सगरमाथा र अरू हिमालको कमाइ

  • १५ असार २०७८, मंगलवार
  • 2120 पटक पढिएको

अहिलेसम्मको विश्वको अग्लो हिमाल सगरमाथा हो । संयोगले यो हिमाल नेपालमा रहेको छ । यो हिमालको नयाँ उचाइ ८ हजार ८ सय ४८. ८६ मिटर मान्न थालिएको छ । सो निर्णय गत वर्ष नेपाल सरकार र चीन सरकारले संयुक्त रूपमा गरेका हुन् । त्यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर थियो । खासमा यो हिमालको आदि–अनादि कालदेखि रहँदै आएको असली र पुरानो नाम भने ‘चोमोलुङ्मा’ हो । त्यसो भए तापनि हाल सगरमाथा र एभरेस्ट भनेर नै बढी चिनिन्छ । यो प्रसंगलाई यहीं छाडौं । यसअघि नेपाल सरकारले सन् १९५५ मा पत्ता लागेको ८ हजार ८ सय ४८ मिटरलाई नै सगरमाथाको आधिकारिक उचाइ मान्दै आएको थियो भने चीन सरकारले भने ८ हजार ८ सय ४४.४३ सेन्टिमिटरलाई आधिकारिक उचाइ मान्दै आएको थियो । त्यस्तै अमेरिका, इटली आदि देशहरूले भने सगरमाथाको उचाइ ८ हजार ८ सय ५० मिटर रहेको भन्दै आएको थियो । तर, नेपाल सरकार र चीन सरकारले तेस्रो पक्षको उचाइ बढेको भनाइलाई मान्यता दिएको थिएन ।
यो लेखमा सगरमाथा आरोहण र अन्य कुरोबारे भन्दा पनि सगरमाथाको आर्थिक पक्ष अर्थात् सगरमाथाको कमाइबारे केही लेखिनेछ । हाम्रो देशले यो वर्ष (सन् २०२१) को वसन्तयाममा कोरोना महामारीबीचमै पनि विश्वकै अग्लो सगरमाथा हिमाल आरोहण गर्न आएका विदेशी पर्वतारोहीहरूबाट धेरै राम्रो आम्दानी गर्न सफल भएको छ ।

जस्तो कि, विश्वको अग्लो हिमशिखर सगरमाथा (नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ सेन्टिमिटर मानिएको छ ।) चढ्न आएका विभिन्न देशका पर्वतारोहीहरूलाई अनुमति दिएबापत नेपाल सरकारले लिने गरेको सलामी दस्तुर अर्थात् रोयल्टी मात्रै ६६ करोड नेपाली रुपैयाँबराबरको विदेशी मुद्रा कमाइ गरेको छ । स्मरणीय छ, यो सिजन (वसन्तयाम) मा सगरमाथा चढ्न भनी विभिन्न देशका ४४ वटा आरोहण दलका ४ सय ८ जना पर्वतारोहीले सगरमाथा चढ्ने अनुमति लिएका थिए । त्यसमध्ये एक जना तेस्रोलिंगीसमेत थिए भने ९२ जना महिलाका साथै ३ सय १५ जना पुरुष रहेका थिए ।

तर, दुःखको कुरो, यो वर्ष ठ्याक्कै सगरमाथा आरोहण गर्ने समयमा नै खाडी मुलुक र भारतको विभिन्न गुजरात, महाराष्ट्र, पश्चिम बंगाल, बंगलादेशलगायत क्षेत्रबाट आएको ‘ताई÷तेई’ र ‘यास÷यस’ नामक समुन्द्री आँधी (चक्रवात) का कारण मौसममा आएको नकारात्मक परिवर्तनले गर्दा सगरमाथा आरोहणमा अपेक्षित सफलता भने मिलेन । यसले गर्दा यो वर्षको वसन्तयाममा लगभग ६५ देखि ७० प्रतिशत सगमाथा आरोहीहरूले बिना सफलता फर्किए होलान् ! यो मेरो व्यक्तिगत अनुमान मात्रै हो । यसबारेमा आधिकारिक निकाय पर्यटन विभागले आधिकारक रूपमा कति प्रतिशत सगरमाथा आरोहीहरूले यो वर्षको वसन्तयाममा सपलता प्राप्त गरे ? विज्ञप्ति निकालेर सूचना निकाले र जानकारी गराउला नै । त्यसो त हजारौं डलर खर्च गरेर जिन्दगीमा जसरी भए पनि ‘एक पटक विश्वको अग्लो हिमाल सगरमाथा चढेरै छाड्ने !’ सपना साँचेर आएका विभिन्न देशका सगरमाथा आरोहीहरूले कतै मौसम सुध्रेला कि ? भनी सन् २०२१, जुनको ७÷८ तारिखसम्म सगरमाथा हिमालको क्याम्प–२, क्याम्प–३, क्याम्प–४ मा पर्खेर बसेका थिए । तर, …

सगरमाथापछि यो सिजनमा नेपालमा रहेको र विश्वकै चौथो अग्लो हिमाल ल्होत्चे, जुन हिमाल ८ हजार ५ सय १६ मिटर अग्लो छ, यो हिमाल आरोहण गर्नका लागि विभिन्न देशका १४ वटा आरोहण दलका १ सय २५ सदस्यले अनुमति लिएका थिए । स्मरण रहोस्, यो हिमाल आरोहण गर्नका लागि यस वर्षको वसन्तयाममा पुरुषभन्दा महिला तीन चौथाइभन्दा पनि बढीको संख्यामा रहेको थियो । अर्थात् यो वर्षको वसन्तयाममा ल्होत्चे हिमाल आरोहण गर्नका लागि ९४ जना महिलाले आरोहण अनुमति लिएका थिए भने २९ जना पुरुष आरोहीहरूले मात्रै आरोहण अनुमति लिएका थिए ।

उता खुम्बु क्षेत्रमै पर्ने नुप्चे, जुन हिमाल ७ हजार ८ सय ६४ मिटर अग्लो छ, सो हिमाल आरोहणका लागि यस वर्षको वसन्तयाममा विश्वका विभिन्न देशका ३८ जना आरोहीहरूले आरोहण अनुमति लिएका थिए । साथै पुमोरी हिमाल आरोहणका लागि, जुन हिमाल ७ हजार १ सय ६१ मिटर अग्लो छ, यस वर्षको वसन्तयाममा विभिन्न देशका ९ जना आरोहीले आरोहणका लागि अनुमति लिएका थिए । यीलगायत नेपालका अन्य हिमाल आरोहण गर्न आएका विदेशी पर्वतारोहीबाट नेपाल सरकारले लगभग ७२ करोड नेपाली रुपैयाँबराबर रोयल्टीबापत कमाइ गरेको छ ।

काराेबार अनलाइनबाट साभार गरिएकाे ।