कोभिड–१९ को महामारीको समयमा डेंगु र स्क्रब टाईफसको जोखिम

  • १ असार २०७७, सोमबार
  • 1665 पटक पढिएको

केशरी शर्मा र सागर गौतम
जाडो मौसमको अन्त्यपछि मनसुन सुरू हुनुभन्दा अगाडिको बीचको समय विभिन्न किसिमका रोगका लागि अनुकुल समयको रुपमा हेरिने गरिएको छ । विभिन्न किसिमका महामारी, हैजा, बर्डफ्लु, स्वाईन फ्लु, डेंगु, स्क्रब टाईफस (scrub typhus) जस्ता रोगका जीवाणुहरुका लागि यो मौसम अनुकुल रहेको मानिँदै आएको छ । विशेषगरी दक्षिण एशियामा ज्यादा जस्तो रोगका महामारी यसै समय र वर्षातको अन्त्य पछिको समयमा देखिँदै आएको छ । त्यसमा पनि स्रोत साधनको अभाव, जनचेतनाको कमीका साथै भौगोलिक विकटताका कारण नेपाल यस्ता महामारीहरुको उच्च जोखिममा रहेको WHO को अध्ययनले पुष्टि गरिसकेको छ ।

वर्तमान विश्व कोरोना, कोभिड–१९ विरुद्ध लडिरहेको अवस्थामा नेपाल पनि त्यसको सङ्क्रमणबाट अछुतो रहेको छैन । विगत चैत्र १० गते देखि सिङ्गो मुलुक नै लकडाउन गरिएको छ र सिङ्गो सरकारी र गैरसरकारी संयन्त्रको ध्यान पूर्ण रुपमा कोभिड–१९ को रोकथाम प्रति गएको देखिन्छ । यदि यस्तै समयमा अन्य डेंगु र स्क्रब टाईफस (scrub typhus) जस्ता रोगको महामारी फैलिन गयो भने के अवस्था आउन सक्छ अनुमान लगाउन गाह्रो हुन्छ । त्यसकारण यी रोग र यसको महामारी प्रति पनि सचेत रहन जरुरी देखिएकाले यी रोगहरु, त्यसका लक्षण र साथै बच्ने उपायको बारेमा यहाँ उल्लेख गर्ने प्रयत्न गरिएको छ ।
डेंगु (Dengue)
डेंगु एक भाईरसबाट लाग्ने रोग हो । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा एडिस (Aedes) जातको पोथी (female) लामखुट्टेको टोकाईबाट सर्दछ । केही अध्ययनहरुका अनुसार यो रोगबाट सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा रगत (blood) वा प्लाज्मा (plasma) को ट्रान्सफ्युजन (transfusion) बाट पनि सर्दछ । तर विश्वमा डेंगुुको महामारीको लागि लामखुट्टेको टोकाई नै प्रमुख कारकको रुपमा मानिँदै आएको छ । यो रोग लगाउने डेंगुु भाईरस फ्लेभिभाइरिडे (flaviviridae) फेमिली अन्तर्गत पर्ने RNA भाईरस हो । हालसम्म यसको पाँच (५) वटा सेरोटाईप पाईएपनि चार वटाले (१–४) मानिसमा संक्रमण गर्ने र डेंगुको पाँचौं सेरोटाईपले मानिसमा संक्रमण नगर्ने पाईएको छ । यो रोग फैलाउन मुख्य भुमिका खेल्ने एडिस (Aedes) जातको लामखुट्टेका दुई प्रजातिहरु (species) नेपालमा पाईन्छन् । एडिस एजिप्टि (Aedes aegypti) र एडिस इपिलिप्टिकस (aedes epilepticus) दुई प्रजातिहरु हुन् । शरीरमा बाघको शरीरको जस्तो धब्बाहरु (टाटा) हुनाले यसलाई टाईगर लामखुट्टे पनि भनिन्छ ।

