अन्तर जातीय प्रेम , मृत्यु र राजनीति !
- १३ जेष्ठ २०७७, मंगलवार
- 2707 पटक पढिएको
दिनेशजंग कटुवाल
जेठ १३ ।
प्रेम र युद्ध एउटै हुन् । युद्ध आमुन्नेसामुन्ने भएर गरिन्छ तर प्रेम हृदयको कन्दाराबाट भित्र भित्रै हुन्छ । युद्धमा शरीर अङ्गभङ्ग र जिबनको समाप्ति हुन्छ । हुन सक्छ । त्यस्तै प्रेममा पनि निर्दिष्ट र देह नै त्याग हुने गर्छ । युद्धले समाज र मुलुक जलाउछ , रास्ट्र सक्छ । प्रेमले देह र परिवार जलाउछ ज्याननै लिन्छ । युद्ध र प्रेममा कस्तो शक्ति हुन्छ ? किन यी खतरनाक हुन्छन् । त्यही शक्तिले गर्दा होला योद्धाहरु हाँसीहाँसी ज्यानको बलिदान दिन्छन् भने प्रेमीहरु हाँसीहाँसी शूली चड्छन । त्यसैले होला युद्ध गर्न नजाने अस्तित्व सकिने र प्रेम गर्न नजाने जिबन सकिने ।
माथी उठाउन गरेको जस्तै प्रेम युद्धको लडाइमा मेरो निजि धारणा । बिश्व जगत कोरोना भाइरसको त्रासमा छ । लकडाउनमा छ तर त्यो प्रेमीलाई र उसका मदतदार लाई नत कोरोनाले छोयो नत लकडाउनले । तर पनि मृत्युु भयो । प्रेमिले आफ्नी प्रमिकाको लागि ज्यान गुमाए । सरकारले दिएको निर्देशन पालना गरेको भए पनि यो दुर्घटना हुने थिएन कि ? तर दुर्घटना भयो । घटना घट्यो ।
यदि त्यो प्रेम परिपक्व हुन्थ्यो भने ! प्रेमिहरु पाको हुन्थे भने यो प्रेम स्वयं भगवानले पनि छुटाउन सक्दैनथे होला ! तर त्यो प्रेम यौवनको आवेग र वैसको उन्मातमा बढेको थियो , दिनदिनै हुर्केको थियो । यदि यो प्रेम परिपक्व हुन्थ्यो भने यस्तो नराम्रो प्रयास हुने थिएन । प्रेममा हरेक थोक सहनु पर्छ । तर यहाँ सहन भएन , त्यसैले घटना घट्यो । उदेश्य जायज होला तर परिणाम खतरनाक आयो ।
कुरा हो रुकुम र जाजरकोटका प्रेम जोडीको । प्रेमिहरु दलित र गैरदलित समुदायका थिए । तर प्रेमले दलित र गैरदलितको जात देखेन । त्यही प्रेमलाई समाज र परिवारले तल्लो र उपल्लो जात देख्यो । त्यहा देखि सुरु भयो प्रेममा युद्ध । बिचरा ती साउथ इन्डियन लब इस्टोरी चलचित्र हेरेर हुर्केका त्यही सिको गरे । के थाहा तिनलाई चलचित्रको प्रेम र बास्तबिक प्रेम कति फरक हुन्छ अझ त्यही माथी अन्तर जातीय । उमेर पनि अपरिपक्व त्यही माथी हुर्किदो बैँस । प्रेममा त्याग हुन्छ , समर्पण हुन्छ , प्रतीक्षा हुन्छ त्यो भएन किनकी प्रेम र प्रेम गर्ने उमेर परिपक्व थिएन । अन्तर जातीय प्रेम सम्बन्धले गर्दा प्रेमीले प्रेमिकाको आफन्त शुभचिन्तकबाट एकपटक कुटाइ खाइसकेका रहेछन् । एकपटक यातना पाइसके पछि फेरि १८÷२० जना युवा लगेर जानुको उदेश्य के ? मैले माथी नै भनिसके त्यो प्रेम परिपक्व , पाको थिएन ।
त्यसरी समुह लगेर गए के के भयो कसरी युवाहरूको मृत्यु हुन पुग्यो त्यो अनुसन्धानले भन्ला तर ६÷७ जनाको ज्यान त गयो ।
हामी नियम कानुन भन्दा माथी छौँ । यदि मेरो परिवारले , मेरो जातले र मेरो पार्टीले गल्ती गर्छ भने मरिहत्ते गरेर बचाउ गर्छौं । बचाउन नसकेको अवस्थामा , दोषी न नठर्हयाएको अवस्थामा राजनीतिक मुद्दा बनाउछौँ , जातीय मुद्दा बनाउछौँ अनि सुरु गर्छौं राजनीति । हामिले पुर्वाग्रह नराखी कहिल्यै आफ्नो मत राख्दैनौँ । हामीले पार्टी र जाती हेर्छौँ । त्यसै अनुरुप वकिल र न्यायाधीश बन्छौँ । अन्यथा नलागोस जाती र पार्टी हेरेर धारणा बनाउछौँ । निश्पक्ष अनुसन्धान हुने बातावरण नै सिर्जना गर्दैनौं । पीडितले न्याय पाउन राजनीतिक ढोका घचघच्याउछ भने पिडकले पनि अन्याय भयो भनेर राजनीति दल खोज्छ ।
तर कसैको मृत्यु नाटक हुँदैन । मृत्युमा राजनितीकरन र जातीयकरन गर्नु गलत कार्या हो । नेपाल कानुनी राज्य हो । पक्षपात नगरी दोषीलाई कारबाही गर्ने बातावरण सिर्जना गरौँ । अन्यायमा परेकाले न्याय पाउन । संविधान र कानुन भन्दा माथी कोहि छैन । न्यायको तराजुले सहि तौल होस् । हामी आम नागरिक न्यायको पक्षमा छौँ ।