म्याग्दीका उद्यमीलाई औजार वितरण

  • १२ असार २०७४, सोमबार
  • सन्तोष गौतम
  • 2658 पटक पढिएको

बेनी १२ असार । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय म्याग्दीले उद्यमीहरुलाई अनुदानमा औजार वितरण गरेको छ । १० जना सिलाई व्यवसायीलाई विभिन्न औजार उपकरण उपलब्ध गराएको कार्यालयले थप १३ जना उद्यमीहरुलाई सामान वितरण गरिने जनाएको छ । एक जनालाई बढीमा ९३ हजार ५०० रुपैया मूल्य पर्ने औजार असी प्रतिशत अनुदानमा वितरण गरिने समितिले जनाएको छ ।

समितिले आव्हान गरेको सार्वजनीक सूचना मार्फत ३५ जनाले औजारको प्रस्ताव गरेकोमा २३ जना छनौट भएका थिए । पहिलो चरणमा सोमबार दश जना सिलाई कटाई व्यवसायीहरुलाई प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, जिल्ला समन्वय समितिका सूचना अधिकृत पदम भण्डारी लगायतको उपस्थितीमा औजार हस्तान्तरण गरिएको हो ।

१० थान विद्युतीय हेभी सिलाई मेसीन, ६ थान बोईलर आईरन, १ थान ओभरलक र ४ थान स्टीम आईरन उपलब्ध गराइएको समितिले जनाएको छ । थप २ जनालाई पिसानी मेसीन, १ जनालाई पाउरोटी काट्ने बेलेड स्लाईसर, १ जनालाई पाउरोटी फुलाउने, प्रोफर मेसीन, २ जनालाई फर्नीचर, १ जनालाई फलफुल प्रसोधन र १ जनालाई जुत्ता सिउने मेसीन उपलब्ध गराउने कार्यक्रममा जानकारी गराइएको थियो ।

घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख मिरादेवी अधिकारीको अध्यक्षता र लेखापाल निलबहादुर भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा सिलाई व्यवसायी प्रेम नेपालीले आधुनीक औजारले काम गर्न सजिलो, छिटो हुने र उत्पादन लागत कम पर्न जाने बताउनुभयो । अनुदानको बिस प्रतिशत उद्यमी आफैले ब्यहोर्नुपर्ने व्यवस्था रहेको छ ।

 

सन्तोष गौतम