यो लामखुट्टे विशेषगरी तराईको गर्मीमा पाईने भएतापनि प्रदुषण र जलवायु परिवर्तनको असरका कारणले गर्दा मध्य पहाडी भेग र पहाडी क्षेत्रमा पनि पाईन थालेको छ । जलबायु परिवर्तनका कारणले गर्दा यो लामखुट्टे चैत्र महिनाको शुरुदेखी नै देखा पर्न थालेको छ । यो मलेरिया लगाउने लामखुट्टे भन्दा केही फरक किसिमको हुन्छ र स्वभाव पनि फरक किसिमको हुन्छ । यसले सफा पानीमा प्रजनन गर्ने र विशेषगरी उज्यालो (दिउँसो वा साँझ) समयमा मानिसलाई टोक्ने गर्दछ । एउटै लामखुट्टेले एक दिनमा पाँच जना भन्दा बढी मानिसलाई टोक्न सक्दछ र धेरैमा सजिलै संक्रमण फैलाउने क्षमता राख्दछ ।
संक्रमित लामखुट्टेले मानिसलाई टोकेको दुई देखि चौध दिन भित्रमा रोगका लक्षणहरु शरीरमा देखा पर्दछन । शरीरको रोग प्रतिरोधात्मक क्षमता अनुसार यसको लक्षण साधारण देखि प्राणघातक सम्म हुन सक्छ । यसका केही लक्षणहरु यसप्रकार छन् ।
१. उच्च ज्वरो आउनु
२. अधिक टाउको दुख्नु
३. हाडजोर्नी र मांसपेशी दुख्नु
४. रगतमा प्लेटलेट्स (platelets) एकलाख भन्दा कम हुनु
५. वाकवाकी लाग्नु
६. थकान महसुस हुनु
७. आँखाको भित्री भाग दुख्नु
८. सेतो रक्तकोषको मात्रा घट्नु
९. शरीरका बिभिन्न भागमा राता डाबरहरु देखा पर्नु आदी ।
यो रोग मानव शरीरमा तीन वटा अवस्थामा देखिन सक्छः फेवराईल (febrile) अवस्था, क्रिटिकल (critical) अवस्था र रिकभरी (recovery) अवस्था । फेवराईल अवस्थामा माथि उल्लेखित लक्षणहरु देखापर्छन् भने क्रिटिकल अवस्थामा प्राणघातक सम्म हुन सक्छ । यसमा प्लेटलेट्सको सख्या पचास हजार भन्दा कम वा घटेर पाँच हजार सम्म हुन सक्छ । यस्तो हुँदा कलेजो खराब हुनुका साथै रक्तनलीमा भएको पानी र अन्य तरल पदार्थ बाहिर निस्कन गई फोक्सो र पेटमा पानी जम्ने र शरीरको भित्री भागमा रक्तश्राव भई मानिसको मृत्यु सम्म हुन सक्छ । यदि त्यस्तो अवस्थाबाट मानिस बाहिर निस्कन सकेमात्र शरीरले बिस्तारै आफैलाई ठिक गर्दै जान्छ र मानिस रिकभरी अवस्थामा पुग्छ ।
बाँच्ने उपाय
यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्न पर्छ । त्यसका लागि निम्न उपाय अबलम्बन गर्न सकिन्छ ।
१. घर वरिपरि पानी जम्न नदिने, पानी जमेको छ भने लामखुट्टेको अण्डा र लार्भा नष्ट गर्ने ।
२. लामखुट्टे सक्रिय हुने समयमा सावधान रहने ।
३. घर बाहिर निस्कँदा शरीर पुरै ढाक्ने लुगा लगाउने वा लामखुट्टे भगाउने औषधी लगाउने ।
४. पानी जम्ने कृत्तिम सामाग्री टायर, प्लाष्टिकका भाँडा, खाली डिब्बाहरुमा पानी जम्न नदिने ।
५. खानेपानी ट्याङ्की र अन्य पानी जम्मा गर्ने भाँडा खुल्ला नराख्ने, राम्ररी छोप्ने ।
६. फ्रिज लगायतका पानी जम्मा हुने उपकरणमा पानी जम्मा भएमा बेला बेलामा सफा गर्ने ।
७. मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घरोग भएका मानिसहरुलाई बढी जोखिम हुने भएकाले विशेष सतर्कता अपनाउने

स्क्रब टाईफस (Scrub Typhus)
डेंगु जस्तै स्क्रब टाईफस पनि एउटा किराको टोकाईबाट सर्ने प्राणघातक रोग हो । यो रोग ओरेन्सिया सुसुगामुसी (orientia tsutsugamushi) नाम गरेको ब्याकटेरियाले लगाउँछ । यो जिवाणु मानव शरीरमा एक प्रकारको किरा (माईट्स) को टोकाईबाट सर्छ । जब मानिसलाई जिवाणुबाट संक्रमित लेप्टोटोम्बियन डेलिसेन्स (laptotombion delicence) प्रजातिको किराको लार्भाले टोक्दछ, त्यसपछि यो जिवाणुले मानव शरीरमा प्रवेश गर्छ र रोगको विकास हुन्छ । यो किराको लार्भाले मात्र मानिस तथा अन्य साना तातो रगत (warm blood) भएका जनावरहरु जस्तै मुसा, खरायो आदिलाई टोक्ने गर्छ । यो जिवाणु किराको एक सन्ततिबाट अर्को सन्ततिमा सर्ने हुँदा लामो समयसम्म सक्रिय रहन्छ । यो लार्भा हेर्दा जुम्रा जस्तै देखिन्छ र यसका ६ वटा खुट्टा हुन्छन् भने पखेँटा हुँदैनन् । ओरेन्सिया सुसुगामुसी एउटा ग्राम नेगेटिभ ब्याक्टेरिया (gram negative bacteria) हो । यो रिकेटसिएसए (rickettsiaceae) फेमिली अन्तर्गत पर्छ । मानव शरीरमा प्रवेश गरेपश्चात यसले आफ्नो संख्या वृद्धि गर्न करिब दश दिन लगाउँछ । त्यसपछि यसको लक्षण मानिसको शरीरमा देखिन थाल्छ ।

