आर्थिक मसान्त सकिनै लाग्दा एलडीओ र ईन्जिनियरले किन छाडे जिल्ला !
- २८ असार २०७४, बुधबार
- 3130 पटक पढिएको
मयग्दी, २९ असार । आर्थिक बर्षको अन्तिममा एक आयोजनामा भुक्तानी बिवाद हुँदा स्थानीय विकास अधिकारी (एलडिओ) प्रेमराज गिरी र जिल्ला इञ्जिनियर रविन महर्जनले जिल्ला छोडेर मन्त्रालय जानुभएको छ ।जिल्ला समन्वय समिति अन्र्तगत सञ्चालित ग्रामिण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप)ले सञ्चालन गरिरहेको बेनी–अर्थुङ्गे–पात्लेखेत सडक स्तरोन्नती आयोजनामा ठेकेदार हिमदुङग एण्ड ठोकर नाना जेभी काठमाडौँका स्थानीय प्रतिनिधी रविन्द्र कार्कीले भुक्तानीको विषयलाई लिएर अनावश्यक दबाब दिएको भन्दै एलडिओ गिरि र इञ्जिनियर महर्जनले बुधबार बिहानै जिल्ला छोड्नुभएको हो ।
दुबै जनाले गुणस्तरहीन कामको रकम भुक्तानी गर्न नसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई जानकारी गराएर मन्त्रालय हिडेपछि जिसस मार्फत सञ्चालन भएका अन्य आयोजनाका उपभोक्ताहरु समेत मर्कामा परेका छन् । ड्रिलिपले आयोजना अन्र्तगत देउराली–अलबाङसम्मको सडक स्तरोन्नति गर्न ६ करोड १५ लाख रुपैयाँ ठेक्का लगाएको थियो ।
ठेकेदार कम्पनीका स्थानीय प्रतिनिधी कार्कीले असार १६ देखि २६ गतेसम्म गरेको कामको बिलको भुक्तानी नपाएको बताउनुभयो । ‘त्यो मिति भन्दा अघिको मूख्य बिलको भुक्तानी पाईसकेका छौँ, तर १० दिनमा हामीले एक करोड ९ लाख रुपैयाँको काम गरेका छौँ’, उहाँले भन्नुभयो, ‘त्यो रकमको भुक्तानी माग्दा उहाँहरुले अनेकौँ बाहना बनाउनुभयो ।’ जिससले भने असार १६ गते नै आयोजना (टर्मिनल) बन्द गरिसकेको जनाएको छ ।
तर, ठेकेदारहरुले भने यसबारे कुनै जानकारी प्राप्त नभएको भन्दै १० दिन काम गरेको बिल भुक्तानीका लागि दबाब दिदै आएका थिए । समयमै काम नगरेको भन्दै आयोजनाले ठेकेदारलाई यसअघि नै ५० लाख जरिवाना तिराईसकेको छ । ‘प्रतिदिन जरिवाना गरेर काम गर्ने दिन अझै छ, आयोजना बन्दको जानकारी ठेकेदारलाई हुनुपर्दैन ?’, ठेकदार कार्कीले भन्नुभयो ।
प्रजिअ पौडेलले भने दुईदिन देखि भुक्तानीका विषयमा जिसस र ठेकदार बीच भनाभन भइरहेपनि त्यसलाई सामान्यीकरण गरिएको बताउनुभयो । ‘बुधबार बिहान ४ बजे नै हामी जान्छाैँ भनेर उहाँहरु हिड्नुभो, सुरक्षाका लागि प्रहरी दिन्छाँ भन्दा मान्नुभएन’, उहाँले भन्नुभयो, ‘मन्त्रालयसँग पनि छलफल भइरहेको छ, यसको निकास छिट्टै हुन्छ ।’
ड्रिलिप आयोजना जिल्लामा सबैभन्दा बिवादित आयोजना हो । मुआब्जा वितरण देखि सडक ग्राभेल, ढल निर्माण, आरसिसि ढलान सम्म यो आयोजना बिवादित बनेको छ । सडक स्तरोन्नतिका नाममा खनिएका माटोका कारण बेनीबजारको क्याम्पस र मंगलाघाट क्षेत्र बर्षेनी बाढीको चपेटामा पर्दै आएका छन् । भुक्तानी दिने र योजनाको मूल्यांकन गर्ने मूख्य अधिकारीहरु नै हिडेपछि जिसस भद्रगोल बनेको छ भने उपभोक्ता मर्कामा परेका छन्