कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार खड्कालाई

  • २२ फाल्गुन २०७७, शनिबार
  • 1197 पटक पढिएको

 

म्याग्दी, २२ फागुन । कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार म्याग्दीका अग्रज पत्रकार घनश्याम खड्कालाई प्रदान गरिएको छ । प्रेस संगठन नेपालको शुक्रबार बेनीमा भएको जिल्ला भेलाको अवसरमा खड्कालाई रु. सात हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष रहनुभएका खड्का बीस बर्षदेखि पत्रकारितामा क्रियाशिल हुनुहुन्छ । उहाँ कान्तिपुर दैनिकसँग आवद्ध हुनुहुन्छ ।

प्रेस संगठन नेपालका सह–इञ्चार्ज ओम शर्मा, गण्डकी प्रदेश इञ्चार्ज हरिनारायण गौतम, नेकपा म्याग्दीका अध्यक्ष गोबिन्द पौडेल, सहिद मदन केसीका भाई तथा प्रदेश सांसद बिनोद केसीले पुरस्कार प्रदान गर्नुभएको थियो ।वि.स २०७२ मा चलचित्र भिमदत्तको बिशेष प्रर्दशनी गरेर तत्कालीन क्रान्तिकारी पत्रकार संघले रु. ७५ हजार राशीको कोष स्थापना गरेको थियो । कोषमा प्रदेशसभा सदस्य बिनोद केसीले जनयुद्धमा दिवंगत हुनुभएका दाजु मदनको स्मृतिमा दुई वर्षअघि रु. २५ हजार सहयोग गर्नुभएको थियो ।

भेला तथा पुरस्कार बितरण समारोहमा केसीले थप रु. २५ हजार उपलब्ध गराउनुभएको थियो । अक्षयकोषको ब्याजबाट प्रत्येक दुई वर्षमा म्याग्दीमा क्रियाशिल एक जना पत्रकारलाई पुरस्कृत गरिने प्रेस संगठन म्याग्दीका अध्यक्ष कमल खत्रीले बताउनुभयो ।सोही भेलाले खत्री संयोजक र लोकनाथ (भुषाल) घायलश्री सहसंयोजक रहनुभएको १७ सदस्यीय प्रेस संगठन नेपालको जिल्ला संगठन कमिटि गठन गरेको छ । भेलालाई सम्बोधन गर्नुहुदै सहइञ्चार्ज शर्माले मर्यादित र जिम्मेवार पत्रकारितामा जोड दिनुभयो ।

उहाँले मोफसलमा पत्रकारिताको बिकासको सम्भावना भएको बताउँदै क्षमता बिकास, न्युनतम पारिश्रमिक ऐनको कार्यान्वयनमा संगठनले प्राथमिकता दिने बताउनुभयो । संगठनका गण्डकी प्रदेश इञ्चार्ज हरिनारायण गौतमले पत्रकारितामा शुद्धीकरणको आवश्यकता औल्याउदै पत्रकार महासंघको आगामी अधिवेशनमा अग्रगामी पत्रकार संगठनहरुबीच सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।

नेकपा म्याग्दीका अध्यक्ष गोबिन्द पौडेल, सचिव बालकृष्ण सुबेदी, गण्डकी प्रदेश सांसद केसीले म्याग्दीको बिकास, शुसासन, बिपद् ब्यवस्थापन, सामाजिक, आर्थिक लगायत समग्र क्षेत्रमा पत्रकार तथा सञ्चारकर्मीहरुको महत्वपूर्ण योगदान भएको र त्यसको नेतृत्व प्रेस संगठनले गरेको बताउनुभयो ।

प्रेस संगठनका गण्डकी प्रदेश संयोजक अर्जुन काफ्ले, सहइञ्चार्ज त्रिभुवन पौडेल, श्रीराम सिग्देल, नेता नवराज सुबेदीले पत्रकारहरुको वृत्ति बिकास, स्थानीय सञ्चार माध्यमको प्रर्वद्धनमा समानुपातिक बिज्ञापन प्रणाली लागू गर्नुपर्ने बताउनुभयो ।

पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले पत्रकारहरुबीच एकता, सहकार्य र सद्भावको वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । पुरस्कृत पत्रकार खड्काले पत्रकारिता समाजको ऐन नभएर तस्बिर भएको मान्यता राख्नुपर्ने बताउनुभयो ।

प्रेस संगठन नेपाल म्याग्दीका अध्यक्ष कमल खत्रीको अध्यक्षता, सन्दिप खत्रीको सञ्चालन र पदम बिश्वकर्माको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा संगठनका केन्द्रिय सदस्य सन्तोष गौतमले पुरस्कार छनौट प्रक्रियाको बारेमा जानकारी गराउनुभयो ।