अर्थ–राजनीतिमा ‘स’ को महत्व

  • ५ भाद्र २०७७, शुक्रबार
  • 1632 पटक पढिएको

नन्दलाल खरेल / नेपाली अर्थ–राजनीतिमा ‘स’ को महत्वका कारणले शक्तिशाली कम्युनिस्ट सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा अघि सारेको हो । सायद हाम्रो नेपाली शब्दकोशमा ‘स’ थिएन भने यो सटिक नारा आउने थिएन । ‘स’ को शक्ति यति छ, ‘स्वाधीनतासहितको सम्पन्नता’ को बहस त्यसै आएको होइन । ‘स’ भएकै कारण कोरोनाको संक्रमणमा पनि सरकार सत्तासंघर्षको सिद्धान्तविहीन बहसमा रुमल्लिएको छ । ‘स’ कै कारण आज स्वाधीन अर्थतन्त्रसहितको समाजवादउन्मुख नीति संविधानमा समावेश छ । संविधानमा अर्थनीति समावेश हुँदाहुँदै पनि किन सधैंभरि अर्थतन्त्रको बहस बराल्लिरहेको छ ?


अलिकति राजनीतिको बहसमा पनि समावेश हौं । ‘स’ भएकै कारण शक्तिशाली सरकार संकटमा छ । सरकारले सिर्जनात्मक काम नगरी सिन्डिकेटको सुनौलो अवसरलाई सदुपयोग गरेकाले समस्या आएको हो । त्यतिमात्र होइन, संघीयताको सफल कार्यान्वयनको अभावले पनि मुलुक सुशासनको साटो कुशासनतर्फ अघि बढेको हो । सुशासनलाई प्रधानमन्त्रीकै सारथिहरूले संकटग्रस्त वनाए । सायद शक्तिशाली सरकारको सिद्धान्तविहीन संगठनले सहयोग नगर्दाको परिणाम हो ।


‘स’ को महत्व बुझेर पङ्क्तिकारले समृद्धिका सात सूत्रहरू सधैंभरि संश्लेषण गर्छन् । सात सूत्रहरूमा : सुशासन, संघीयता, स्वतन्त्रता, स्वाधीन अर्थतन्त्र, सन्तुलित वैदेशिक व्यापार, सडकको संवद्र्धन, स्वस्थ नागरिकका लागि स्वस्थ क्षेत्रको विकास रहेका छन् । सरकारले सधैं उल्लिखित माथिको सात समृद्धिका सूत्रहरूको सान्दर्भिकतालाई सफलतापूर्वक कार्यान्वयन गर्ने हो भने समृद्धिले मुलुकको मुहार फेर्नेछ । सिंहदरबारलाई बदल्ने विचारले गएका नेताहरूलाई नै सिंहदबारले बदल्यो । सत्ताको तागतले सिर्जनात्मक काममा संघीय सांसदहरू शक्तिहीन भएका छन् ।


समृद्धिका लागि सुशासन महत्वपूर्ण सर्त हो । ‘स’ कै कारण सुशासन नभएर जताततै कुशासन भएको छ । सरकारले सुशासन कायम गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो शक्तिशाली संवैधानिक अंग, संसद्को लेखा समिति, सतर्कता केन्द्र, सम्पत्ति शुद्धीकरण आयोगमा अर्बांै खर्च गरेको छ । तैपनि किन सरकार असफल छ सुशासन कायम गराउन । त्यतिमात्र होइन; सेना, सुरक्षाकर्मी किन सुशासन कायम गराउन सडकदेखि सिंहदरवारसम्म संवेदनशीलता छैन । ‘स’ भएकै कारण आज प्रतिपक्षमा कांग्रेस छ । कांग्रेसलाई सत्र सालको चोट छ । त्यतिमात्र होइन, सैंतीस सालमा जनमत–संग्रहमा पराजित बहुदल सत्चालीस सालमा मात्र शिर उठाउन सफल भएको छ ।


‘स’ को महत्व स्वास्थ्य क्षेत्रमा उत्तिकै छ । स्वस्थ नागरिक भए मात्र मुलुकको समृद्धि सम्भव छ । अस्वस्थ नागरिकले चाहेर पनि समृद्ध नेपाल सुखी नेपालीको सपना साकार गराउन सक्दैन । संविधानमा प्रत्येक नागरिलाई राज्यबाट अत्यावश्यक स्वास्थ्य सेवा नि:शुल्क प्राप्त गर्ने हकको व्यवस्था गरेको छ, तर त्यसको सफल सम्पादन एकदमै न्यून छ । स्वास्थ्य सेवा निजीको हातमा सुम्पिएको छ । दलाल तथा माफियाहरूले स्वास्थ्य क्षेत्र कब्जा गरेको हुनाले यो क्षेत्र संकटग्रस्त छ ।


