गरिबी निवारण कार्यक्रमको वार्षिक समीक्षा

  • २३ असार २०७४, शुक्रबार
  • प्रताप बानियाँ
  • 2451 पटक पढिएको

म्याग्दी, २३ असार । म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार गरिबी निवारण कोष (प्याफ) कार्यक्रमको समीक्षा सम्पन्न भएको छ । गरिबी निवारण कोषको आर्थिक सहयोग र संगम म्याग्दी तथा धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र डिसीआरडिसी बागलुङको आयोजनामा समीक्षा वैठक गरिएको हो ।


कार्यक्रममा संगम म्याग्दीका कार्यक्रम संयोजक कुलचन्द्र रेग्मी, डिसीआरडिसी प्याफ कार्यक्रम संयोजक सुरेश पुन र नेपालमा द्वन्द्वप्रभावितका लागि बजार निर्मााण परियोजनाका कार्यक्रम संयोजक रमेश पौडेलले आ–आफ्नो संस्थामार्फत म्याग्दी जिल्लामा सञ्चालित कार्यक्रम र गतिविधिको बारेमा प्रस्तुती प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले समयको मागअनुसार कार्यक्रमको मोडल परिवर्तन गरी समुदायस्तरमा सञ्चालन गर्नुपर्ने बताउँदै आर्थिक उपार्जनसँगै सामाजिक संस्कार र समाज परिवर्तनका लागि पृथक खालका कार्यक्रमलाई सञ्चालनमा जोड दिनुपर्ने बताइन् । जिल्ला समन्वय समितिका सूचना अधिकृत पदम भण्डारीले प्रभावकारी रुपमा संघसंस्थाले आफ्ना कार्यक्रम सञ्चालन गर्नुपर्ने भन्दै सरोकारवाला निकाय सबैसँग आवश्यक समन्वय गरेर कार्यक्रम गर्न सुझाव दिएका छन् ।

कार्यक्रममा सहायक महिला विकास निरीक्षक लक्ष्मी केसी, गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेल, संगमका धनमाया किसानलगायतले आ–आफ्नो धारणा राखेका थिए । गरिबी निवारण कोषका फोकल पर्सन पदम भण्डारीको अध्यक्षता, डिसीआरडिसीका अध्यक्ष ईश्वरलाल राजभण्डारीको स्वागत र सुरेश पुनको सञ्चालनमा सम्पन्न कार्यक्रमको उद्देश्यमाथि संगम म्याग्दीका अध्यक्ष दिपक पौडेलले प्रकाश पारेका थिए ।

कार्यक्रममा गरिबी निवारण कोष म्याग्दीका कार्य प्रवन्धक ईश्वरा आचार्यले संस्थाको कार्यक्रम र वैठकमा उठेका जिज्ञासाको बारेमा बोलेकी थिइन् । उक्त वैठकमा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख÷प्रतिनिधि, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

प्रताप बानियाँ