आत्मनिर्भरताको आधार : सिमसाग

  • ३ बैशाख २०७७, बुधबार
  • 4549 पटक पढिएको

Nasturtium officinale – अङ्ग्रेजीमा वाटरक्रेस (watercress) भनिने सिमसाग अत्यन्तै स्वादिलो, नरम र सागहरु मध्येको उत्कृष्ट सागका रूपमा मानिन्छ। उक्त साग स्थानीय मानिसहरुमा खोलेसागको नामले प्रसिद्ध छ। गाउँघरतिर बगिरहेको खोलाको छेउछाउमा उम्रने भएकोले यस सागलाई खोलेसाग भनिएको पनि हुन सक्छ। यस सागको उदगम स्थान भने युरोप र एसिया रहेको बिश्वास गरिन्छ। यसका विभिन्न किसिमका प्रजाती र अनेकौं जात रहेका छन् तर तिनीहरुको बनोट र स्वादमा भने निकै भिन्नता रहेको पाइन्छ।

यो साग सिताेषण हावापानीदेखि गर्मी हावापानीमा पनि हल्का रुपमा हुने गर्छ । यसलाई राम्रोसँग उम्रन र सप्रन शुद्ध,चिसो र सदाबहार बगिरहने पानीको आवश्यक रहन्छ तर आफ्नो घरमा सामान्य रुपमा खेती गर्नलाई पोखरी अथवा तलाउमा एक मुठा रोपे पुग्छ। पानीको सतहमा हुने हुँदा यसलाई रोप्न कुनै खास महिना चाहिन्छ भन्ने छैन तर पानी भने सदा आवश्यक पर्छ । यस सागको बनोटको बारेमा कुरा गर्दा यसको जरा पानीदार सेती रंगको हुन्छ भने मसिनो हरिया पात हरु हुन्छन् । जराहरु पानीभित्र हुन्छ भने पातहरु सतहमा तैरिन्छ्न। क्रुसिफेरिए( Cruciferae) फेमिली अन्तर्गत पर्ने उक्त सागलाई काचै, भुटेर, सलाद्को रुपमा, पकाएर,सुकाएर अथवा सुप बनाएर समेत पिउन सकिन्छ ।

लगभग ८०% भन्दा बढी पानी हुने उक्त सागमा भिटामिन सि को मात्रा प्रशस्त हुने हुँदा यसले स्वास्थ्यमा पनि सकारात्मक फाइदा पुर्याउछ। खोलाको छेउछाउमा हुने, मलजल गर्न नपर्ने, व्यवस्थापन गर्न धेरै समय खर्चिन नपर्ने र यसलाई सजिलोसँग टिपेर खान सकिने हुँदा यसको सागको महत्व दिनहुुँ बढ्दै छ । पहिले गाउँघरमा सागलाई जुठाे मानेर उच्चवर्गका मानिसहरुले खान हुदैन भन्ने विस्वास गरिन्थ्यो । खोलामा फोहोरको दलदलमा उम्रने हुँदा कोहिपनि यसको उपयोग गर्दैनथे। निम्न बर्गका मनिसहरुले भने राम्रोसँग पखालेर खाने गर्थे तर अहिले बर्तमान स्थितिमा बिस्तारै यस क्षेत्रमा परिबर्तन आएको छ ।

यसको बारेमा राम्रोसँग बुझेकाहरु सबैले आ- आफ्नो करेसाबारीका गह्रामा लगाउन थालेका छ्न। नेपालमा खासै लामो इतिहास नबोकेको सिमसाग मुख्यगरी अहिलेको समयमा उच्च बर्गका मानिसमा यो साग बढी लोकप्रिय बन्दै गएको छ । घर बगैंचामा पाइने जिनस Nasturtium tropaeolum अन्तर्गत पर्ने साग, सिमसागसंग मिल्न गएपनी खानको लागि उपयुक्त भने मानिदैन। विभिन्न तथ्याङ्क अनुसार मानिसहरुले पोखरीमा अथवा तलाउमा रोप्न भन्दा सधैं बगिरहने खोलाको छेउमा सिमसाग निकै सप्रने गरेको पाइएको छ। सिमसागलाइ एकचोटि खानको लागी टिप्दा सकिने भन्ने हुँदैन,जति टिपिन्छ उति कलिलो मुनाहरु पलाउने क्रम बढ्ने हुँदा यसलाई बारम्बार टिपेर खान सकिन्छ।

