दरबाङ्गमा बृहत साँस्कृतिक कार्यक्रम

  • ४ पुष २०७३, सोमबार
  • 2467 पटक पढिएको

म्याग्दीको पश्चिम क्षेत्र दरबाङ्गमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । पश्चिम म्याग्दीको कला र संस्कृति समेटेर तयार पारिएको म्युजिक भिडियो विमोचन तथा बृत्तचित्र(डकुमेन्ट्री) प्रदर्शनीका साथै बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
दरबाङ्ग गाविसको वडा नम्बर ५ र ६ दुखु गाउँले तयार गरेको “दरबाङ्ग दुखु गाउँ, स्वर्ग जस्तै ठाउँ” बोलको म्युजिक भिडियो र गाउँकै बारे तयार गरिएको डकुमेन्ट्री विमोचन, प्रदर्शनी तथा बृहत साँस्कृतिक कार्यक्रमको भव्यताका साथ सम्पन्न भएको भिडियो तथा डकुमेन्ट्री निर्माण संयोजक तेजिन्द्र पुनले बताए । दुखुमा रहेको न्यू मालिका युवा क्लवको आयोजनामा भएको उक्त कार्यक्रमको दुखुका युवा श्रीप्रसाद रोकाले उद्घाटन गरेका थिए । राष्ट्रिय कलाकार रजनी राई, अम्वीका पुन, गगन पुन, पदम विश्वकर्मा लगायत राष्ट्रीय तथा स्थानीय कलाकारहरुले कार्यक्रममा प्रस्तुती राखेका थिए । त्यसैगरि विविध साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।
पश्चिम म्याग्दीको कला र संस्कृतिको संरक्षण तथा प्रचार प्रसार गर्ने उद्देश्यले म्युजिक भिडियो तथा डकुमेन्ट्री निर्माण गरिएको निर्माण संयोजक पुनले बताए । करिव ४ लाखको लगानीमा ५ मिनेटको म्युजिक भिडियो र ४० मिनेटको डकुमेन्ट्री निर्माण गरिएको छ । मालिका धुरी, विश्वमै चर्चित भाले वास्ने ताल, दरबाङ्ग, दुखु, फेदी लगायतको स्थानमा म्युजिक भिडियोको छायाङ्कन गरिएको छ । “मौलिक र ग्रामीण संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नका लागि हामीले यो म्युजिक भिडियो बनाएका हा”ै, संयोजक पुनले भने–“म्युजिक भिडियो र डकुमेन्ट्रीमा पश्चिम म्याग्दीको कला र सँस्कृति झल्किने गरि बनाएका छौ ।”
गाउँ ठाउँको प्रचार प्रसार गर्नु, गाउँलाई बाहिर चिनाउनु विशेष गरि युवाहरुको दायित्व भएकाले आफूहरु लागि परेको भिडियो निर्माणमा समन्वयकर्ताको भूमिका निर्वाह गरेका डिके पुनको भनाई छ । उनले भने–“अहिले सबै ठाउँको प्रचार प्रसार गर्ने, सम्भावित पर्यटकीय ठाउँहरुलाई बाहिर ल्याउने क्रम जताततै चलेको छ । त्यसैले हामीले पनि आफ्नो गाउँ ठाउँलाई गीत संगीतको माध्यमबाट बाहिर ल्याउनका लागि यो म्युजिक भिडियो र डकुमेन्ट्री निर्माण गरेका हौ ।”
दुखु र समग्र पश्चिम म्याग्दीको प्रचार प्रसारका लागि तयार गरिएको उक्त गीतमा आवाज चर्चित गायिका रजनी राईले दिएकी छिन् भने उनलाई अम्बीका पुनले साथ दिएकी छिन् । त्यसैगरी गीतमा शब्द जय पुनको रहेको छ भने संगीत एलवी पुनले भरेका छन् । आशिष पुनले निर्देशन गरेको म्युजिक भिडियोमा शर्मिला पुनले अभिनय गरेकी छिन् । सन्तोष पिठाकोटेले खिचेको भिडिायोको सम्पादन छवि रानाले गरेका छन् ।
कार्यक्रमको अवसरमा म्युजिक भिडियो तथा बृत्तचित्र निर्माणका लागि आर्थिक सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मानपत्रद्वारा सम्मान समेत गरिएको थियो । संयोजक तेजिन्द्र पुनको अध्यक्षता, अमित विश्वकर्माको सञ्चालन र ओम रोकाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।