गलेश्वर –राखु सडक कालोपत्रेका लागि डिपिआर तयार गरिँदै

  • २० असार २०७४, मंगलवार
  • कमल खत्री
  • 6863 पटक पढिएको

म्याग्दी, २० असार । म्याग्दीको बेनी नगरपालिकाको गलेश्वरहुँदै राखु जोड्ने सडक खण्डमा कालोपत्रे गर्नका लागि डिपिआर तयार गर्न लागिएको छ । कालोपत्रे आयोजनाको लागि बिस्तृत आयोजना प्रतिबेदन तयार गर्ने कार्य अन्र्तगत मंगलवार प्रारम्भिक सर्बेक्षण तथा फिल्ड भिजिट गरिएको छ । डिपिआरको मरामर्श दाता कम्पनी सिईआरसि, जिईओसिओ एण्ड पार्थले ईन्जिनियरहरु खटाएर डिपिआरको प्रारम्भिक सर्वेक्षण गरेको रघुगंगा गाउँपालिका–२ का माओवादी केन्द्रका नेता हरि भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार, तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई यस सडक खण्डको कालोपत्रेका लागि मागपत्र पेश गरिएपछि यातायात मन्त्रालय मार्फत विस्तृत सर्वेक्षणको लागि योजना स्विकृत भएको थियो । मंगलवार डिपिआर तयार गर्ने कन्सल्टटेन्सिका ईन्जिनियर सुनिल श्रेष्ठ, सुरज श्रेष्ठ, वडा अध्यक्ष रिम कटुवाल, युवा नेता हरि भण्डारी सहितको टोलिले गलेश्वरदेखि बेगसम्मको १४ किलोमिटर र पिप्लेदेखि मौवाफाँट हुँदै दग्नाम सम्मको १४ किलोमिटर सडकको फिल्ड भिजिट गरेको हो ।

 

सो क्रममा डिपिआरको लागि आबश्यक प्रारम्भीक सर्वे गरिएको र अबको केही हस्ताभित्रै पुनः बिस्तृत सर्वे गरि आयोजनाको लागत स्टिमेट सहितको डिपिआर तयार गरिने सो टोलिमा सहभागि ईन्जिनियर सुनिल श्रेष्ठले बताउनुभयो । सदरमुकाम बेनी देखि नजीकको दुरीमा रहेपनि अहिलेसम्म जिर्ण अबस्थामा रहेको बेनी–राखु सडकको स्तरोन्ती गर्ने कार्य भईरहेको अबस्थामा कालोपत्रेका लागि डिपिआर तयार गर्ने कार्यले त्यस क्षेत्रका बासिन्दालाई आसाबादी बनाएको रघुगंगा–२ का वडा अध्यक्ष कटुवालले बताउनुभयो ।

उहाँले विस्तृत सर्वेक्षण पश्चात यस सडकमा कालोपत्रेका लागि बजेट माग गर्ने बाटो खुल्ने भएकाले बजेट विनियोजनको लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

सदरमुकामदेखि तीन किलोमिटर अगाडि गलेश्वरदेखि विस २०६४ मा विस्तार गरी पिप्ले हुँदै भगवतीसम्म पु¥याइएको यो सडक हाल भगवती देखि बेग, चिमखोला हुँदै कुईनेमंगलेसम्म ट्याक विस्तार भएको छ भने पिप्लेदेखि मौवाफाँट हुँदै दग्नामसम्म ट्याक विस्तार भइसकेको छ ।

सडकको ट्याक निर्माण भएको लामो समयभईसक्दा समेत गलेश्वर–राखु सडकमा अहिलेपनि बाह्रैमहिना सवारी सञ्चालनमा आउन सक्ने अबस्था रहेको छैन् ।

अहिले तत्कालिन प्रधानमन्त्री प्रचण्ड सरकारको पालामा अर्थमन्त्रालय मार्फत रकमान्तर गरि विनियोजन गरेको १ करोड र म्याग्दीका साँसदहरुद्धारा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत विनियोजन गरेको रु ४० लाख बजेटमध्ये २० लाख सोही खण्डमा परिचालन भईरहेपनि सो बजेटको प्रभाबकारी उपयोग हुन सकिरहेको छैन् ।

सो बजेटबाट पिप्ले खण्डमा ग्याविन, सोलिङ नाली निर्माणका कार्य गर्नुपर्ने भएपनि सडक चौडा बनाउने बाहेक अन्य कार्य हुन नसकेको र सो बजेटको केही रकम फ्रिज भएर जाने देखिएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ ।

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l