अलिअलि पिरो स्वाद आउने अनौठाे किसिमको सागको अहिलेको समयमा निकै माग बढेको छ। सिमसागको व्यबसाय गर्ने कृषकको कमि हुने र माग बढी हुँदा, बजारका तरकारी पसलमा पुर्याउन नपाउदै बिक्री हुन्छन् । उक्त सागमा माग बराबरको आपूर्ति नहुनु पनि सम्भावनाको अर्को दरिलो पक्ष हो । फोहोरी खोलामा उम्रने, उचित व्यवस्थापन नगरिएको कारण अपहेलित बन्दै गरेको साग अहिले भने यसले स्वास्थमा पार्ने सकारात्मक प्रभाव र स्वादका कारण अधिकांस मनिसको रोजाइमा पर्न सफल भएको छ । “नजिकैको तिर्थ हेलाँ ” भनेझैं घरवरिपरिका खोलामा उम्रेको सिमसागलाइ नहेरी अन्य सागकोपछि दौडने मानिसहरुले अहिले आफ्नै घरवरिपरि पोखरी, तलाउ बनाइ त्यसमा सिमसागको खेती गरेको देख्नु, कृषि क्षेत्रमा भएको अर्को उपलब्धि हो ।

गाउँका घरघरमा समेत यसको माग बढ्न थालेपछि विभिन्न आमा समूहहरु सिमसागको खेतीप्रती निकै आकर्षक बन्दै गएका छ्न। प्रती मुठा रु-५० देखि ६० सम्मका दरले बेच्दै आएका आमासमुहले सानो गह्रामा परिक्षणका लागि गरिएको सिमसाग खेतीमा न्युनतम १९०-२०० वटा जति मुठा बेचेर मासिक रुपमा करिब १०,००० सम्मको आम्दानी गर्दै आएको सिर्जनशिल आमासमुहको अध्यक्षले बताउनु भएको छ। “हातका मैला सुनका थैला के गर्नु धनले साग र सिस्नु खाएको बेस आनन्दी मनले”- उक्त पङ्तिमा महाकवि लक्ष्मी प्रसाद देबकोटाले भनेझैँ साग, सिस्नु जे छ आफ्नो ठाउँमा खादा हुने आनन्दको अनुभव नै अलग हुने गर्छ। त्यसैले आफ्नै घरआगनमा,आफ्नै नदीनाला, बनजङ्गलमा भएका यस्ता सम्भावनालाई बजारका गल्लीगल्लीसम्म पुर्याउनु अहिलेको ठुलो आवश्यकता बनेको छ ।

                                         नर्सरी व्यवस्थापन:

एउटा जराबाट धेरै मुना पलाउदै गएर गाँज हुने हुँदा एउटा गह्रामा आली बनाएर पानीको राम्रोसँग व्यवस्थापन मिलाइ जरा सहितको स-साना बिरुवा करिब १५ से.मिको दुरीमा रोपी यसको नर्सरी त तयार पार्न सकिन्छ । पछि गएर साना बिरुवाका रुपमा गह्राभरि हुन्छन् जसलाई पछि खेती गर्ने ठाउँमा सार्न सकिन्छ ।

                                सिमसागका मुख्य फाइदाहरु :

. यस सिमसागमा मुख्यगरी भिटामिन के, भिटामिन सि जस्ता पोषक तत्वले भरिपुर्ण हुन्छ।

. यसमा रहेको मिनिरर्ल्स र भिटामिन के ले हाम्रो शरिरको हाड र मांसपेशीलाई बलियो बनाउछ र जुस बनाएर पिउनाले अथवा कपालको जरामा लगाउनाले कपाल राम्रो हुनुका साथसाथै बाक्लो समेत हुन्छ।

