भीरमा पैदल हिड्दा खर समातेका हातमा सडक उद्घाटन गर्ने कैची थमाइयाे (आलेख)

  • २० फाल्गुन २०७७, बिहीबार
  • 1876 पटक पढिएको

म्याग्दी २० फागुन । बाजागाजा घन्किएको छ । मानिसहरु नाचगान गरिरहेका छन् । ठाउँ ठाउँका मानिस जम्मा भएका छन् । सयौँ मानिसहरुले हर्षोल्लास मनाइरहेका बेला ९३ बर्षिय उडिमा कमिनी र ९६ बर्षिय दलबहादुर गर्वुजाको हातमा कैँची थमाईयो । मोटरबाटोमा सिंगारिएको गेटमा रातो रिवन काट्नका लागि उडीमा र दलबहादुरको हातमा कैँचि दिईएको हो । रघुगंगा गाउँपालिका–४ दर्मिजामा आयोजित भब्य समारोहका बिच ज्येष्ठ नागरिकको तर्फबाट दुबै जनाले संयुक्त रुपमा रिबन काटेर सडकको उद्घाटन गर्नुभयो ।


गलेश्वर–पिप्ले–मौवाफाँट–दग्नाम–चिमखोला–कुइनेमंगले सडकखण्ड अन्तर्गत रघुगंगा गाउँपालिका–४ दग्नामको अजिङ्गर भीरमा पुगेर रोकिएको सडक यसै बर्ष मात्रै गाउँपालिका र जलविद्युत निर्माण गर्ने तुँदी पावर र संयुक्त उर्जा कम्पनीको साझेदारीमा अक्करे पहाडमा विस्फोटक पदार्थको सहायताले सडकको ट्याक निर्माणले पूर्णता पाएको छ । सडकको ट्याक निर्माण भएर नियमित रुपमा सवारी वारपार गर्न थालेसंगै भव्य समारोह आयोजना गरि बाजागाजा सहित फागुन १७ गते सडकको उद्घाटन गरिएको हो ।


उद्घाटनमा मन्त्री, साँसद र नेताहरुको दौडधुप हुने प्रचलन बढीरहेको अबस्थामा सडक उद्घाटनमा रघुगंगाले नयाँ प्रयोग गरेको हो । गाउँपालिकाकै गौरवको आयोजनाको रुपमा सम्पन्न भएको यस योजनाको उद्घाटनमा मन्त्रीदेखि नेतासम्म कस्लाई लैजाने भन्ने लामै चर्चा चलेको थियो । तर गाउँपालिकाले सडक योजनाको पत्येक्ष लाभाविन्त वडाका ज्येष्ठ नागरिकको हातबाट सडकको औपचारिक उद्घाटन गर्ने निर्णय लियो । रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेकी दलित ज्येष्ठ नागरिक उडिमा र वडा नम्बर ४ दर्मिजाका जनजाती ज्येष्ठ नागरिक दलबहादुरले सडकको रिबन काट्दै गर्दा समारोहको दिप प्रज्वलन वडा नम्बर ७ चिमखोलाकी १० बर्षिया बालिका लिस्मा पुनको हातबाट गराईयो ।


गाउँबाटै गाडीमा चढेर आफन्तसंगको सहायताले उद्घाटन स्थलसम्म आउनुभएकी कुईनेमंगलेकी उडिमाले जिवनमै पहिलो पटक यसरी उद्घाटन गर्ने अवसर पाएको बताउनुभयो । ‘‘मलाई आज अति नै खुसी लागेको छ, त्यो भन्दा बढी सर्म पनि लागेको छ, जिवनको यो उमेरमा आएर यति ठुलो काममा सहभागी हुन पाएँ, भाग्यमानी नै रहेछु’’–उहाँले भन्नुभयो । खुसी र हर्षले मुस्कुराएकी उडिमाले सडकमा रिवन काट्दै गर्दा बिगतमा गाडी चढ्न सदरमुकाम बेनी पुगेको स्मरण गर्नुभयो ।


