तोरिपानीमा टिम्मुर खेती विस्तारको लागि विरुवा बितरण (फोटो फिचर)

  • २२ असार २०७४, बिहीबार
  • कमल खत्री
  • 4222 पटक पढिएको

म्याग्दी, २२ असार । म्याग्दीको बेनी नगरपालीका– ९ तोरीपानीका कृषकलाई टिम्मुर खेती विस्तारका लागि बिहीबार बिरुवा वितरण गरिएको छ । टिम्मुर खेतीको अवस्था, समस्या र सम्भावनाको विषयमा सरोकारवालाहरुबीच छलफल समेत भएको छ । ब्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोगमा म्याग्दी उद्योग वाणिज्य संघले चार हजार टिम्मुरका बिरुवा उपलब्ध गराएको हो ।

तोरीपानीको भुमेसिद्ध टिम्मुर सञ्जालमा आवद्ध कृषकलाई बिरुवा वितरण गरिएको संघले जनाएको छ । स्थानीय गुमानसिङ बानीयाको नर्सरीमा चार हजार बिरुवा खरिद गरी कृषकहरुलाई उपलब्ध गराइएको संघका कार्यबाहक अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो । टिम्मुरको उत्पादन वृद्धी गरी अन्तराष्ट्रिय बजारमा निकासी गर्ने उद्देश्यले खेती विस्तारमा सघाएको कर्माचार्यले बताउनुभयो ।

संघले एक गाउँ एक उत्पादन कार्यक्रम अन्तरगत पछिल्लो पाँच वर्षयता तोरीपानी, नारच्याङ र दग्नामका कृषकलाई १९ हजार ५०० बिरुवा वितरण गरिएको छ । ब्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका उपनिर्देशक सिद्धचरण दाहालले तेस्रो मुलुकमा निकासी गरि बिदेशी मुद्रा आर्जनका लागि टिम्मुरको प्रशस्त सम्भावना देखिएकाले खेती विस्तारमा जोड दिन कृषकलाई आग्रह गर्नुभयो । उहाँले अहिले नेपालबाट निकै न्युन मात्रामा सामानहरु निकासी हुने भएकाले टिमुर खेतीलाई विस्तार गर्न सकेमा यसलाई ठुलो मात्रामा बाहिर निकासी गर्न सकिनेमा जोड दिनुभयो ।

सो कार्यक्रममा तोरीपानीका कृषकहरुलाई टिम्मुर खेती प्रबिधिको बारेमा सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले प्रशिक्षण दिनुभएको थियो । कृषक सागर बानीयाले टिम्मुरको बिरुवा र फलको माग उच्च रहेकाले बजारको समस्या नरहेको बताउनुभयो । उहाँका अनुसार गत वर्ष तोरीपानीबाट एक हजार ४०० केजी टिम्मुर निकासी भएको छ । कृषकहरुले टिम्मुरको बिरुवाको मूल्य बढाउनुपर्ने र निकासीका लागि अनुमती प्रक्रिया सहज बनाउन आग्रह गरेका थिए ।

]कार्यक्रममा बोल्दै ब्यापार तथा निकासी प्रर्वद्धन विकास समितिका सदस्य दिपेन्द्र श्रेष्ठले केन्द्रको सहयोगमा वितरण गरिएको टिमुर विरुवाले तोरीपानीलाई टिमुर गाउँको रुपमा विकास गर्न थप सहयोग मिलेको बताउँदै खेर गएको जग्गामा टिमुर खेतीबाट कृषकहरुलाई लाभ लिन सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत बेदनाथ पन्थिले बाँझो जमिनलाई उपयोगमा ल्याउन टिम्मुर खेती उपयुक्त भएको बताउनुभयो । सो कार्यक्रमको म्याग्दी उद्योग वाणिज्य संघका कार्यालय प्रमुख दिलीप पुनले सञ्चालन गर्नुभएको थियो । अचार र दालमा मसलाको रुपमा प्रयोग हुने मुखमा राख्दा रमरम गर्ने स्वाद पाइने टिम्मुर सुगन्धीत तेल र औषधी बनाउन समेत प्रयोग हुन्छ । जोमसोम, पोखरा, चितवन, काठमाडौको तारे होटलका साथै अस्टे«लीया, अमेरीका र जर्मनीमा टिम्मुर निकासी हुने गरेको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l