धौलागिरि हिमालमा पर्यटक : ‘पदमार्ग सुनसान, आधार शिविरमा चहलपहल’

  • ८ आश्विन २०७८, शुक्रबार
  • 921 पटक पढिएको

कमल खत्री
बेनी, ८ असोज  । म्याग्दी हुँदै धौलागिरि प्रथम हिमालको आधार शिविर जाने पदमार्ग ओझेलमा परेको छ । धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालको आरोहण र आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकहरु हेलिकोप्टर मार्फत जान थालेपछि धौलागिरि पदमार्ग सुनसान बनेको छ । सरकारले भदौ दोस्रो सातादेखि हिमाल आरोहण खुलाएसंगै धौलागिरि हिमालमा आरोहण र भ्रमणका लागि पर्यटकहरुको आगमन सुरु भैसकेको छ ।

धौलागिरिमा आरोही लगेर गएको हेलिकप्टर । तस्बिर सौजयन्य सेभेन समिट ट्रेक

हिमाल आरोहणका लागि आएका अधिकाँश आरोही, पर्यटक, पथपर्दशक, भरिया र आरोहण दलका सहयोगीहरु समेत हेलिकोप्टर मार्फत नै आधार शिविर पुगेको पदमार्ग अन्तर्गत पर्ने धवलागिरि गाउँपालिका–४ बगरका सुकबहादुर सुनारले जानकारी दिनुभयो । ‘‘ यो सिजनमा ६ जना शेर्पाहरु मात्रै पदमार्ग हुँदै आधार शिविर गएका छन्, करिब असि जनाको हाराहारीमा आधार शिविरमा मानिस पुगेका छन्, अधिकाँश हेलिकोप्टर मार्फत नै पुगेका छन्, केहि थोरै संख्यामा मुस्ताङको मार्फा हुँदै आधारशिविर पुगेको पाइएको छ’’– उहाँले भन्नुभयो ।

धौलागिरिमा आरोही टोली । तस्बिर सौजयन्य सेभेन समिट ट्रेक

अघिल्ला बर्षहरुमा एक सिजनमा दुई पटक सम्म खच्चडबाट सामान ढुवानी गरि आधार शिविर पु¥याएपनि यस पटक भने पदमार्ग हुँदै पर्यटकहरु आगमन हुन नसकेको उहाँको भनाई छ । पछिल्ला बर्षहरुमा धौलागिरि जाने पर्यटकहरुले हेलिकोप्टरको प्रयोग अत्यधिक गर्न थालेका छन् । काठमाण्डौबाट सवारी हुँदै म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकम पुग्ने र त्यहाँबाट हेलिकोप्टर मार्फत आधार शिविर पुग्नेक्रम बढेको छ । आधार शिविरमा पर्यटकहरुको चहलपहल भएपनि पदमार्ग सुनसान बन्दा स्थानीय होटल व्यवसायि, पर्यटकका सामान बोक्ने खच्चड व्यावसय धरापमा पर्दै गएको छ ।


आधार शिविरमा पर्यटकहरुको बाख्लो चहलपहल हुँदा समेत पदमार्ग अन्तर्गत रहेका दोभान र इटाली क्याम्पका होटल नियमित र पुर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन् । खासगरि पदमार्गको यात्रा लामा भएको र जोखिमपूर्ण र सञ्चार पहुँचको अभाबले पछिल्लो समय पर्यटकहरु महंगो शुल्क तिरेरै भएपनि हेलिकोप्टर मार्फत यात्रा गर्नतर्फ आकर्षित भएको पाईएको छ । तर धौलागिरि पदमार्गमा गाउँपालिका, प्रदेश र संघीय सरकारले समेत पदमार्ग निर्माण गर्दै आएका छन भने सञ्चारको पहुँच समेत बढाउँदै लगिएको छ । पदमार्गको बगर क्षेत्रसम्म नेपाल टेलिकमको सञ्चार पहुँच विस्तार भएको छ । अक्कर पहाड, जंगल, खोलानाला हुँदै पदयात्रा गर्नुपर्ने भएकाले धौलागिरि पदमार्गको यात्रा साहसिक मानिन्छ ।

भदौ अन्तिम सातादेखि आधार शिविरमा हिमाल आरोहणका लागि ओरोहीहरु पुग्नेक्रम बढेको छ । यो सिजनमा आरोहणका लागि आरोही, पथपर्दशक, भरिया र आरोहण दलका सहयोगीहरु गरि करिब ८० जना आधार शिविरमा पुगेका छन् । सेभेन समिट ट्रेक्सबाट मात्रै आरोहणका लागि ४६ जनाको टोली आधार शिविरमा पुगेको छ । पाइनर एडभेन्चर र हिमालयन गाईड मार्फत समेत आरोहणका लागि पर्वतारोहीहरु आधार शिविरमा पुगिसेका छन् । सबैभन्दा धेरै आरोहीहरुको आरोहण गराउन लागेको सेभेन समिट ट्रेक्सका प्रवन्धक थानेश्वर गुरागाईका अनुसार,यो सिजनको आरोहणको लागि अधिकाँश आरोही आधार शिविरमा पुगिसेकेका छन् ।

