल पहिचान, हातबजार सञ्चालनका लागि समन्वय भएको बताउनुभयो ।
नगरउपप्रमुख सञ्जु बरुवालले महिला, दलित, बालबालीका, आदीवासी जनजाती लगायत लक्षीत समुदायको क्षमत्ता तथा नेतृत्व विकासलाई प्राथमिकता दिइएको बताउनुभयो । कार्यकारी अधिकृत विश्वामित्र कुईकेलले नगरपालीले प्रवाह गर्ने सेवा सुबिधालाई थप सहज र व्यवस्थित बनाउन प्रबिधिको प्रयोगका साथै जनशक्ति र पूर्वाधार थप गर्न पहल भएको बताउनुभयो ।
ईञ्जिनियर बिमलरञ्जन कार्कीले भवन निर्माण आचारसंहित कडाईका साथ कार्यान्वय गरीएको जानकारी दिदै मन्त्रालयमा अड्कीएको नगर यातायात गुरुयोजना निर्माण कार्यलाई पूर्णत दिन पहल भएको बताउनुभयो ।
खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयका प्रमुख ईश्वरीप्रसाद पौडेल, जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ, घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख मिरादेवी अधिकारीले पनी सहभागीले सोधेका प्रश्नको उत्तर दिनुभएको थियो ।
बेनपा ६ का अध्यक्ष कृष्णबहादुर बानीया, ८ का रामकृष्ण बराईली लगायत वडा अध्यक्षहरुले आफ्नो वडाको विषयमा उठेका प्रश्नको जवाफ दिनुभएको थियो । कार्यकारी अधिकृत कुईकेलले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत सोबिता शर्मा कडेल र सहजिकरण पत्रकार सन्तोष गौतमले गर्नुभएको थियो ।
सहभागीले उठाएका सडक डिभिजन, जलउत्पन्न प्रकोप नियन्त्रण, विद्युत प्राधिकरण लगायत कार्यालयसंग सम्बन्धित समस्या समाधानका लागि पहल गर्ने नगरपालीकाले प्रतिवद्धता जनाएको छ ।