३.एन्टीअक्सिडेन्टको मात्रा उच्च भएको हुँदा यसले शरिरमा रहेका सेलको विनाश हुन नदिन र टुक्रिनबाट बचाउनका साथसाथै रक्तअल्पता र पित्तथैलीसंग सम्बन्धित समस्याबाट पनि छुटकारा दिन्छ।

४.यसमा आइसोथायोसाइनेट(isothiocyanates) कम्पाउन्ड हुने हुँदा क्यान्सरजस्तो कडा रोगलाई पनि राहत दिनुका साथसाथै अनुहारमा रहेका दाग,धब्बा ,डन्डीफोर र चायापोतोलाइ समेत टाढा राख्छ।

५. यस सिमसागमा जिन्क को मात्रा बढी हुने हुँदा कपाल झर्ने, टुक्रिने समस्याबाट पनि छुटकारा दिने र मुटु सम्बन्धि समस्याहरु बाट पनि राहत दिन्छ।

६. यसले Maigraine जस्तो गम्भीर खालको समस्यालाई पनि नियन्त्रण गर्नुका साथै निन्द्रा नलाग्ने, सास फेर्न गार्हो हुने र मानसिक तनाव जस्ता समस्याबाट पनि छुटकारा दिन्छ।

७.अन्य पोषक तत्व जस्तै भिटामिन इ, थाइमाइन, राइबोफ्लाभिन, भिटामिन बि सिक्स, फोलेट, प्यान्टाेथेनिक एसिड,फोस्फोरस, पोटासियम, सोडियम र कप्पर प्रशस्त मात्रामा पाइन्छ। विभिन्न अध्ययन अनुसार ३४ ग्राम.स्वास्थबर्धक सिमसागमा: क्यालोरी- ४ ग्राम कार्बोहाइडेट-०.४ ग्राम, प्रोटिन-०.८ ग्राम, फ्याट- ० ग्राम, फाइबर-०.२ ग्राम, भिटामिन ए -२२% ओफ RDI(reference daily intake) भिटामिन सि -२४% ओफ RDI, भिटामिन के – १०६% ओफ RDI, क्याल्सियम- ४% ओफ RDI पाइन्छ भन्ने पुष्ठि भएको छ।  यसरी १८०० तिर बेलायत बाट सुरुवात भएको सिमसागलाइ सुरुवातमा झार भनेर नस्ट गर्ने चलन भएपनि समयसंगैको अध्ययनले यसलाइ पोषक तत्वको भन्डारका रुपमा स्थापित गरेको हुँदा कृषकहरु यसको खेती गर्न सल्बलाएका छ्न।

                                         खाने तरिका : –

-सागका स-साना मुनाहरु टिपेर सफा पानीले राम्रोसँग पखालेपछी मसिनो टुक्राटुक्रामा काट्ने र थप स्वादका लागी आलुलाई पनि स-साना टुक्रामा काटेर मिसाउन सकिन्छ।

– लसुन/खुर्सानी आफ्नो स्वादअनुसार राखेपछि, प्यानमा तेल राखि, प्याज लसुन/खुर्सानी हालेर साग र आलुलाई फ्राइ गर्न सकिन्छ।अनि आवश्यकता अनुसार नुन राख्नपर्छ।

– फ्राइ खान मन नहुनेहरुले सलाद/ जुस तयार गरि खाली पेटमा खान सकिन्छ।

धेरै पहिला नै उत्पत्ती भएको भएपनि अहिलेसम्म यसको पुर्ण रुपमा व्यबसायिक हिसाबले यसको बिस्तार हुन भने सकेको थिएन। तरपनी केही मानिसहरु बिदेश गएर सोचेजस्तो आम्दानी नभएपछि आफ्नै स्वदेशमा फर्केर कृषिलाई प्राथमिकता दिदै खोलेसागको व्यबसाय गरेर मनग्य धनआर्जन गर्न थालेका छ्न । आफ्नो जग्गा जमिन हुँदाहुँदै पनि शहरको आरामदायी बसाइ खोज्ने प्रबृत्तिले थुप्रै खेतीयोग्य जमिनको सदुपयोग हुन नपाउदा, ती जमिन बाझा र पाखामा परिणत भइरहेका छ्न। पैसा कमाउन र बजारमा घर ठडाउन विदेसिनु नै पर्छ भन्ने सोचलाई अब पूर्णविराम दिन अत्यावश्यक छ । अरुको मुलुकमा खर्चिने समय,मिहिनेत र पसिना आफ्नो देशमा खर्चिनसके, नेपालीको जिबनस्तर पनि सुध्रिने मौका मिल्ने थियो र देशले कांचुली फेर्न धेरै समय प्रतीक्षा पनि गर्न पर्ने थिएन । हामी नेपालीका लागि रोजगारको अवसर बन्दै गएको सिमसाग खेतीलाई व्यबसायिकता दिन सके बिदेशी मुद्रा आर्जन गरि र हाम्रै वरिपरि रहेका सम्भावनाका ढाेका खोल्न सकिन्छ ।

