कृषी उपज ढुवानी गर्न सवारी साधन खरिद

  • २० असार २०७४, मंगलवार
  • सन्तोष गौतम
  • 2365 पटक पढिएको

म्याग्दी २० असार । कृषी उपज ढुवानी गर्न म्याग्दीका कृषकहरुले सवारी साधन खरिद गरेका छन् ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत बेनी नगरपालीकामा गठित म्याग्दीकाली तरकारी बल्क सञ्चालक समितिले जिप खरिद गरेर ढुवानी सेवा सुरु गरेका हुन् । जिल्ला कृषि विकास कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले सञ्चालक समितिलाई जिपको साँचो हस्तान्तरण गर्नुभएको थियो ।

परियोजनाको १५ लाख रुपैया अनुदान र बल्क सञ्चालक समितिको ८ लाख ७० हजार रुपैया लगानीमा जिप खरिद गरिएको अध्यक्ष मुक्ति खड्काले जानकारी दिनुभयो । ढुवानीको अभावमा कृषकले उत्पादन गरेका तरकारी, फलफुल र खाद्यबाली लगायत कृषी उपजले बजार र उचित मूल्य पाउन नसक्ने समस्या न्युनीकरणका लागि सवारी साधन खरिद गरिएको खड्काले बताउनुभयो ।

जिल्लाभरका कृषकलाई आलोपालो गरेर कृषि उपज र मलविउ ढुवानीका लागि सेवा दिइने उहाँले बताउनुभयो । गाउँ गाउँमा सडक पुगेपनी ढुवानीको साधनमा पहुँच नहुँदा कृषकले उत्पादन गरेका बस्तु बजार र उचित मूल्य नपाउने समस्या थियो । सदरमुकाम वरपरका कृषकहरुले डोका र पिठ्युमा तरकारी फलफूल बिक्री गर्न बजार पुग्ने गरेका छन् ।

परियोजना अन्तरगत यस वर्षदेखि बेनी नगरपालीकाको दश हेक्टर क्षेत्रफललाई समेटेर तरकारी बल्क आयोजना सञ्चालन भएको छ । परियोजनाले सिंगाको शुभकामना कृषी सहकारी संस्थामा तालीम केन्द्र, कृषि औजार केन्द्र स्थापना गर्न आवश्यक सामाग्री खरिद र पूर्वाधार निर्माणमा सहयोग गरेको छ । बेनी नगरपालीका २ खबरामा म्याग्दी नदी किनारबाट लिफ्ट प्रबिधीबाट सिचाई आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

परियोजनाले आधुनीक प्रबिधिको खेती गरेर उत्पादन वृद्धी गर्ने कृषकलाई प्रोत्साहन समेत उपलब्ध गराउने बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । म्याग्दीको बेनी नगरपालीकामा तरकारी, मंगला गाउँपालीकाको अर्मन, बरंजा र बेनी नगरपालीकाको भकिम्लीमा मकै बल्क आयोजना सञ्चालन भएको कार्यक्रम संयोजक हरिहर शर्माले बताउनुभयो ।

 

सन्तोष गौतम