मोनाको महाधिवेशनको तयारी तिब्र

  • ७ आश्विन २०७६, मंगलवार
  • 2020 पटक पढिएको

 

बेनी, ७ असोज । असोज १४ देखि १६ गतेसम्म म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा हुन लागेको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन तथा पाँचौ साधारणसभाको तयारी तिब्र बनाइएको छ । विभिन्न उपसमिति गठन गरेर महाधिवेशनको तयारीलाई तिब्रताका साथ अघि बढाइएको मोनाले जनाएको छ । अतिथिहरुलाई पत्राचार, प्रचारप्रसार, घोडेपानीमा व्यवस्थापन लगायतका तयारीलाई तिब्र रुपमा अघि बढाएको मोनाका महासचिव मिम पुर्जाले बताउनुभयो ।

मोनाका पदाधीकारीहरु बेनीमा आएर अधिवेशनको तयारीमा जुटेका छन् । विभिन्न देशबाट महाधिवेशनमा सहभागि हुन प्रतिनिधिहरु आउने क्रम सुरु भएको छ । प्रवासी म्याग्देलीहरुलाई आफ्नो जिल्लाको पर्यटकीय स्थल चिनाउनुका साथै ग्रामिण पर्यटन प्रर्वद्धनमा सघाउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीमा महाधिवेशनको आयोजना गरिएको मोनाका अध्यक्ष चक्र थापाले जानकारी दिनुभयो ।बेनीमा रहेको सचिवालय मार्फत समन्वय र तयारी गरिरहेको उहाँले बताउनुभयो । पहिलो अधिवेशन र दोस्रो साधारणसभा बेनीमा भएको थियो । दोस्रो अधिवेशन दरवाङ, चौथो साधारणसभा पोर्चुगलमा भएको थियो । मोनाले फरक फरक ठाउँमा साधारणसभा र अधिवेशन गर्ने नीति लिएको छ ।

महाधिवेशनको व्यवस्थापन संयोजक जंगबहादुर पुनले घोडेपानीबासीहरु प्रवासी पाहुनाको स्वागतका लागि तयारीमा जुटेका बताउनुभयो । स्थानीयबासीसँग समन्वय गरेर तयारी तिब्र बनाइएको बताउनुभयो । गाउँपालिकाले महाधिवेशन स्थलमा दिर्घकालिन प्रयोग हुने गरि पूर्वाधार निर्माण गरिरहेको छ । अधिवेशनको अवसरमा घोडेपानीमा दन्त शिविर सञ्चालन गर्न मंगलबार बेनी अस्पताल व्यवथापन, चिकित्सक र स्वास्थ्यकर्मीहरुसँग छलफल गरिएको छ । यसअघि अधिवेशनको सुरक्षा तयारीका विषयमा जिल्ला प्रशासन कार्यालयमा सुरक्षा अधिकारीहरुसँग छलफल भएको थियो ।
अधिवेशनको अवसरमा बेनीमा वडा स्तरीय पुरुष, महिला भलिबल प्रतियोगिता समेत आयोजना गरिएको छ । बेनीमा सुरु हुने प्रतियोगिताको फाइनल घोेडेपानीमा गरिने संयोजक तजेन्द्र बानियाले जानकारी दिनुभयो ।

यसैगरी बेनी नगरपालिका, मोना र म्याग्दी उद्योग वाणिज्य संघको त्रिपक्षीय साझेदारीमा निर्माण भएको मोना–बेनी–लभ्लिहिल पदमार्गको उद्घाटन र लम्भिहिलको दिर्घकालिन पर्यटन विकासका सम्बन्धमा उद्योग वाणिज्य संघ, मोना र बेनी नगरपालिकाका जनप्रतिनिधिहरुबीच छलफल गरिएको छ । महाधिवेशनको अवसरमा वडा स्तरीय भलिबल, कलाकारहरुद्धार गित तथा नृत्य प्रस्तुत, निशूल्क दन्त शिविर, सम्बृद्ध म्याग्दीको लागि सामुहिक लगानी भित्र्याउने सम्बन्धमा बृहत छलफल समेत गरिने भएको छ ।

आगामी दुई वर्षे कार्यकालको लागि मोनाको नयाँ नेतृत्व समेत चयन हुनेछ । मोना विश्वभर छरिएर रहेका म्याग्देलीहरुको साझा संस्था हो । पछिल्लो कार्यसमितिको पहलमा विश्वका २० वटा देशमा मोनाको कार्यसमिति विस्तार भएको छ ।यसैगरी समस्यामा परेका महिला तथा बालबालिकाको सहयोगका लागि कोष स्थापना भएको छ । विद्युतीय पुस्तकालय अभियान सञ्चालन गरेको छ । प्रवासी म्याग्देलीहरुको अगुवाइमा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजना निर्माण सुरु भएको छ ।

अन्य आयोजनामा पनि प्रवासी र गैरआवासीय नेपालीहरुको लगानी भित्र्याउन पहल गरिएको मोनाका पदाधीकारीहरुले बताएका छन् । प्रवासमा समस्यामा परेका म्याग्देलीहरुलाई मोनाको समन्वयमा सहयोग गरिएको छ ।प्रवासी म्याग्देलीहरुले मोना मार्फत म्याग्दीको शिक्षा, स्वास्थ्य र सामाजिक तथा परोपकारी क्षेत्रमा सहयोग गर्दै आएका छन् । प्रवासीहरुले म्याग्दीको विकास गतिबिधिमा पनि महत्वपूर्ण योगदान गरेका छन् ।