विदाइ भएर जाँदै गर्दा प्रनाउ कुँवरले भने ‘म्याग्दीको परोपकार संस्कृति गहना हो’ (भिडियो)

  • १ माघ २०७७, बिहीबार
  • 1497 पटक पढिएको

म्याग्दी १ माघ । म्याग्दीमा एक बर्षे कार्यकाल पुरा गरि सरुवा भएर जाँदै गर्दा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक किरणजंग कुँवरले म्याग्दीको परोपकारी भावनाबाट आफु प्रभावित बनेको प्रतिकृया दिनुभएको छ । आफ्नो एक बर्षे कार्यकालका कार्यसम्पादन र कार्यसम्पादनका क्रममा आएका अप्ठ्याराहरुबारे सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रनाउ कुँवरले देशका अन्य जिल्लाहरुको तुलनामा म्याग्दीको परोपकारी र मनकारी अभियानबाट आफु प्रभावित बनेको बताउनुभयो ।

दैवि प्रकोप पीडीतको राहत र उद्धार तथा आर्थिक अभाबले उपचार गराउन नसकेकाहरुको लागि देशविदेशमा रहेका जिल्लाबासीले आफ्नै परिवारको समस्या लिएर सहयोग र सहकार्य गर्ने नयाँ संस्कृतिको विकास गरेको पाएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा जिल्लामा कार्यसम्पादन गर्ने क्रममा दबाब र प्रभाबबाट मुक्त रहेर विवेकले भ्याएसम्म तटस्थ र निष्पक्षतामा जोड दिएको स्मरण गर्नुभयो ।

‘‘ म पनि व्यक्ति हुँ, यो संगठन पनि हामीबाटै सञ्चालन हुने हो, हामी कमिकमजोरी रहित छौँ त भन्न मिल्दैन, तर नियतबस रुपमा कहिँ कतै कसैको पक्षमा लागेर आग्रह र पुर्वाग्रह राखेर काम गरिन भन्नेमा ढुक्क छु’’–प्रनाउ कुँवरले भन्नुभयो । उहाँले कार्यालयमा विभिन्न आग्रह र अनुरोध सहित सेवा प्रवाहका क्रममा दबाबहरु आउने गरेको स्विकार गर्दै दबाबहरुलाई पनि ब्यबस्थापन गरि न्यायोचित रुपमा सेवा प्रवाह गर्ने गरेको जिकिर गर्नुभयो । उहाँले जिल्लामा अपराधिक र गैरकानुनी कार्यमा संलग्न हुने गरेका राजनीतिक दलमा आबद्ध व्यक्तिहरुलाई कानुनी कारबाहीको दायरामा ल्याएको स्मरण गर्दै दलहरुबाट समेत त्यस्तो कार्यमा संलग्न भएकालाई पार्टीबाट कारिबाहि गरि निष्पक्ष छानविनमा सहयोग पाएको बताउनुभयो ।