किन घटे ढोरपाटनमा नाउर ?

  • १९ श्रावण २०७९, बिहीबार
  • 771 पटक पढिएको

बागलुङ, १९ साउन । हरेक पाँचपाँच वर्षमा ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको गणना हुन्छ । गणनाको नतिजालाई हेरेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारको कोटा तोक्ने गर्छ । पछिल्ला याममा भने सिकार कोटा घट्दो छ । वन्यजन्तुको सङ्ख्या घटेपछि विभागले सिकारलाई पनि थप नियन्त्रित गरेको हो । गत वर्षको हिउँदमा गरिएको गणनामा नाउरको सङ्ख्या ह्वात्तै घटेर एक हजार दुई सय ९० मा झरेको पाइएको थियो । जबकि विसं २०७२ को गणनामा दुई हजार दुईसय दुई नाउर आरक्षमा भेटिएका थिए ।

सोही अवधिमा झारल भने तीन सय ८८ बाट बढेर सात सय ४४ पुगेका थिए । यसरी नाउर मात्र किन घटे त रु आरक्ष कार्यालयका सहायक संरक्षण अधिकृत सूर्य खड्काले नाउरको सङ्ख्या घट्नुमा अनेकन कारण रहेको बताउनुभयो । “हिमपहिरो, डढेलो र रोगव्याधि चल्दा नाउर मर्छन्, चोरीसिकार पनि हुन्छ”, उहाँले भन्नुभयो, “गणनाको याम, विधि जस्ता कुराले पनि सङ्ख्या तलमाथि पर्न सक्छ ।” नाउरको बसाइँसराइले पनि सही तथ्याङ्क पाउन गाह्रो हुने अधिकृत खड्काले उल्लेख गर्नुभयो ।

“ढोरपाटनबाट नाउरको बथानै डोल्पातिर जाने, उताको यता आउने पनि हुन्छ, आहारा नपाए चहार्दै अन्त जाने स्वभाव उनीहरुमा हुन्छ”, उहाँले भन्नुभयो । उहाँले पाँच वर्षमा झण्डै एक हजार नाउर घट्नु स्वभाविक नदेखिएकाले त्यसबारे थप अध्ययनको खाँचो औँल्याउनुभयो । हरेकजसो गणनामा सहभागी हुँदै आउनुभएका सिकार कम्पनी ट्र्याक एण्ड ट्रेल्र्सका प्रतिनिधि दीपक थापाले कठिन भूगोलका कारण नाउर र झारलको गणना चुनौतीपूर्ण हुने गरेको बताउनुभयो । “मौसमको प्रतिकूलता हुँदा नाउरको बासस्थान भेटाउनै सकिन्न, भारी हिमपातले त्यो ठाउँमा जानै नसक्ने अवस्था पनि आउँछ”, उहाँले भन्नुभयो ।

अनुमति प्राप्त सिकारीसमेत रहनुभएका थापाले ढोरपाटन उपत्यकाबाट चार दिनसम्म हिँडेर नाउर गणनाका लागि सुनदह ब्लकसम्म पुगेको सुनाउनुभयो । सुनदह पश्चिम रुकुमको चुरुने हिमाल आसपास पर्छ । आरक्षका कर्मचारी, प्राविधिक, सिकार कम्पनीका प्रतिनिधि, स्थानीय पथप्रदर्शक र भरियासमेतको टोली गणनामा खटिने गरेको उहाँको भनाइ छ । “बाइनाकुलरलगायतका उपकरणको सहायतामा गणना गरिन्छ, सिकार ब्लकसम्म पुग्ने दुरी र क्षेत्रफलअनुसार एउटै ब्लकमा चार÷पाँच दिनसम्म पनि लाग्छ”, थापाले भन्नुभयो, “प्रत्येक ब्लकमा नाउर र झारलको छुट्टाछुट्टै गणना हुन्छ ।”

गणनाको याम, हावापानीको स्थिति, वन्यजन्तुको आनीबानी, गणकको दक्षता र प्राविधिक तथा व्यवस्थापकीय पक्षले पनि गणनालाई प्रभाव पार्ने उहाँको भनाइ छ । असोज–कात्तिकमा गणना गर्दा धेरै सहज हुने गरेको थापाको अनुभव छ । नाउरको सङ्ख्या घटेका कारण सिकारको कोटा पनि कम हुँदै गएको उहाँले बताउनुभयो । पहिलेपहिले वार्षिक २६ वटासम्म नाउरको सिकार कोटा निर्धारण गर्ने गरिएकामा अहिले २० मा झरेको छ । अधिकृत खड्काले नाउर, झारललगायत हिमाली तथा उच्च पहाडी भेगमा पाइने वन्यजन्तुको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

“धेरै ठाउँमा पाइने भएकाले पनि होला नाउर, झारल जस्ता वन्यजन्तु खासै प्राथमिकता परेको देखिन्न, यिनीहरुको अवस्था, बासस्थान आदिबारे पनि खोज, अध्ययन हुनुपर्छ, संरक्षणको योजना ल्याउनुपर्छ”, उहाँले भन्नुभयो । गणनाका क्रममा आरक्षको सुर्तिबाङ ब्लकमा अधिकांश झारल दुब्लोपातलो अवस्थामा भेटिएको उहाँले सुनाउनुभयो । हिमाली भेडा प्रजातिमा पर्ने नाउर र बाख्रा प्रजातिको झारलको आहारा भनेकै घाँस र बुट्यान हो । जाडोयाम र हिमपात हुँदा हिमाली भेगका वन्यजन्तुलाई आहारा पुग्दैन । त्यस्तो बेला दुब्लाउँदै जाने र रोगी हुने सम्भावना बढी हुन्छ ।