आश्रयस्थलबाट रुँदै बिदाइ

  • १० बैशाख २०७४, आईतवार
  • 3593 पटक पढिएको

काठमाडौं, ९ बैशाख । सशस्त्र द्वन्द्वकालमा तत्कालीन माओवादीले उदिपुरमा थापेको विद्युतीय धरापमा स्थानीय गोपाल परियारको मृत्यु हुँदा छोरी निशा २ वर्ष र मनीषा ६ महिनाकी थिइन्।

मध्यमस्र्याङदी जलविद्युत् परियोजनाका मजदुर परियारको मृत्युपछि पत्नी पूजा त्यसको १ वर्षपछिदेखि सम्पर्कमा छैनन्। एक दशकसम्म रातदिन सँगै बसेका दिदीबहिनीको आँखा गत सोमबार बिहान एकाएक रसाए। छुट्टिँदा उनीहरू रोए। जबकि, आफ्नो बाबुको मृत्यु घटनामा संलग्नविरुद्ध गत वर्षको जेठमा स्थानीय शान्ति समितिको कार्यालयमा उजुरी दिँदासमेत उनीहरू मुस्कुराइरहेका थिए। १६ वर्षीया निशा र १४ वर्षीया मनीषा सँगै खाना खाएर छुट्टिँदा बेंसीसहरको महिला तथा बालविकास केन्द्रमा आश्रित बालबालिका र पदाधिकारीका आँखा पनि रसाए। केन्द्रले निशालाई उनकी सानीआमा (आमाकी बहिनी) निरु परियारको जिम्मा लगाए। उनले यसपटक एसईई परीक्षासमेत दिएकी छन्। मनीषा भर्खर ९ कक्षामा उत्तीर्ण भएकाले केन्द्रकै आश्रयमा राखिएको छ।

द्वन्द्वकालमा गाउँकै व्यक्तिद्वारा भीमबहादुर गुरुङको हत्या (पत्नीको आरोप) पछि कोल्की तस्योकी बुद्धिमाया गुरुङले सबैतिर हारगुहार गर्दा पनि न्याय पाउन सकिनन्। विक्षिप्त बनेकी दुई सन्तानकी आमा बुद्धिमाया दोस्रो विवाह गरी पाचोक गइन्। उनले छोरा पृथ्वीजंग र छोरी मसिनु बेंसीसहरमा रहेको जानकारी विवाहको ५/६ वर्षपछि मात्रै पाइन्। छोराछोरी लैजान केन्द्रमा आएकी बुद्धिमायाले छोरीलाई सुम्सुम्याउँदै आँसु खसालिन्।

‘निवेदन दिए पनि पुलिस गएन। जति गरे पनि यिनको बुबा (भीमबहादुर) को हत्या गर्नेलाई कारबाही गराउन सकिएन। अहिले पनि यतै छ भन्ने सुन्छु। त्यसपछि अन्तै जानु मेरो बाध्यता भयो,’ गहभरिको आँसु पुछदै बुद्धिमायाले भनिन्, ‘९/९ महिना गर्भमा बोकेर ३/४ वर्ष काखमै हुर्काएको बच्चा हो। अब आफ्नै घर लान्छु।’ उनले छोराछोरीलाई पाचोकमै लगेका छन्। ‘अहिलेसम्म हुर्कायो, बढायो, पढायो, यो गुन तिर्नु त कसरी सक्छु र,’ छोराछोरीको हात समाउँदै उनले भनिन्।

बाबुआमा दुवैको मृत्युपछि केन्द्रले आश्रय दिँदै आएका मालिङ सैलुङका १७ वर्षीय सफल ठाडामगर सोमबार उनका कान्छा हजुरबा कुमानसिंहसँगै भोर्लेटारस्थित घर गए। ०६१ को वैशाखदेखि केन्द्रले आश्रय दिएका सफलले पनि यसपटक एसईई दिएका छन्।

केन्द्रकी सचिव हुमा गुरुङका अनुसार पालनपोषणसहित एसईईसम्म पढाउने र त्यसपछि नजिकका आफन्तको जिम्मा लगाउने संस्थाको नियमअनुसार ४ बालबालिकालाई नजिकको आफन्तलाई जिम्मा लगाएको हो । उनका अनुसार तत्कालीन माओवादीले उदिपुरमा थापेको एम्बुसमा परी ०६० असोज १४ को साँझ निशा र मनीषाका बाबु गोपालको मृत्यु भएको र आर्थिक स्थिति कमजोर हुँदा गाविसको सिफारिसमा दिदीबहिनीलाई आश्रय दिइएको थियो। पृथ्वीजंग र मसिनुका बाबु भीमबहादुरको ०५९ कात्तिक २ मा अज्ञात व्यक्तिले हत्या गरेको र पछि आमा बेपत्ता भएको पत्रपछि दाजुबहिनीलाई १३ वर्षदेखि आश्रय दिँदै आएको सचिव गुरुङले बताइन्।

आमा बुद्धिमाया पछि सम्पर्कमा आएको उनको भनाइ छ। बाबु झिल्के ठाडामगर र आमा देवी दुवैको मृत्युपछि दुई छोरा टुहुरो भएको भन्दै कान्छा हजुरबा कुमानसिंहको आग्रह र गाविसको पत्रअनुसार सफललाई केन्द्रले आश्रय दिएको थियो। ‘सानो २ वर्षको थियो। ठूलो (सफल) ४ वर्षको थियो। सानोलाई आफैं पाल्ने र ठूलोलाई यहाँ (बाल विकास केन्द्र) मा राखें,’ उनले भने, ‘अब घरमै लगेर राख्छु, जति पढ्छ, उसको खुसी।’

केन्द्रकी अध्यक्ष सानुमाया गुरुङका अनुसार ४ बालबालिकालाई बिदाइ गरेपछि अब १३ बालबालिकाले आश्रय लिइरहेका छन्। सुरुमा द्वन्द्वपीडित तथा असहाय बालगृह नामबाट सञ्चालन हुँदै आएकोमा पछिल्लो समय उक्त संस्था आदर्श महिला तथा बालविकास केन्द्रका नामबाट सञ्चालित छ। आश्रित बालबालिकालाई पढ्ने, खानेबस्ने व्यवस्था केन्द्रले मिलाइएको छ। ‘कसैसँग मागेर हुन्छ कि, के गरेर हुन्छ, नानीबाबुहरूलाई पालनपोषण गर्दै आएका छौं,’ उनले भनिन्। सहायक प्रजिअ कृष्णप्रसाद पौडेलले बालबालिकालाई जन्माउनु मात्रै ठूलो नभई हुर्काउनु, बढाउनु र पढाउनु ठूलो कुरा भएको बताए।

-स्रोत : कान्तिपुर