म्याग्दीमा २८ हजार बढी बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाईने

  • २४ चैत्र २०७८, बिहीबार
  • 961 पटक पढिएको

बेनी, २४ चैत । नेपालमा पहिलो पटक सञ्चालन हुन लागेको टाइफाइड रोगविरुद्धको खोप अभियानमा म्याग्दीमा २८ हजार बढी बालबालिकालाई खोप लगाइने भएको छ । नियमित खोप सेवामा समावेश गरि देशव्यापीरुपमा सञ्चालन हुन लागेको उक्त अभियानको क्रममा म्याग्दीमा १५ महिनादेखि १५ वर्षमुनिका २८ हजार ७१८ जना बालबालिकाहरुलाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय, म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।


खोप अभियानबारे विहिवार आयोजित पत्रकारहरुसंगको अभिमुखीकरण कार्यक्रममा विद्यालय स्तरसम्मै खोपकेन्द्र सञ्चालन गरेर लक्षित उमेरका विद्यालयभित्र र बाहिर रहेका समेत बालबालिकाहरुलाई खोप लगाउनका लागि अभियान सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । म्याग्दीमा चैत २५ देखि वैशाख २ गतेसम्ममा खोप लगाइसक्ने गरि अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ । खोप अभियानका लागि २३० खोप केन्द्र सञ्चालन हुनेछन् । स्थानीय तहहरुसंग समन्वय खोपको तालिका नै सार्वजनिक गरि खोप लगाउन लागिएको छ ।


१२५ जना लक्षित समुदायको बालबालिका रहेको विद्यालयमै खोप केन्द्र सञ्चालन गरिने र कम भएका बालबालिकाहरुलाई नजिकको पायक पर्ने केन्द्रमा ल्याएर खोप लगाईने स्वास्थ्य कार्यालयले जनाएको छ । खोप अभियानका लागि २३० जना स्वास्थ्यकर्मी, ४६० जना स्वयंसेवक र ५७ जना सुपरिवेक्षक समेत परिचालन गरिने कार्यालय प्रमुख लम्सालले बताउनुभयो । उहाँका अनुसार, हरेक खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मी, एक जना महिला स्वास्थ्य स्वयंसेवीका र एक जना महिला शिक्षक परिचालन हुनेछन् । खोप अभियानमा परिचालन हुने स्वास्थ्यकर्मी, स्वयंसेविका र शिक्षकलाई आबश्यक तालिम तथा अभिमूखिकरण गरिसकिएको छ । खोप अभियानलाई प्रभाबकारी बनाउन विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम समेत सञ्चालन भएको छ ।
उक्त खोपको अभियानलगत्तै १५ महिनाका हरेक बालबालिकाले नियमित खोप कार्यक्रममार्फत एक मात्रा खोप लगाउन पाउनेछन् । यसअघि बालबालिकाले जन्मेदेखि १५ महिना पुगुन्जेल १२ प्रकारका खोप लगाउँँदै आएकामा १३ औँ टाइफाइड विरुद्धको खोप थप गरिने भएको हो । दादुरा/रुबेलाको दोस्रो मात्रासँगै बालबालिकाले उक्त खोप लगाउन पाउने जनाइएको छ ।
अरू खोपमा झैँ टाइफाइडको खोप लगाउँदा सामान्य असर देखा परे पनि आफैँ ठीक भएर जाने स्वास्थ्यकर्मीको भनाइ छ । टाइफाइडमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, जिब्रोमा सेतो लेत लाग्नेलगायत लक्षण देखिने गरेको छ । रोगको सङ्क्रमण शरीरमा फैलँदै गएमा सानो आन्द्रामा घाउ हुने, प्वाल पर्ने र मस्तिष्कसम्बन्धी जटिल समस्या समेत देखिने जनाइएको छ । दक्षिण पुर्वि एसियाली मुलुकहरुमध्ये नेपालमा पहिलो पटक टाइफाइड विरुद्धको खोप लगाउन सुरु भएको जनाइएको छ । उक्त अवसरमा विश्व स्वास्थ्य दिवसका अवसरमा समेत प्रस्तुतिकरण राखिएको थियो ।