पर्यटकीय सम्भावना र पुरातात्विक महत्वको ज्यामरुककोट पूर्वाधार विकासको पर्खाइमा

  • २७ जेष्ठ २०७४, शनिबार
  • ध्रुबसागर शर्मा
  • 3182 पटक पढिएको

म्याग्दी, २७ जेठ । पाँच सय ७४ वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका २ मा अवस्थित पर्यटकीय,जैविक र सांस्कृतिक सम्भावनाले युक्त ऐतिहाँसिक र पुरातात्विक स्थल सरकारी उपेक्षा र स्थानीयको उदासिनताका कारण ओझेलमा परेको छ ।सदरमुकाम बेनीबजारदेखि करिव ४ किलोमिटरको दुरीमा रहेको ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्नसक्ने प्रशस्त सम्भावनाहरु रहेका छन् ।  

ज्यामरुककोटको कोटडाँडोबाट धौलागिरि,निलगिरि,अन्नपूर्ण,माछापुच्छ«े लगाएत १५ वटा भन्दा बढि हिमश्रृङखलाहरुको दृश्यावलोकन, धौलागिरि र गण्डकी क्षेत्रका ३० वटा भन्दा बढि गाउँहरु, सुर्योदय, ग्रामिण सौन्दर्य र सदरमुकाम बेनीबजारका साथै म्याग्दी नदी र कालीगण्डकीको नागबेली दृश्य देख्न सकिन्छ । ज्यामरुककोटको इतिहाँस १५ औं शताव्दीको विरासतसंग जोडिएको छ । १५औं शताव्दीको प्रारम्भसंगै थापाहरुले राज्य गर्नथाले पछि अस्तित्वमा आएको ज्यामरुककोटमा रहेको (खड्गभवानी कोत)का दुर्लभ हातहतियार र अभिलेखहरुको यसको ऐतिहाँसिक महत्वलाई स्पष्टसंग बुझाएका छन् ।
ज्यामरुककोटमा विक्रमसम्वत १२४६देखि १५४५ सम्म थापाहरुले राज्य गरेका र १५४५को भदौ महिनामा थापाहरुको पुख्यौली थलो मानिएको ताकम डिम्वमल्लले कव्जागरेपछि ज्यामरुककोट, पुलाचौर, कुहू र राखुका थापाराजाहरुले आफ्नो खाइपाइआएको राज्य छोडेर मल्ल राजाहरुका मन्त्री र सेना वनेका र थापा राज्यको अन्त्यभएको इतिहाँसमा उल्लेख भएको बेनी नगरपालिका २ ज्यामरुककोटका नवनिर्वाचित वडाअध्यक्ष हिरावहादुर थापाले बताउनुभयो ।

स्थानीय निकाय लामो समयसम्म जनप्रतिनिधि विहीन रहेकाले सम्भावनाहरु हुँदाहुँदै पनि विकास हुन नसकेको बताउँदै बेनी नगरपालिका २ ज्यामरुककोटका नवनिर्वाचित वडा अध्यक्ष हिरावहादुर थापाले आफ्नो पहिलो प्राथमिकता यस क्षेत्रका पर्यटकीय पर्यटकीय स्थलहरुको विकास गर्ने रहेको बताउनुभयो ।

‘खवराको लम्वीहिललाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने मेरो पहिलो प्राथमिकता हो,’ थापाले भन्नुभयो ‘त्योसंगै ऐतिहाँसिक,पुरातात्विक र धार्मिक महत्वको खड्गभवानी कोतमा पनि पूर्वाधार विकास गरी पर्यटकीय क्षेत्र बनाउने पहल हुने छ ।’ करिब ५ रोपनी क्षेत्रफलमा रहेको सो स्थानमा थापा र मल्ल राजाहरुको ताम्रपत्रमा अंकित इतिहाँस,तोप , खुडाँ,तरवार लगाएतका हातहतियार, प्राचिन शिला र इट्टा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अहिले अस्तव्यस्त अवस्थामा रहेका छन् ।कोटडाँडोसम्म मोटरबाटोको सुविधा हुने र त्यहाँ एउटा भ्यू टावर निर्माण गरेर त्यस क्षेत्रको पर्यटकीय र प्राकृतिक सौन्दर्यको बारेमा प्रचारप्रसार गर्न सक्ने हो भने अन्नपूर्ण र धौलागिरि क्षेत्रको भ्रमणका लागि बेनी आएका २५ प्रतिशत पर्यटकहरु त्यहाँ पुग्न सक्ने स्थानीय बुद्धिजीवि एवम् खड्गभवानी कोत संरक्षण एवम् गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताउनुभयो ।

