गुरुङ परिवारलाई जापानबाट ४९ हजार सहयोग

  • २३ जेष्ठ २०७४, मंगलवार
  • 3269 पटक पढिएको

म्याग्दी, २३ जेठ ।  विषाक्त खानाका कारण परिवारका दुई सदस्य गुमाएकी म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्ककी देवीकला गुरुङको परिवारलाई काजक्रिया र उपचारखर्चका लागि जापानबाट ४९ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । पात्लेखर्कका पदम पुनको नेतृत्वमा अध्ययनका सिलसिलामा जापान पुगेका म्याग्देलीहरुले उक्त रकम सहयोग गरेका हुन् । विषाक्त खानाका कारण बुहारी र नाति गुमाउनुका साथै छोराको उपचारका लागि आवश्यक रकम समेत अभाव भएको जानकारीपछि साथीभाईसँग सहयोग याचन गरिएको पुनले बताए ।

‘गाउँमै यस्तो घटना भएपछि यहाँ अध्ययन गर्ने साथीहरुसँग सहयोग मागेँ, आफ्नो समस्याका बाबजुद उहाँहरुले ठुलो सहयोग गर्नुभएको छ’, पुनले भने, ‘सहयोगी हातहरुलाई धेरै–धेरै धन्यबाद दिन चाहान्छु ।’ गुरुङको छोरा प्रेम अहिले पोखरास्थित कास्की सेवा अस्पतालमा उपचाररत छन् । विषाक्त खानाका कारण गुरुङ बुहारी चिना र १४ महिने नाति दिपीनको गत शुक्रबार उपचारको क्रममा निधन भएको थियो ।

गत शुक्रबार मँगला –५ छिस्वाङमा ससुराली आएका गुरुङ परिवारले ढिडोसँगै आलु र भेन्टा खाए लगत्तै बेहोस भएका थिए । स्थानीयको सहयोगमा उनीहरुलाई बेनी अस्पताल ल्याईएको थियो । चिनाको बेनी अस्पताल र उनको १४ महिने छोराको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । देवीकलाकी श्रीमान सार्के गुरुङ १७ बर्षदेखि भारतमा बेपत्ता छन् ।

तस्बिरः बुहारी र नाती गुमाएकी देवीकला

दैनिक मजदुरी गरि गुजारा चलाउँदै आएका देवीकलासँग बुहारी र नातिको दाहसंस्कार गर्ने रकम समेत अभाव भएपछि बेनीस्थित नेपाल छन्त्याल संघले १० हजार रुपैयाँ र पाखापानी निवासी पदम शेरपुञ्जाले ५ हजार बराबरको दाउरा सहयोग गरि दाहसंस्कार गरिएको थियो । पात्लेखर्कस्थित रिखार युवा क्लबको अगुवाईमा विभिन्न व्यक्तिलाई व्यक्तिगत सहयोग उठाएर दाहसंस्कार गरिएको क्लबका सचिक अंकित पुनले जानकारी दिनुभयो । उहाँका अनुसार गुरुङ परिवारको आर्थिक अबस्था एकदमै न्युन रहेकाले उनीहरुको राहतको लागि स्वदेश तथा विदेशमा रहेका सहयोगदाताहरुलाई सहयोगको लागि आह्वान गरिएको छ ।