‘‘ यस्ता ठुला पहाडमा गाडी गुड्ने कल्पनै थिएन्, खुट्टा समेत टेक्न मिल्ने थिएन, खर र डोरी समातेर भारी बोकेर ओहोर दोहोर गथ्र्यौ, अहिले त्यहि भीरमा मोटर चल्ने भयो, यो हाम्रो सौभाग्य हो, सबैलाई आर्शिवाद छ, यो बाटोमा संधै मोटर चिलरहोस’’– उडिमाले सुनाउनुभयो । जिवनको लामो समय अजिङ्गर पहाडको अक्करे भीरमा डोरी र घाँस समातेर वारपार गर्नुभएका दलबहादुरले पनि आफ्नै पालामा गाउँमै मोटर आउने कल्पना समेत नभएपनि त्यो सम्भव भएको भन्दै खुसी बाँड्नुभयो ।


‘‘ भीरमा खुट्टा टेक्न समेत मुस्कील थियो, त्यहि भिरमा ज्यानलाई जोखिममा राखेर नियमित जसो वारपार पनि गरियो, अहिले यहि भीरमा मोटर चल्ने सडक बन्यो, भाग्यबस सडकको रिवन काट्ने अवसर पनि पाएँ’’ उहाँले भन्नुभयो । ‘‘कार्यक्रमको प्रमुख अतिथिको सम्बन्धमा लामै छलफल भएको हो, विवाद भएर भन्दापनि उपयुक्त विकल्प हुने भएपछि ज्येष्ठ नागरिकको हातबाट सडकलाई उद्घाटन गराएका हौँ’’–गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले भन्नुभयो ।

अक्करे पहाड अजिङ्गर भिरमा रोकिएको सडकलाई ३ बर्षको प्रयासपछि स्थानीय सरकारका साथै प्रदेश, संघ र जलविद्युत निर्माण गर्ने कम्पनीहरुसंगको साझेदारीमा सडकको ट्याक निर्माण सम्भव भएको अध्यक्ष भण्डारीको भनाई छ । ‘‘ प्रभावित तीन वटै वडाबाट यस बर्ष गौरवको योजनाको बजेट यसै योजनामा परिचालन भयो, गाउँपालिकाको पहलमा दुई जलविद्युत अयाोजनाहरुले समेत साझेदारी गरेपछि अन्तत् सडकको ट्याक निर्माणले पूर्णता पायो, आगामी दिनमा सडकलाई थप व्यवस्थित र सुरक्षित बनाउनतर्फ हाम्रो पहलकदमी रहनेछ’’–अध्यक्ष भण्डारीले भन्नुभयो ।


