रवि लामिछाने र बालेन शाहबीच ६ घण्टासम्म वार्ता, सहकार्य गर्ने सहमति
- ८ पुष २०८२, मंगलवार
- 25 पटक पढिएको
जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थितिलाई केन्द्रमा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच सहकार्य गर्ने सहमति भएको छ । चरणबद्ध छलफलपछि दुई नेता निर्वाचनअघि सबै वैकल्पिक शक्तिलाई एकै ठाउँ ल्याउने निष्कर्षमा पुगेका हुन् ।
सोमबार बिहान र साँझ गरी दुईपटक भएको भेटवार्ता तथा छलफलपछि सहकार्यमा अघि बढ्ने सहमति बनेको स्रोतले जनाएको छ । रास्वपा नेता असिम शाहको कमलपोखरीस्थित कार्यालयमा साँझ करिब ७ बजेदेखि सुरु भएको छलफल राति करिब डेढ बजेसम्म चलेको थियो । छलफलमा सहकार्यको ढाँचा, शक्ति बाँडफाँट र भावी राजनीतिक रणनीतिबारे विचार–विमर्श भएको जनाइएको छ ।
वार्तापछि रवि लामिछाने र बालेन शाहलाई एउटै गाडीमा बिदा गरिएको थियो । त्यसलगत्तै राति १ः४२ बजे रास्वपा नेता असिम शाहले सामाजिक सञ्जालमार्फत ‘रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो’ भन्दै सहकार्यको संकेत गरेका छन् ।
रास्वपाका नेताहरूका अनुसार निर्वाचनअघि सबै वैकल्पिक शक्तिहरूलाई एकीकृत गर्ने विषयमा दुई नेताबीच सघन छलफल भएको छ । रास्वपा उपसभापति डिपी अर्यालले छलफलको प्रगतिबारे थप विवरण मंगलबार सार्वजनिक गरिने बताए ।
रास्वपा नेता गणेश कार्कीले नयाँ राजनीतिक शक्तिहरूबीच एकता आवश्यक रहेको भन्दै नेतृत्व तहमा निर्णायक छलफल भइरहेको जानकारी दिए । ‘नेतृत्व तहमै संवाद भइरहेको छ । सकारात्मक नतिजा आउने अपेक्षा गरेका छौँ,’ उनले भने ।
सोमबारको छलफलमा रास्वपा उपसभापति डिपी अर्याल, मेयर शाहका सहयोगी कुमार बेन र जेन–जी अगुवा सुदन गुरुङ पनि सहभागी थिए । जेन–जी अगुवा गुरुङले दुवै नेता वैकल्पिक शक्तिहरूको एकताका लागि सकारात्मक रहेको बताए । उनका अनुसार शक्ति सन्तुलन र संगठनात्मक बाँडफाँटका विषय टुंग्याउने प्रक्रिया जारी छ ।
यसअघि सभापति लामिछानेले वैकल्पिक शक्तिहरूबीच सहकार्यका लागि आफू सबै प्रकारका त्याग गर्न तयार रहेको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । राजनीतिक विश्लेषकहरूले रवि–बालेनबीचको सहमतिलाई आगामी निर्वाचनअघि वैकल्पिक राजनीतिक ध्रुव निर्माणतर्फको महत्वपूर्ण संकेतका रूपमा हेरेका छन् ।