किराले टोकेको भागमा (प्राय छाती र ढाडको तल्लो भाग) सानो दाग पनि देखिन्छ । तर यस ठाउँमा दुखाई नहुने हुनाले यो हाम्रो नजरमा आउँदैन । यो रोगको लक्षण सामान्य देखि जटिल सम्म हुन सक्छ । सामान्य अवस्थामा ज्वरो आउने, टाउको दुख्ने, सुख्खा खोकी लाग्ने आदि हुन्छ भने जटिल अवस्थामा अधिक ज्वरो आउने, रक्तचाप घट्ने, निमोनिया हुने र शरीरका अङ्गहरुले बिस्तारै काम गर्न छोड्ने सम्म हुन सक्छ । भिन्न मानिसमा भिन्न किसिमका लक्षण हुने र यसको लक्षण डेंगु जस्ता रोग सँग मिल्ने हुँदा यसको परिक्षण र पहिचानमा केही अप्ठ्यराहरु रहेका छन्। अस्पताल र प्रयोगशालाहरुमा यसको परिक्षण पिसिआर (PCR) विधिबाट गर्नु अत्यन्त भरपर्दो मानिन्छ । अन्य विधिहरु प्रयोग गर्न मिलेपनि बिरामीको रगतको नमुनाको पिसिआर गर्दा जति भरपर्दो परिक्षण अरु विधिलाई मानिएको छैन । यसको उपचारमा डक्सी साईक्लिन (doxycycline) र क्लोरोमफेनिकल (chloramphenicol) जस्ता औषधी प्रयोग गरिएको पाईन्छ । यो रोग लागेको बिरामीको मृत्यु दर ८.५% रहेको छ । उच्च मृत्युदर र खोपको अभाव अनि जटिल परिक्षण विधिका कारण यसलाई एउटा घातक रोगको संज्ञा दिन सकिन्छ । यो रोगबाट बच्न कुनै प्रत्यक्ष उपाय नभएपनि रोग सार्ने किराको टोकाईबाट बच्नु नै उचित्त उपाय हो । यो किरा विशेषगरी झारमा पाईने हुँदा झारपात भएको ठाउँमा गएर आएपछिको सरसफाईमा ध्यान दिने र यो किरा साना स्तनधारी (जस्तै मुसा, खरायो आदि) मा पाईने हुँदा तिनीहरुबाट दुरी कायम राख्नु नै रोग लाग्नुबाट बच्ने उचित उपाय हुन्छ ।
स्क्रब टाईफस र डेंगुको सह–संक्रमण (co-infection)
दुवै रोगहरुको क्षमताको बारेमा माथि उल्लेख गरिसकिएको छ । यी दुईवटै रोगहरुले एउटै समयमा एउटै शरीरमा संक्रमण गरे कस्तो नतिजा आउला भनेर अनुमान लगाउन सकिन्छ । अपेक्षित रुपमा यसले अझै भयावह परिणाम निम्त्याउन सक्छ । यस्तै एउटा केस (case ) नेपालमा केही समय अगाडि पाईएको हो । यो अवस्थालाई दुई रोगको सह–सङ्क्रमण भएको मानिन्छ । म्याग्दी जिल्लाका मङ्गल गाउँपालिकाको अर्मन सिकर्मकका एक युवकमा यो अवस्था देखा परेको छ । नेपालमा कम नै देखिएतापनि, यस्तो अवश्था विश्व स्वास्थ समुदाय भने अपरिचित छैन । यसमा सबैको ध्यान जानु अत्यन्त जरुरी छ । गर्मी मौसमको आगमनसँगै लामखुट्टे र अन्य किराहरुको सक्रियता बढ्ने हुनाले यस्ता रोग र रोगका अवस्थाहरुको महामारी फैलन सक्ने कुराहरु सहजै नकार्न मिल्दैन । विश्व अहिले कोरोना संक्रमण संग लडिरहेको छ भने हाम्रो देश पनि यसबाट अछुतो रहेको छैन ।

यस्तो अवस्थामा यस्ता रोगको महामारी फैलन गयो भने झनै विकराल अवस्था श्रृजना हुन सक्छ । स्रोत साधनको अभाव झेलिरहेको हाम्रो देशमा यसको महामारी फैलन गयो भने अवस्था भयावह हुन सक्छ । त्यसैले समयमै सबैको ध्यान यसतर्फ जानु जरुरी देखिन्छ । रोग नियन्त्रण र रोकथामको उपाय भनेकै सचेतना र सतर्कता हो । यसका साथै शङ्कास्पद बिरामीको रोग पहिचान र परिक्षण प्रकृयामा तीव्रता ल्याउनु पनि यो महामारी फैलन नदिने एउटा उपाय हो । सचेतनाका लागि सरकारी, गैर सरकारी संघ संस्थाहरु, स्थानीय निकाय, शिक्षित र बुद्धिजिवी वर्गले आ–आफ्नो ठाउँबाट उचित कदम चाल्न जरुरी छ । साथै तीव्रताका साथ परिक्षण विधि अपनाउन पनि जरुरी छ । यसका लागि नेपाल सरकार र अन्य स्वास्थ क्षेत्रसँग सम्बन्धित सरकारी, गैर सरकारी संघ संस्थाहरुले शीघ्रताका साथ उचित कदम चाल्न जरुरी देखिन्छ ।