बेग हुँदै चिमखोला पु¥याईएको सडक घुमाउरो भएकाले ट्याक्टर मार्फत सामान ढुवानी र अत्याबश्यक रुपमा मात्रै प्रयोग हुँदै आएको थियो । बेनीदेखि बेग हुँदै चिमखोला–घ्याँसीखर्क सडक ५६ किलोमिटर लामो रहेको छ । अहिले अजिङ्गर भीरमा सडक निर्माण भएपछि बेनी–मौवाफाँट–दग्नाम–दरमिजा– चिमखोला–कुइनेमंगले सडक जम्मा करिब ३६ किलोमिटरमै छोटिएको छ । सिधा सडक सञ्जालले करिब आधा दुरी छोटिएको छ भने नियमित आवत जावतले सडकको उपयोग र प्रभाबकारीता समेत बढाएको छ । पहिले घुमाउरो बाटो प्राविधिक रुपमा समेत अनुपयुक्त र जोखिमपूर्ण रहेको थियो । घुमाउरो बाटोबाट ६ घण्टा लाग्ने यात्रा अब ३ घण्टामै पार गर्न सकिने भएको छ । सडक उद्घाटन समारोहमा सहभागी राजनीतिक दलका नेता, जनप्रतिनिधि,सरोकारवाला र पत्रकार समेतले सडक निर्माणसंगै दुर्गम बस्तीहरुमा विकासको आधार तयार भएको भन्दै सडकलाई सुरक्षित र स्तरीय बनाउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
                                      सडक निर्माणले यसरी पायो सार्थकता
गलेश्वरदेखि कुइनेमंगलेसम्म ३६ किलोमिटर सडकको ट्याक निर्माणमा स्थानीय सरकार संगै संघिय र प्रदेश सरकारको समेत साझेदारी रहेको छ । विकट वस्तीहरु दर्मिजा, चिमखोला कुइनेमंगले सडक सञ्जाल सँग जोडिएपछि स्थानीयले बाजागाजा सहित खुसीयाली मनाएका छन् । अक्करे पहाड अजिङ्गर भिरमा रोकिएको सडकलाई ३ बर्षको प्रयासपछि स्थानीय सरकारका साथै प्रदेश, संघ र जलविद्युत निर्माण गर्ने कम्पनीहरुसंगको साझेदारीमा सडकको ट्याक निर्माण सम्भव भएको हो । २०६७ देखि सडक निर्माण थालिएकोमा टुक्रे बजेटका कारण लामा समय लागेर सडक निर्माणले पूर्णता पाएको वडा नम्बर ४ का वडा अध्यक्ष रुकबहादुर गर्वुजाले बताउनुभयो । यस सडक सञ्जालले यस क्षेत्रका करिब ५ हजार जनसंख्या प्रत्येक्ष रुपमा लाभान्वित बनेका छन् । खच्चड र मानिसले नै बोकेर खाद्यान्न लगायतका सामान ढुवानी गर्दै आएका स्थानीयबासीले सडकले सिधा सम्पर्क जोडिएसंगै गाउँमा उत्पादन हुने उपजहरुलाई सहज बजारीकरणमा सुविधा पुग्ने भएपछि उत्साहित बनेका छन् । यस क्षेत्रमा उत्पादन हुने आलु, सिमी लगायतका कृषि उपज र भेडाबाख्राको बजारीकरणमा सडक सञ्जालले टेवा पु¥याउने अपेक्षा गरिएको वडा नम्बर ८ का वडा अध्यक्ष गमान छन्त्यालले बताउनुभयो । उहाँले धौलागिरि आईसफल पदमार्ग र रिखार क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न समेत सडकले सघाउने बताउनुभयो ।
                                             १८ करोड बढी लागत
आर्थिक बर्ष २०७४/०७५ देखि हालसम्म यस सडकखण्डमा १८ करोड बढी बजेट खर्च भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले गाउँपालिका, प्रदेश र संघिय सरकारबाट यस सडकखण्डमा कुल ४ करोड ५ लाख ७२ हजार ६ सय ८७ खर्च भएको जानकारी दिनुभयो । त्यसमध्ये गाउँपालिबाट रु ३ करोड ६२ लाख ६० हजार ७ सय ५६ , प्रदेश सरकारबाट २१ लाख ५४ हजार ४ सय ६६ र संघिय सरकार मार्फत स्थानीय पुर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत २१ लाख ५७ हजार ४ सय ६५ खर्च भएको छ भने गाउँपालिका अध्यक्ष भण्डारीले समेत व्यक्तिगत रुपमा रु १० लाख परिचालन गरेका छन् । यस बर्ष गाउँपालिकाको पहलमा चिमखोला र कुइनेमगंले क्षेत्रमा जलविद्युत निर्माण सुरु गरेका तुँदी हाईड्रोपावर र संयुक्त उर्जा प्रालिले रु ११ करोड बजेट यस क्षेत्रको सडक निर्माणमा खर्चिएको जनाएका छन् । सडक डिभिजन कार्यालयले तीन बर्षको अवधिमा २ करोड ७६ लाख ४९ हजार ५ सय २४ रुपैयाँ बिनियोजन भई काम गरेको पाईएको छ । मौवाफाँट हुँदै दग्नाम सम्मको खण्डमा तत्कालिन जिल्ला विकास समिति मार्फत समेत सडकको ट्याक निर्माणमा बजेट परिचालन भएको थियो ।
(यो समाचार फागुन १९ गतेको समृद्ध साप्ताहिकमा कमल खत्रीले लेख्नुभएको हो । )