रास्वपा म्याग्दीको सभापतिमा रोका चयन

  • २४ जेष्ठ २०८३, आईतवार
  • 3 पटक पढिएको

 

म्याग्दी,जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको प्रथम जिल्ला अधिवेशनले पुनः युवराज रोकाको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सवंसम्मत रुपमा चयन गरेको छ । शनिबार बेनीमा सम्पन्न भएको अधिवेशनले उपसभापतिमा कल्पना खत्री,सचिवमा सुनिल शर्मा र कोषाध्यक्षमा हीराबहादुर थापा सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा सागरकुमार शर्मा पौडेल,गुनमाया पुर्जा,युवराज सुवेदी,सरोज सुवेदी र पूर्णबहादुर खत्री चयन हुनुभएको रास्वपा म्याग्दीका नेता सरोकुमार बानियाँले जानकारी दिनुभयो । नवनिर्वाचित सभापति रोका यसअघि जिल्ला सभापति नै हुनुहुन्थ्यो ।

 

अधिवेशनमा पार्टीका गण्डकी प्रदेश सभापति तथा प्रतिनिधिसभा सदस्य राजन गौतमले देशको राजनीति,आर्थिक र सामाजिक क्षेत्रको परिवर्तनका लागि जनताले रास्वपालाइ झण्डै दुईतिहाइ दिएर जिताएको बताउनुभयो ।

 

मुलुकमा भ्रष्टाचार,बेथिति र बिकृतिको अन्त्य गरी सुशासन कायम गर्न जनताले दिएको मतलाई रास्वपाले सम्मान गर्दै निर्वाचनमा जनतासमक्ष गरेका बाचाहरुलाई पूरा गर्न सरकार लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘‘गत फागुन २१ गतेको निर्वाचनमा जनताले आफ्नो मत परिवर्तनका लागि फेरेका हुन । हामीले देशमा राजनीतिक स्थिरता,सुशासन कायम र भ्रष्टाचारको अन्त्य गर्न सकेनौं भने फेरी अर्को निर्वाचनमा जनताले मत फर्ने छन् ।’’