‘स’ भएकै कारण देशको शासन व्यवस्था संघीय छ । अहिले मुलुकमा तीन तहको सरकार छ : संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार । तीनवटै सरकारको आ–आफ्नो कार्यक्षेत्र छ । तीनवटै सरकारले आ–आफ्नो सरकार सञ्चालन गर्नका लागि बजेट बनाउने गरेका छन् । तर, हाम्रो मुलुकमा संघीयताको मर्म सकसमा छ । स्थानीय तहमा झन् कुशासनको अखडा बनेको छ । ‘स’ कै कारण हिजो सिंहदरबारवरिपरि मात्र दलाल तथा माफियाको बिगबिगी थियो भने अहिले त्यसको सञ्जाल स्थानीय तहसम्म फैलिएको छ । प्राय: जनप्रतिनिधिहरू सोझासाझा, सद्बुद्धि भएका मानिसको पनि शोषण गरिरहेका छन् । मुलुकको समृद्धिका लागि संघीयताको सफल कार्यान्वयन अति नै जरुरी छ ।


‘स’ भएकै कारणले नेपाली राजनीतिक इतिहासमा सधैंभरि संक्रमणको सन्त्रास छ । सत्ता, संघर्ष, संवाद आज उत्कर्षमा छ । नेकपाका सचिवालय र स्थायी समिति आज स्थगित छ । सञ्चार तथा सामाजिक सञ्जालहरू सधैंसधैं तातिरहेका छन् । सरकारलाई सत्ता जोगाउन सेना, सुरक्षा, सडक तथा संसद तताउनुपरेको छ । ‘स’ को शक्ति यति छ कि त्यो प्रचण्डलाई थाहा छ । समाजवाद हुँदै साम्यवादको उत्कर्षमा पुग्ने सपना बोकेको पार्टी अन्तत: संसदीय गोलचक्करमै १२ बुँदे शन्तिवार्ता गर्दै सम्झौतामा टुङ्ग्याउन परेको थियो । संविधानसभा, संघीयता, समानुपातिक आफ्नो नारा हुँदाहुँदै पनि प्रचण्ड आज सकसमा छन्, ‘स’ भएकै कारण । ‘स’ को महत्व प्रचण्डलाई मात्र होइन, शेरबहादुरलाई पनि छ ।

सत्ताको स्वाद शेरबहादुरलाई सबैभन्दा धेरै छ । शेरबहादुर पुन: षड्यन्त्र गर्दै महाधिवेशनमा अर्को कार्यकालका लागि संघर्षरत छन् । ‘स’ को महत्व संघीय सांसदहरूलाई सबैभन्दा बढी छ । आज सत्ता समीकरणको संवादमा सर्वत्र चासो उनीहरूको छ । सत्ता भएकै कारण सांसदहरू सुरा, सुन्दरी, सम्पत्तिमा आकर्षित छन् । सभ्यता, सुसंस्कार, संस्कृति आज सांसदहरूले भुल्दैछन् । ‘स’ भएकै कारण नेपाली समाज आज सिन्डिकेटको सकसमा सङ्क्रमित छ । जन्मदेखि मृत्युसम्म सिन्डिकेटले हामी सबैलाई सिध्याएको छ । सरकार ‘क्लिप्टोक्रेसी’ हरूको सिन्डिकेटहरूले सञ्चालन गरेका छन् । शिक्षा र स्वास्थ्य उनीहरूको कब्जामा छ । सज्जन विद्वान्हरूको साहित्य संगीतको सिर्जना सिन्डिकेटधारीहरूले नै सटुक्क सस्तो मूल्यमा किन्ने गरेका छन् ।


‘स’ भएकै कारण समृद्धिको सपनाको मुख्य विम्ब सडक होइन, रेल भएको छ । त्यसैले सरकारले रेललाई आफ्नो प्रतिष्ठाको विषय बनाएर सबभन्दा ठूलो कसरत गरिरहेको छ । कसरत किन नगरोस्, त्यसैबाट नेताहरूको समृद्ध सम्भव छ । सबै कुरा सिंहदरबारले सिकाइरहेको छ, हाम्रा नेताहरूलाई समृद्धिको ज्ञान ।


‘स’ भएकै कारण आज संसारभरि कोरोनाको सन्त्रास छ । अर्थतन्त्रमा ठूलै संकट छ । संसारभर नै सेयर बजारमा समेत उच्च गिरावट छ । त्यतिमात्र होइन, सुनको मूल्यमा भने उच्च मूल्य वृद्धि छ । तर, सुन व्यवसायीहरूमा सन्त्रास छ । व्यवसाय सुनसान छ । त्यतिमात्र होइन, व्यवसायीहरू सुस्केराहरूका श्वासहरू शिथिल हुँदै गएका छन् । तैपनि सरकार सुनमा कर वृद्धि गरिरहेको छ ।

काराेवार अनलाइनबाट साभार गरिएकाे हाे ।