माओवादी बैठकमा रिपोर्टिङ : गठबन्धनमा कांग्रेस इमान्दार भएन

  • १९ असार २०७९, आईतवार
  • 609 पटक पढिएको

काठमाडौं, १९ असार। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसबाट सहयोग नभएको ‘रिपोर्टिङ’ भएको छ । आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बैठकमा रिपोर्टिङका क्रममा प्रदेश अध्यक्षहरुले चुनावमा कांग्रेस इमान्दार नभएको सुनाएका छन् ।

बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले गठबन्धनमा आफूहरुले इमानदारीपूर्वक मत हालेको तर कांग्रेसमा त्यो इमानदारिता नदेखिएको बताए । ‘कांग्रेसले हामीलाई मत हालेकै देखिएन’, उनी भन्छन्, ‘जहाँ कांग्रेस कमजोर छ र हामी पनि कमजोर छौं, त्यस्तो ठाउँमा थोरै भोट आएको छ । अरु ठाउँमा हामीलाई साइजमा ल्याउन खोजिएको छ ।’

गण्डकी प्रदेशकी अध्यक्ष गायत्री गुरुङले गठबन्धनबाट उम्मेदवार बन्दा पनि माओवादी उम्मेदवारले नजित्नुको कारण कांग्रेसले मत नहाल्नु भएको रिपोर्टिङ गरिन् । ‘गठबन्धनबाट उम्मेदवार हुँदा नि हाम्रो उम्मेदवारले नजित्नुको कारण कांग्रेसले मत नहाल्नु हो,’ गुरुङले भनिन् ।

लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा माओवादी केन्द्र दोस्रो भए पनि उप्रमुखसमेत नपाउँदा पार्टीमा पलायन बढेको सुनाए । ‘नेपालगञ्‍जमा हामी दोस्रो हो’, उनले भने, ‘तर उपमेयर पनि नपाउँदा हाम्रो पार्टीबाट अन्त गएर उम्मेदवार बन्ने अवस्था रह्यो। यसले पार्टीबाट पलायन बढ्यो ।’

कर्णाली प्रदेशकी अध्यक्ष बिमला केसीले गठबन्धनबाट धोका भएको बताएकी थिइन् । उनको भनाइ थियो, ‘गठबन्धनमा धोका भयो। समाजवादीसम्मले हामीलाई भोट हालेन।’

त्यस्तै उपत्यका विशेष प्रदेशका अध्यक्ष जगत सिंखडाले पनि गठबन्धनबाट कांग्रेसले धेरै फाइदा लिएको तर ऊ आफैं अरुप्रति इमान्दार नरहेको सुनाएका थिए । ‘कांग्रेसका मतदाता इमान्दार छैनन्,’ उनको भनाइ थियो, ‘हामीलाई हराउन कांग्रेस सबैसँग मिल्यो। अब कांग्रेससँगको गठबन्धनबारे गम्भीर रूपमा सोच्नुपर्छ ।’ एक्लै चुनावी तयारीमा जुट्नुपर्ने जोड सिंखडाको थियो ।

अन्तर्घात बढेको निष्कर्ष

माओवादी प्रदेश अध्यक्षहरुले स्थानीय चुनावमा पार्टीभित्रैबाट अन्तर्घात देखिएको र त्यसकै कारण धेरै ठाउँमा पराजित हुनुपरेको रिपोर्टिङ गर्दै चिन्ता व्यक्त गरेका थिए।

माओवादीले ‘लज्जास्पद’ पराजय व्यहोरेको मधेश प्रदेशका इन्चार्ज गणेश साहले अन्तर्घात व्यापक भएको बताउँदै छानबिनका लागि उच्चस्तरीय समिति बनाउन माग गरेका थिए ।

‘पार्टीको आन्तरिक असहयोग र गुटबन्दीले चुनावको नतिजा राम्रो आउन सकेन । गठबन्धन पनि प्रभावकारी हुन सकेन’, साहले भने, ‘थियो, ‘हिजोबाट सिकेर आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे लागौं । अन्तर्घातबारे छानबिन समिति गठन होस् । समितिको सिफारिसअनुसार कारबाही पनि होस् ।’

कर्णाली प्रदेशकी अध्यक्ष केसीले आफूहरुले ३० देखि ३५ पालिका प्रमुख जित्ने अवस्था भए पनि ८ पालिका भने अन्तर्घातकै कारण गुमाउनु परेको सुनाएकी थिइन्। ‘प्रदेशभर ३०–३५ पालिका जित्ने हाम्रो आकलन थियो,’ उनको भनाइ थियो, ‘हामी आफ्नै कारणले ८ पालिका प्रमुख गुमायौं ।’

प्रचण्डको पनि स्वीकारोक्ति

केन्द्रीय समिति बैठकमा प्रदेश अध्यक्षहरुले रिपोर्टिङ गरै जस्तै कांग्रेसबाट सहयोग नभएको र पार्टीभित्र अन्तर्घात बढेको स्वीकारेका छन् । नेपाली कांग्रेसको पुरै पंक्ति गठबन्धनप्रति इमान्दार नदेखिएको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘खास गरी नेपाली कांग्रेसको पुरै पंक्ति गठबन्धनप्रति इमान्दार र गम्भीर पाइएन’, प्रचण्डको प्रतिवेदनमा उल्लेख छ, ‘जसको परिणाम रोल्पा, रुकुम, सल्यान, कालिकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोकलगायतका जिल्ला र ती बाहेकका पनि हाम्रो पार्टीको बलियो उपस्थिति रहेका कयौं स्थानीय तहमा हामीविरुद्ध एमाले र अन्य दलहरुसँग गठबन्धन गरी हामीलाई पराजित गर्ने वा कमजोर पार्ने घटनाहरु व्यापक रुपमा देखिए ।’

उनले प्रतिवेदनमा भनेका छन्, ‘नेपाली कांग्रेसले आफू बलियो भएको स्थानमा अन्य दलहरुको गठबन्धन बन्न नदिने, हामी र गठबन्धनका दलहरु बलियो भएको ठाउँमा एमाले वा अन्य दलसँग तालमेल गर्ने, आफू कमजोर भएको ठाउँमा पाँच दलीय गठबन्धन कायम गर्ने, कतिपय स्थानमा काँग्रेसका नेताहरुबाटै बागी उम्मेदवार खडा गर्ने जस्ता अघोषित नीति अपनाएको देखिन्छ ।’

कांग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिने नीति अख्तियार गर्दा अत्याधिक मत बदर भएको आरोपसमेत प्रचण्डको छ । ‘कांग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिने वा आफ्ना उम्मेदवारलाई सुरक्षित गर्ने नीति अख्तियार गरी मतदाता शिक्षा दिँदा अत्याधिक मत बदर भएको पाइयो,’ प्रतिवेदनमा भनिएको छ ।

पार्टीभित्र अन्तर्घात बढेको स्वीकार गर्दै प्रचण्डले त्यसको छानबिन गरी कारबाही गर्नु आवश्यक रहेको समेत प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘कतिपय स्थानमा पार्टीभित्रको गुटबन्दी, असहयोग एवं अन्तर्घातसम्मका गम्भीर कमजोरी र घटनाहरु देखा परे,‘ प्रतिवेदनमा भनिएको छ, ‘त्यसका प्रकारका गटबन्दी, असहयोग र अन्तर्घात जस्ता पार्टी विरोधी गतिविधिहरुको गम्भीर छानबिन गरी आवश्यक कारबाही गर्नु पर्दछ।’