टोल सुधार समितिद्धारा निशुल्क शुद्ध खानेपानीको व्यवस्था

  • ३ असार २०७४, शनिबार
  • 2111 पटक पढिएको

बेनी ३ असार । बेनी नगरपालीका ७ को बिरेन्द्रचोक टोल सुधार समितिले सार्वजनीक स्थलमा निशूल्क शुद्ध खानेपानी सुबिधाको व्यवस्था मिलाएको छ ।टोल सुधार समितिको सक्रियतामा जिल्ला प्रशासन कार्यालय अगाडीको पिपल चौतारी परिसरमा निर्माण गरिएको सार्वजनीक खानेपानी धाराको शनिबार प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र बेनी नगरपालीकाका मेयर हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो ।


बटुवाहरुको सुबिधाका लागि टोल सुधार समितिले स्थानीय बासिन्दा र संघ संस्थाबाट चन्दा संकलन गरेर एक लाख ९५ हजार ४३ रुपैयाको लागतमा युरो गार्ड जडान भएको टंकी र धारा मार्फत खानेपानी उपभोग गर्ने व्यवस्था मिलाएको हो । उद्घाटन कार्यक्रममा प्रजिअ पौडेल, मेयर श्रेष्ठ, उपमेयर सञ्जु बरुवाल र वडा न. ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बिरेन्द्रचोक टोल सुधार समितिले सर्वसाधारणको खानेपानी सुबिधा र टोलको सरसफाईका लागि गरेको प्रयासको प्रशंसा गर्नुभयो ।

समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठको अध्यक्षता, सचिव लालबहादुर थापाको सञ्चालन र सदस्य कुलप्रसाद श्रेष्ठको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष पुष्पा पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बिरेन्द्रचोक टोल सुधार समितिले प्रत्येक शनिबार सार्वजनीक स्थलको सरसफाईका साथै विभिन्न सामाजिक गतिबिधिमा सक्रिय हुदै आएका छन् ।