वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
- २६ जेष्ठ २०८३, मंगलवार
- 3 पटक पढिएको
म्याग्दी २६ जेठ । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले रहरलाग्दो सफलता प्राप्त गर्नुभएको छ । बेनी नगरपालिका–७ कुरिलाखर्कका ४२ बर्षिय सुरेश ढुङ्गानाले गाइ भैँसी पालनबाट आकर्षक कमाई गरी सफलता प्राप्त गर्नुभएको हो । करिब एक दशक लामो वैदेशिक रोजगार त्यागेर वि.स. २०७२ सालदेखि पशुपालन सुरु गर्नुभएका ढुङ्गाना अहिले जिल्लामा गाइ भैँसी धेरै पाल्ने सफल अगुवा कृषकको रुपमा परिचित हुनुहुन्छ ।
सुरुमा एक÷एक वटा गाइ र भैँसी खरिद गरेर ‘ढुंगाना कृषि तथा पशुपंक्षी फार्म’ सञ्चालनमा ल्याउनुभएका उहाँले अहिले दैनिक ३ सय लिटर दुध विक्रि गर्दै आउनुभएको छ । उहाँको फार्ममा अहिले ४५ वटा माउ सहित ५० वटा गाइभैँसी छन् । उहाँले दैनिक रुपमा करिब ३५ हजार बराबरको दुध विक्रि गर्दै आउनुभएको छ । ढुङ्गानाको फार्ममा उन्नत जातका मुर्रा भैँसी तथा होलस्टेन र जर्सी गाइ पालन हुँदै आएको छ ।
‘‘एक दशक बढी समय खाडी मुलुकमा पसिना बगाएँ, आफ्नै गाउँ फर्किएर पशुपालन र कृषिबाटै अघि बढ्ने लक्ष्यका साथ वैदेशिक रोजगारलाई बिट मारेको थिएँ, आज आफैले सुरु गरेको कर्मबाट सफलता मिलेको छ, यो पेसाबाट खुसी र सन्तुष्टि छु’’–ढुङ्गानाले भन्नुभयो। पशुपालनबाट ढुङ्गानाले आफु स्वरोजगार र आत्मनिर्भर मात्रै बन्नुभएको छैन, अन्य पाँच जनालाई समेत नियमित रुपमा रोजगारीको अवसर सिर्जना गर्नुभएको छ ।
उहाँको फार्ममा ३ जनाले आवासीय रुपमा नै रोजगारमा आबद्ध छन भने अन्य दुई जना समेत दैनिक रुपमा फार्ममा कामको लागि आउने गर्छन् । विहान सबेरैदेखि राती अबेरसम्म फार्मका गाइ भैँसीको घाँस,पानी र स्याहारमा खटिने ढुङ्गानाले अरुको देशमा पसिना बगाउनुभन्दा आफ्नै गाउँ ठाउँमा रहेका सम्भावनामा भबिश्य खोज्नुपर्ने बताउनुहुन्छ । ढुङ्गानाको फार्ममा उत्पादन हुने दुध बेनी बजारकै धौलागिरी डेरी उद्योगमा खपत हुने गरेको छ । बेनी बजारदेखि नजिकको दुरीमा फार्म सञ्चालन भएकाले उहाँले मोटरसाईकलमै दुधका क्यानी राखेर दुध ढुवानी गर्दै आउनुभएको छ ।
यस फार्ममा बिहान १ बजेदेखि र दिउँसो २ जबेदेखि गाई–भैंसी दुहुन सुरु गर्ने र ४ बजेको समयभित्र उद्योगमा दुध ढुवानी गरी पु¥याउने समयतालिका छ । डेरी उद्योगले प्रतिलिटर १२० रुपैयाँमा दुध खरिद गर्दै आएको छ । दुध उत्पादन नियमित हुने र डेरी उद्योगले समेत सहजै खरिद गर्ने भएकाले दुध विक्रिका लागि थप बजारको खोजी गर्नुपर्ने बाध्यता रहेको छैन् । कुरिलाखर्कमा आफ्नै पुख्र्यौली जग्गामा फार्म सञ्चालन गर्नुभएका ढुङ्गानाले पशुपालनबाट भएको आम्दानीबाट थप जग्गा खरिद गरी फार्मको क्षमता बढाउनुभएको छ ।
उहाँको फार्ममा पूर्वाधार र गाइ भैँसी खरिदमा अहिलेसम्म साढे २ करोड बढी लगानी भइसकेको छ । जिल्लामै ठूलो र नमुना फार्मको रुपमा विकास भइरहेको यस फार्मको अवलोकनका लागि विभिन्न ठाउँबाट कृषकहरु पुग्ने गरेका छन् । पशुपालनबाट सफलता प्राप्त गर्नुभएका युवा कृषक ढुङ्गानाले जिल्ला स्तर र प्रदेश स्तरबाट समेत विभिन्न पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।
वि.स. २०८० सालमा ‘ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म’ गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट पुरस्कृत भएको थियो । व्यवस्थित र व्यावसायिक रुपमा पशुपालन गर्नुभएका ढुङ्गानाले स्थानीय, प्रदेश र संघीय सरकार मातहतका कार्यालयहरुबाट प्राप्त सहयोगले समेत आफुलाइ पशुपालन गर्न हौँसला थपिएको बताउनुहुन्छ । फार्मबाट गाइभैँसीको गोबर मल समेत विक्रि हुने गरेको छ ।
बेनी नगरपालिकाका सहायक पशु चिकित्सक प्रदिप गौतमले ढुङ्गाना कृषि तथा पशुपंक्षी फार्म नगरपालिका र जिल्लामै उत्कृष्ट रहेको बताउनुभयो । उहाँले पशुपालक कृषकहरुलाई नगरपालिकाबाट औषधी उपचारमा प्राविधिक सहयोगका साथै विगत तीन बर्षदेखि नगरपालिकाले उत्पादनमा आधारित अनुदान समेत उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।