कालीगण्डकी प्रशारण लाइनलाई कटान आदेश
- २५ फाल्गुन २०७५, शनिबार
- 2674 पटक पढिएको
सन्तोष गौतम
बेनी २५ फागुन । कालीगण्डकी कोरीडोर अन्तरगत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन निर्माणका लागि म्याग्दी खण्डमा रुख काट्ने कानुनी बाटो खुलेको छ । मन्त्री परिषद्को २०७४ पुष १३ गते को बैठकले गरेको वन क्षेत्रको जग्गा उपभोग गर्न दिने निर्णय एक वर्षपछि कार्यान्वयन भएको हो । म्याग्दी र पर्वत स्थित डिभिजन वन कार्यालयमा रुख कटान आदेशको फाइल रोकीदाँ राष्ट्रिय प्राथमिकता प्राप्त प्रशारण लाइन आयोजना प्रभावित बनेको थियो ।
म्याग्दीमा ३० वटा टावर निर्माण हुने वन क्षेत्रको २.५८ हेक्टर जग्गा उपभोग गर्न दिने सरकारको निर्णय अनुसार डिभिजनले सोमबार रुख कटान आदेश दिएको हो । म्याग्दीका ११ वटा सामुदायिक वनमा पर्ने चार हजार २०८ वटा रुख काट्ने आदेश दिएको डिभिजन वन अधिकृत हरिशचन्द्र सापकोटाले बताउनुभयो । ‘आयोजनाले वन विभागसँगको सम्झौता अनुसार जग्गा सट्टा भर्नाको प्रक्रिया सुरु गरेपछि हामीले कटान आदेश दिएका हौ’, डिभिजन वन अधिकृत सापकोटाले भन्नुभयो ‘छपान, मूल्याङ्कन, चेकजाँचको काम दुई वर्षअघिनै भएको थियो ।’
आयोजनाका प्रमुख चन्दनकुमार घोषले कटान आदेश पाएपछि वन क्षेत्रमा काम गर्न थालिएको बताउनुभयो । उहाँका अनुसार पर्वत खण्डमा पनि कटान आदेशका लागि पहल भइरहेको छ । ‘सट्टाभर्ना गर्नुपर्ने जग्गाको खोजी र अध्ययन भैरहेको छ’, घोषले भन्नुभयो ‘कटान आदेश पाएपछि वन क्षेत्रमा काम गर्ने बाटो खुलेको छ ।’ आयोजनाले वन क्षेत्रमा ओगट्ने क्षेत्रफल बराबरको सट्टा जग्गा उपलब्ध गराउनुपर्ने सम्झौता कार्यान्वयन नगरेकाले कटान आदेश दिन ढिलाई भएको अधिकृत सापकोटाले बताउनुभयो । जग्गा उपलब्ध गराउन नसके बिरुवा रोप्न र हुर्काउने लागत समेत हिसाब गरी सट्टा जग्गाको मूल्य उपलब्ध गराउन सकिने विकल्प छ ।
आयोजनाले पहिलो चरणमा सट्टा जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको घोषले बताउनुभयो । नेपाल विद्युत प्राधिकरणले म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादीत विद्युत केन्द्रीय ग्रिडमा जोड्नका लागि दाना र खुर्कोटमा सबस्टेशन र ३९ किलोमिटर प्रशारण लाइन बनाइरहेको छ । ११४ वटा मध्य बिवादीत पोखरेबगर खण्डको ६ वटा बाहेक अन्य स्थानका टावर बनिसकेका छन् । अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटमा विद्युत् सबस्टेशन पनि निर्माण भइरहेको छ । टावर निर्माण भएको ठाउँमा तार तान्ने काम धमाधम भइरहेको छ ।
एशियाली विकास बैङ्कको सहयोगमा सन् २०१६ मा दानादेखि खुर्कोट जोड्ने प्रसारण लाइन र सबस्टेशन निर्माण गर्न दुई अर्ब ९० करोड रुपैयामा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो । सबस्टेशनको पूर्वाधार र प्रसारण लाइनको टावर निर्माणसँंगै इलेक्ट्रोनिक उपकरण ढुवानी समेत भइरहेको छ । २०१८ को नोभेम्बर सम्मको आयोजनाको ठेक्का सम्झौताको छ महिना म्याद थप थियो ।
आयोजनाका अनुसार हालसम्म करिब ७५ प्रतिशत प्रगति भएको छ । खुर्कोटदेखि नवलपरासीको बर्दाघाटसम्म दोस्रो चरणमा प्रसारण लाइनको पूर्वाधार बनाउने तयारी भैरहेको आयोजनाका प्रमुख घोषले जानकारी दिनुभयो । प्रशारण लाइन र सबस्टेशनसँगै म्याग्दीमा निर्माणाधिन जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणलाई तीव्रता दिएका छन् ।
मुस्ताङमा १३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाले उत्पादन सुरु गरिसकेको छ भने म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५ मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, १०० मेगावाटको निलगिरि र निलगिरि क्यास्केट निर्माणाधीन छन् । त्यस्तै रघुगङ्गा गाउँपालिकामा ४० मेगावाटको राहुघाटले समेत निर्माण शुरु गरेको छ भने अन्नपूर्ण गाउँपालिकामै १६४ मेगावाटको कालीगण्डकी गर्ज, अपर र तल्लो कालिगण्डकी, तिप्ल्याङ कालिगण्डकी आयोजनाले काम सुरु गर्ने तयारी गरेका छन् ।