मौलिक संस्कृति ‘राधाकृष्ण नाच’ संरक्षणमा जुटे ताकमबासी (तस्बिर/भिडियाे)

  • ७ जेष्ठ २०८२, मंगलवार
  • कमल खत्री
  • 59 पटक पढिएको

म्याग्दी, ६ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकम गाउँको मौलिक संस्कृतिको रुपमा रहेको ‘राधाकृष्ण नाच’ संरक्षणमा स्थानीय सक्रिय भएका छन् । आँखै अगाडी ठोक्किन आउने हिमालको काखमा समथर फाँटमा अवस्थित ताकम गाउँमा मानव बस्ती बसेदेखि नै राधाकृष्ण नाच देखाउन थालीएको इतिहास छ । भजन कृर्तनको साथमा अभिनय सहितको नृत्य रहने राधाकृष्ण नाचको संरक्षण गर्न स्थानीयले ताकम धार्मिक नाट्य समूह नै गठन गरेर अघि बढेका छन् ।

 

समूहले लोप हुन लागेको राधाकृष्ण नाचको कलालाई नयाँ पुस्तालाई हस्तान्तरण गर्ने गरेका स्थानीय कलाकार ऋषिराम सुवेदीले बताउनुभयो । ‘‘ यो नाच यस क्षेत्रको करिब २ सय बर्ष पुरानो साँस्कृतिक चिनारी मानिन्, हरेक बर्षको हरितालिका तीजमा अनिवार्य रुपमा ताकम गाउँमा उत्सवको रुपमा राधाकृष्ण नाचलाई देखाउने चलन छ, अहिले अन्य पर्व र उत्सवहरुमा समेत यो नाच देखाउन थालिएको छ’’– उहाँले भन्नुभयो ।

राधाकृष्ण नाचका लागि समूहले भजन कृर्तन भाकामा गीतको रचना समेत गरेका छन् । यो नाचमा हिन्दुधर्मवलम्बिहरुको भगवान शिव, पार्वती र राधा कृष्णको माया प्रेम सहितको नाचगान र भगवान गणेश र खलपात्र जोक्करको भूमिकालाई नृत्य र अभिनयबाट प्रस्तुत गरिन्छ । राधाकृष्ण नाचमा परापूर्वकालमा देवीदेवता र भगवानको माया प्रेम, जीवन दर्शनलाइ भजन कृर्तनका भाका मार्फत व्यक्त गरेर अभिनय सहितको नृत्य आकर्षक र मनोरञ्जनात्मक हुने गर्छ ।


पुर्खाहरुबाट पुस्तान्तरण हुँदै आएका यो नाचलाई संरक्षण गर्नका लागि नयाँ पुस्तालाई समेत सहभागी गराउन थालिएको ताकम धार्मिक नाट्य समूहका सचिब नेत्र सुवेदीले बताउनुभयो । उहाँका अनुसार, पछिल्लो समय विभिन्न उत्सव, समारोह र सार्वजनिक कार्यक्रमहरुमा समेत राधाकृष्ण नाच देखाउन थालिएको छ । हालै धवलागिरी गाउँपालिकाले आयोजना गरेको पुख्र्यौली नाच प्रतियोगितामा समेत राधाकृष्ण नाच धेरैको रोजाई बनेको थियो ।


गाउँपालिकाले पुख्र्यौली संस्कृतिको संरक्षणमा देखाएको सक्रियताले नयाँ पुस्तालाई संस्कृतिको पुस्तान्तरण संगै साँस्कृतिक पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्ने नाट्य समूहका सचिब सुवेदीले बताउनुभयो । राधाकृष्ण नाचमा सबै कलाकार पुरुष हुन्छन् । पार्वती र राधाको भूमिका पनि पुरुष कलाकारले निभाउँछन् । ताकम गाउँको साँस्कृतिक पहिचान र चिनारीको रुपमा रहेको यस राधाकृष्ण नाचको कला र सिप हस्तान्तरण गरेर संरक्षण गर्न स्थानीय अग्रसर बनेका छन् ।
अहिले ताकम गाउँमा मात्रै नभएर धवलागिरी गाउँपालिकाका र जिल्ला सदरमुकाम बेनीमा हुने सभा, सभारोह, उत्सव मेला महोत्सवमा समेत प्रर्दशन हुन थालेको छ । धौलागिरि पदमार्गको पर्यटकीय गाउँको रुपमा चिनिएको ताकमको राधाकृष्ण नाच पर्यटन प्रवद्र्धनको माध्ययम बन्ने अपेक्षा गरिएको छ ।     

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l