‘भकुण्डेसम्म पुगेको मोटरबाटोलाई भकुण्डेदेखि करिव १ कि.मि दुरीमा रहेको कोटडाँडोसम्म पु¥याउने र २÷४ वटा स्तरीय होटल एवम् रेष्टुरेण्ट निर्माण गर्न सक्ने हो भने सयौं विदेशी पर्यटकहरु यहाँबाट हिमाल,नदी,गाउँ र सुर्योदयको अवलोकन गर्न आउँन सक्छन’ घिमिरेले भन्नुभयो । त्यसैगरी ज्यामरुककोट जैविक विविधताले पनि सम्पन्न रहेको छ । ‘आग्र्यानिक खेती, ठूलाखोलाबाट ल्याइएको चीसो पानी, विभिन्न पंक्षी, मह, भटमास, कालोदाल, स्थानीय जातका खसी,कुखुरा र हाँस, चिबे, कालिज र तित्रो, बनढुकुर र बन कुखुरो, तरुल,भ्याकुर र शखरखण्ड यहाँ प्रशस्त मात्रामा पाइन्छन् । जै,कोदोबाट बनाइने विभिन्न परिकारहरुले यहाँको पहिचान झल्काउँछन्’ बेनी नगरपालिका २ ज्यामरुककोटका नवनिर्वाचित वडा अध्यक्ष हिरावहादुर थापाले बताउनुभयो ।

ब्राह्मण,क्षेत्री,ठकुरी,कुवँर,चर्मकार,विक,दर्जी,गुरुङ,मगर लगाएतका जातजातिहरुको बसोबास रहेको यो ठाउँ सांस्कृतिक विविधताले समेत युक्त रहेको छ । ज्यामरुककोटको गौश्वारा गाउँमा अवस्थित राधाकृष्ण मन्दिरमा प्रत्येक वर्ष कृष्णजन्माष्टमी पर्वमा लगाइने मेला यस क्षेत्रको प्रमुख मेला हो । ५ दिनसम्म संचालन हुने यो मेलामा म्याग्दी,बागलुङ,पर्वत,स्याङ्जा,काँस्की लगाएतका जिल्लाहरुबाट खेलाडी र कलाकारहरु आउने गर्दछन् । विभिन्न जातजातिले आफ्नो जातीय पहिचानका झलकहरु देखाउने,नृत्यहरु प्रस्तुत गर्ने र सामाजिक सद्भावलाई कायम गर्ने खालका कार्यक्रमहरु संचालन गर्ने गरको राधाकृष्ण युवा क्लवका सल्लाहाकार कृष्णवहादुर कार्कीले बताउनुभयो ।

ज्यामरुककोटको खड्गभवानी कोतमा रहेका पुराना हातहतियारहरुको उचित संरक्षण हुन नसक्दा खुँडा, खुकुरी , भाला, तरवार , ढाल लगाएतका औजारहरुमा खिया लागेको छ भने कोट परिसर युवायुवतीहरुको क्रिडास्थल र केही टाँठावाठाहरुको व्यक्तिगत सम्पत्तिजस्तै वनेको स्थानीयवासिन्दा यामवहादुर कार्कीले बताउनुभयो । जिल्ला सदरमुकाम बेनीबजारदेखि ४ किलोमिटरको दुरीमा रहेको भएपनि कसैले ध्यान दिन नसक्दा पश्चिम नेपालकै एक ऐतिहाँसिक स्थल गुमनाम रहेको अर्जन मावि भकुण्डेका प्रधानअध्यापक शिवकुमार खत्रीले बताउनुभयो ।

पर्यटकीय महत्वले समेत उपयुक्त मानिएको खड्ग भवानी मन्दिर परिसरमा केही भौतिक पुर्वाधारहरुको निर्माण गर्नेहो भने वर्षेनी सयौं पर्यटकहरु त्यहाँ पुग्न सक्ने सम्भावना रहँदारहँदै पनि स्थानीय र सरोकारवाला निकायले कुनै पहल गर्न नसकेको स्थानीय वुद्धिजीविहरुले वताएका छन् ।

ध्रुबसागर शर्मा