हाम्रो देश नेपालमा पर्यटन विकासको सम्भावना भएका विश्वका कैयौं देश मध्ये उच्च स्थानमा आउँछ । प्रक्रुतीको सुनौलो वरदान पाएको नेपालमा भएका सम्भावनालाई समेटेर सकेजती लगानी गर्नसके पर्यटकहरुको समेत ओइरो लाग्ने पक्षमा दुईमत छैन । यतिबेला सक्दो समय, सिमसाग खेतीमा खर्चिने हो भने सिमसाग अर्थ उपार्जनको गतिलो माध्यमका रुपमा उभिन सक्छ । यसरी आफ्नो घरछेउ नै यत्रतत्र उम्रने सागलाइ व्यबस्थित ढंगबाट लान नसकी यसबाट जतिसक्दो फाइदा लिन नसक्नु हाम्रो ठुलो कमजोरी ठहर हुन सक्छ। अबको पालोमा जति खायो खाउखाउ लाग्ने गुणस्तरिय सिमसागलाई चोकचोकसम्म पुर्याउनु हाम्रो कर्तब्य हो । निकै छोटाे समयमा प्रिय र उत्साहजनक बन्दै गएको सागखेतिप्रती सम्बन्धित निकायले पनि आवश्यक चासो दिन जरुरी देखिन्छ । त्यसैले यस क्षेत्रमा विकास गर्न यस खेतीका लागी लाग्ने लागत, निति, निस्चित योजनाका साथै यसका अवधारणालाई विकास गर्नु पहिलो प्राथमिकताको बिषय हो ।

कृषिप्रति घट्दो आकर्षण , खेतीयोग्य जमिनको हा्स बढ्दो परनिर्भरता र कर्मशिल युवाको बिदेश पलायन भइरहेको बेला अबको समयमा कृषिलाई कसरी अगाडी बढाउने र कृषितर्फ कसरी आकर्षण गर्ने भन्ने कुरा मुख्य चासोको विषय बनेको छ । अतिबृष्टि, अनाबृष्टि, बालीको रोग र किराको प्रकोप, बाढीपहिरो, खडेरी जस्ता समस्याले एकातिर कृषि उत्पादन घटाइरहेको छ भने अर्कोतिर मनिसहरुलाइ अन्य उत्पादन र आयआर्जनको बिकल्पबारे सोच्न बाध्य बनायको छ । यसै क्रममा सिमसाग खेती तर्फ आकर्षण बढाइ यसको व्यवसायमा विस्तार गरि आम्दानीको श्रोतलाई बढाउनु हाम्रो कर्तब्य हो । त्यसैले कर्मठ युवाहरु बिदेसिदा यसको प्रत्यक्ष असर कृषिमा परिरहेको छ। त्यसैले युवाहरूलाई स्वदेशमा फर्काउने र आकर्षण प्रतिफल दिने रोजगारिको ज्वलन्त उदाहरण हो – सिमसाग । यसैक्रममा कृषिको आयातलाई घटाउन अथवा प्रतिस्थापन गर्न सिमसाग खेतीले ठुलो भुमिका निर्वाह गर्न सक्छ।

सुधा भण्डारी ,

त्रिभुवन विश्वविद्यालय ,

कृषि र पशु बिज्ञान अध्ययन संस्थान,

रामपुर क्याम्पस , चितवन