भारी बर्षा र ७२ घण्टे पिसीआर रिपोर्टको मापदण्डको कारण अधिकाँश आरोहीहरु म्याग्दीबाट हेलिकप्टर मार्फत नै आधार शिविर पुगेको गुरागाईले जानकारी दिनुभयो । अधिकाँश आरोही सवारी साधन हुँदै म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकम र मंगला गाउँपालिकाको बावियाचौर पुगेर त्यहाँबाट हेलिकप्टर मार्फत आधार शिविर पुगेका हुन् । सेभेन समिटको व्यवस्थापनमा यो सिजनमा २६ विदेशी सहित २१ जना नेपाली पर्वतारोहीले धौलागिरिको आरोहण गर्दै छन् ।

यो टोलीका आरोहीहरुमध्ये जम्मा केही जना पर्यटकहरु मात्रै ताकम–मुदी हुदै आधार शिविर पुग्ने पदमार्गबाट पदयात्रा गरेर गएका छन् । केहि पर्वतारोहीहरु मुस्ताङको मार्फा हुँदै पदयात्रा गरेर समेत आधार शिविर पुग्ने गरेका छन् । नेपाली महिलाहरुको तर्फबाट धौलागिरिको पहिलो आरोहणको तयारीमा रहेनुभएकी पत्रकार पूर्णिमा श्रेष्ठले अधिकाँश टोली आधार शिविर पुगिसकेकाले आफु मार्फा हुदैको पदमार्ग भएर आधार शिविरतर्फ प्रस्थान गरेको जानकारी दिनुभयो ।
‘‘गत वैशाखमा नै धौलागिरिमा नेपाली महिलाहरुको तर्फबाट पहिलो पटक धौलागिरिको सफल आरोहण गर्ने कोसीस गरेका थियौँ, त्यस समयमा आधार शिविरमा कोरोना संक्रमण फैलिएपछि आरोहण स्थगीत गरेर फर्कनुपरेको थियो, यस पटक तीन जना महिलाहरुले पुनः आरोहणको लागि आधारशिविरतर्फ लागेका छौँ’’–उहाँले भन्नुभयो । म्याग्दी हुँदैको पदमार्गको ठाउँ ठाउँमा पहिरोले बाटो जोखिमपूर्ण रहेको जानकारी पाएपछि वैकल्पिक पदमार्गबाट आधारशिविर पुग्न लागेको उहाँको भनाई छ ।
                                                दुई नयाँ किर्तिमानको आरोहण प्रयास
धौलागिरिमा यो सिजनमा दुई नयाँ किर्तिमानको आरोहण हुँदै छ । नेपाली महिलाहरुको पहिलो आरोहणको किर्तिमानका लागि पूर्णिमा श्रेष्ठ, पासाङल्यामु शेर्पा र मायाँ शेर्पा यो सिजनमा धौलागिरि आरोहणको तयारीका लागि आधारशिविर प्रस्थान गरिसकेका छन् । उहाँहरुले अघिल्लो सिजनमा अन्नपूर्ण हिमालमा किर्तिमानी आरोहण गर्नुभएको थियो । धौलागिरिमा अहिलेसम्म नेपाली महिलाहरुले आरोहण गर्न सकेका छैनन् ।

यसैबिच सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ शिखर आरोहण गरेर कीर्तिमान राख्ने अभियानमा रहेका स्पेनका ८२ वर्षीय पर्वतारोही कार्लोस सोरियाले समेत किर्तिमान आरोहण गर्दै छन् । आरोही कार्लोस सेभेन समिटको व्यवस्थापनमा धौलागिरि आरोहणका लागि धवलागिरि ‘बेसक्याम्प’ पुगिसकेका छन् । धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका कार्लोसले दुई दशकयता ११ औं पटक आरोहण गर्दा पनि धौलागिरीको शिखरमा पाइला राख्न सफल भएका छैनन् ।

गत वैशाखमा समेत कार्लोसले धौलागिरि आरोहणको प्रयास गरेका थिए । कार्लोसले आफ्नो ६० बर्षदेखि ८२ वर्ष उमेरमा नेपालका सगरमाथा, चोयु, मकालु, मनास्लु, लोत्से, कञ्चनजंगा, अन्नपूर्ण समेत ८ हजार मिटर अग्ला १२ वटा हिमालको अरोहण गरिसकेका छन् । किर्तिमान आरोहणमा जुटेको दुबै टोलीले आगामी अक्टोबर १५ भित्रमा आरोहण सकेर फर्कने गरि कार्यतालिका बनाएको छ ।

#Dhaulagiribasecamp #Himal #Myagdi_Nepal