ताकमकोतमा जगन्नाथ–अन्नपूर्ण देवताको मुर्ति स्थापना (तस्बिर/भिडियो)

  • ११ बैशाख २०७८, शनिबार
  • कमल खत्री
  • 1811 पटक पढिएको

बेनी, ११ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ऐतिहासिक ताकमकोत स्थित जगन्नाथ–अन्नपूर्ण मन्दिरमा मुर्ति स्थापना गरिएको छ । गत बर्ष मात्रै पुननिर्माण गरिएको ऐतिहासिक कोत मन्दिरमा करिब ८ लाख लागतमा जगन्नाथ र अन्नपूर्ण देवताको मुर्ति स्थापना र प्राण प्रतिष्ठा गरिएको हो ।

काठमाण्डौमा मुर्तिकार मार्फत पन्चधातुको प्रयोग गरि ६०/६० केजिको ४२ इन्च उचाई भएका मुर्ति बनाउन साढे ७ लाख खर्च भएको र ढुवानी सहित मन्दिरमा प्रतिस्थापन गर्दासम्म कुल ८ लाख खर्च भएको मन्दिर पुननिर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाले जानकारी दिनुभयो ।

स्थानीय भजन कृतन, राधाकृष्ण नृत्य र पञ्चेबाजा सहित रथयात्रा गरि कोत परिसरमा पु¥याईएका मुर्तिलाई बैद्धिक विधि अनुसार प्राण प्रतिष्ठा गरिएको हो । हिन्दु महासंघका बरिष्ठ उपाध्यक्ष पण्डित डण्डपाणी पौडेलको प्रवचन सहित जनप्रतिनिधि र स्थानीयबासीको सहभागितामा मुर्तिमा प्राण प्रतिष्थापन गरिएको अध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुसार, मुर्ति बनाउनका लागि देश तथा विदेशमा रहेका सहयोगदाताहरुको चन्दा संकलन गरिएको थियो ।
१६ औँ शताब्दीमा निर्माण भएको ताकमकोत विसं १९९० र २०७२ को भूकम्पका कारण जीर्ण बनेको थियो ।

चन्दा संकलन अभियानबाट बजेट जुटाएर गत बर्ष मन्दिरको पुनःनिर्माण भएको थियो । पुरातत्व विभागबाट अनुमति लिएर उसले स्वीकृत गरेको डिजाइनअनुसार कोतघर, अन्नपूर्ण–जगन्नाथ मन्दिर, सत्तल र सार्वजनिक शौचालय लगायतका पूर्वाधार निर्माण गरिएको छ ।

पुननिर्माणमा अहिलेसम्म चन्दा संकलनबाट रु १ करोड ३० लाख खर्च भैसकेको छ भने धवलागिरि गाउँपालिकाले समेत रु १२ लाख बजेट परिचालन गरिसकेको छ भने थप रु १० लाख बजेटबाट पूर्वाधार निर्माण भैरहेको छ । पुरातत्व विभागबाट विनियोजन भएको रु ५० लाख बजेटबाट गत बर्षदेखि निर्माण सुरु भएको अर्को मन्दिरको निर्माण कार्य भने प्रभावित बनेको वडा सदस्य देबबहादुर थापा (देवेन्द्र)ले जानकारी दिनुभयो ।


‘‘ विभागको योजना उतैबाट ठेक्का लगाएर काम भएको हो, तर अहिलेसम्म पनि काम सकिएको छैन, मन्दिरको छाना तामाले छाउनुपर्ने हो, टिनले छाईएको छ, यसबारे हामीले ध्यानकर्षण गराएका छौँ’’– वडा सदस्य थापाले भन्नुभयो ।
म्याग्दीको प्रमुख शक्तिपीठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने र दशैँमा विशेष पुुजाआजा हुने मन्दिरका पुजारी हेमनाथ पौडेलले बताउनुभयो ।

विसं १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले राज्य सञ्चालन गरेको समयमा कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाल लगायतका हातहतियार छन् । ऐतिहासिक महत्व र महिमा बोकेको ताकमकोट परिसरमा अन्य पर्यटन पूर्वाधार निर्माण संगै प्रचार प्रसारको आबश्यकता रहेको धारापानीका स्थानीय रिमप्रकाश थापाले बताउनुभयो ।

जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवीदेवताको मूर्ति रहेको यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ । समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा अवस्थित ताकमकोत क्षेत्रबाट गुर्जा, धौलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ भने मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयलाई नजिकबाट नियाल्न सकिने थप विशेषता रहेको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l