३ जेठ २०७५ पूर्वको एमाले र सर्वोच्चको हस्ताक्षर फिर्ता गर्न ओलीको प्रस्ताब, प्रस्ताबको अर्थ नरहेको नेपाल पक्षको प्रतिकृया
- २४ जेष्ठ २०७८, सोमबार
- 943 पटक पढिएको
काठमाण्डौ २४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका छन् । पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउन तयार रहेको भन्दै उनले आफूलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिने प्रस्ताव गरेका छन् । शुक्रबार मात्र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले एकता वार्तालाई अध्यक्ष ओलीले दाउपेचका रुपमा मात्र लिएको आरोप लगाएको थियो ।
आफूहरुले अघि सारेको प्रस्तावहरु निश्चिय समय सीमामा विश्वसनीय कार्यान्वयन हुने सहमति भए मात्र ओली एकताको पक्षमा रहेका ठहरिने, अन्यथा एकताको नाममा नअलमलिने र वैकल्पिक बाटो अबलम्बन गर्ने चेतावनी दिएको थियो ।नेपाल समूहको निर्णय सार्वजनिक भए लगतै एमाले अध्यक्ष ओलीले एकताका लागि आहृवान गरेका छन् । एमालेलाई सुदृढ गरेर मात्र कम्युनिस्ट आन्दोलनलाई बलियो र एकतावद्ध बनाउन सकिने भएपनि पार्टीको आन्तरिक जीवनमा समस्याहरु देखा परेको उनले बताएका छन ।
पार्टीमा देखिएका समस्या समाधान हुन नसक्ने कारण नभउको भन्दै उनले एक ठाउँमा उभिनुपर्ने र सबैले एकताको लक्ष्य राखेर सकारात्मक योगदान गर्नुपर्ने जोड दिएकाम छन् । उनले पार्टीको समस्या समाधानका लागि ६ बुँदे प्रस्ताव समेत अघि सारेका छन् । प्रस्ताबमा नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाउने, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीको संरचना गतिशील गराउने, मातहतका पार्टी कमिटी र जनसंगठनहरु मुलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने हुने प्रस्ताब छ ।
त्यसैगरि संगठनात्मक क्षेत्रका यी निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने , आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाछ हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग भएको नेकपा एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता गर्ने। यसबीचमा विभिन्न कमरेडहरुबाट भएका गल्ती तथा कमजोरीलाई लिएर कुनै कारबाही नगर्ने, पूर्वाग्रह नराख्ने र कुनै भेदभाव नगर्ने , नेकपा एमालेलाई बैचारिक, संगठनात्मक र भावनात्मक रुपले एकतावद्ध अनुशासित र अझ सुदृढ बनाउन सबै कमरेडहरुले रचनात्मक योगदान गर्ने उल्लेख छ ।
यता प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको आह्वानलाई माधव नेपाल पक्षले खारेज गरेको छ । प्रारम्भिक प्रतिक्रिया दिंदै नेताहरुले ओलीको आह्वान जालझेलपूर्ण रहेको बताएका छन् । यसबारे औपचारिक धारणा भने सोमबार बस्ने स्थायी कमिटीको बैठकबाट सार्वजनिक गर्ने माधव नेपाल पक्षका नेताहरुको तयारी छ । एमाले माधव नेपाल पक्षका नेता युवराज ज्ञवालीले भने, ‘आज १० बजे स्थायी कमिटीका साथीहरुसँग छलफल गर्छौं र औपचारिक धारणा बनाउँछौं ।’
नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले सामाजिक सन्जालमार्फत् आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै ओलीको आह्वान झुक्याउन, अलमलाउन र मिडिया खपतको लागि हो भनेर बुझ्नुपर्ने बताएकी छन् । ‘एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होइन,’ उनले लेखेकी छन्, ‘यो साँच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्ष बिचमा सहमति गरी वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउँथ्यो ।’ पार्टी एकता हुन नदिने डिजाइनका साथ ओलीको वक्तव्य आएको भन्दै उनले यसप्रति भ्रममा नपर्न अनुरोध गरेकी छन् ।