भुरुङ तातोपानीमा बजार अनुगमन

  • ११ असार २०७४, आईतवार
  • 3113 पटक पढिएको

म्याग्दी, ११ असार । अन्नपूर्ण गाउँपालीका २ को पर्यटकीय स्थल भुरुङ तातोपानीमा शनिबार संयुक्त बजार अनुगमन गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यको नेतृत्वमा भुरुङ तातोपानी बजारमा सञ्चालित किराना, होटल तथा रेष्टुरेन्टको अनुगमन गरीएको हो । बिक्रीका लागि राखिएका बस्तुको म्याद, ब्यवसाय दर्ता, नविकरण, मदिरा कारोबारका लागि ईजाजत लिए, नलिएको र सुर्तीजन्य पदार्थको कारोबार सम्बन्धि नियम कार्यान्वयन गरे नगरेको विषयमा अनुगमन गरिएको थियो ।

टोलीमा कोष तथा लेखा नियन्त्रक छविन्द्र बेल्वासे, प्रहरी निरिक्षक दिवाकर घिमीरे, स्वास्थ्य कार्यालयका भिम आचार्य लगायतको सहभागीता रहेको थियो । व्यवसाय दर्ता, नियमित नविकरण, मदिरा जन्य बस्तुको बिक्रीका लागि अनुमती लिएको, म्याद नाघेका खाद्यान्न तथा पेय पदार्थ पसलबाट हटाएको पाइएको सहायक प्रजिअ आचार्यले बताउनुभयो ।

उहाँले केही ठाउँमा बिक्रीका लागि राखिएका सुर्तीजन्य पदार्थ र घरेलु मदिरा जफत गरी नष्ट गरिएको जानकारी दिनुभयो ।