छन्त्याल समुदायको पुटपुरो संस्कृति लोप हुँदै (भिडियो सहित)
- १५ माघ २०७५, मंगलवार
- देवान छन्त्याल
- 5592 पटक पढिएको
म्याग्दी, १५ माघ । छन्त्याल समुदायको मौलिक संस्कृति ‘पुटपुरो’ लोप हुँदै गएको छ । नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुन नसक्दा मौलिक संस्कृतिको रुपमा रहेको ‘पुटपुरो’ नाच हराउन थालेको हो । छन्त्याल समुदायमा हरेक घरमा जेठो छोराको जन्म हुँदा ‘पुटपुरो’नाच र छोरीहरुको जन्म हुँदा गुनिउँचोली गर्ने चलन रहेको छ ।
जेठो छोराको जन्म भएको ४ बर्षभित्रमा गरिने ‘पुटपुरो’ नाचको संस्कृति पछिल्लो समय संकटमा परेको धवलागिरी गाउँपालिका–५ मल्कबाङका अग्रज कलाकार टिकाबहादुर घरब्जा छन्त्यालले बताउनुभयो । छोराको छेउर गर्नुपूर्व देखाईने ‘पुटपुरो’नाचमा मौलिक गीतको भाकामा पुख्र्यौली नृत्य देखाउने चलन रहेको उहाँले बताउनुभयो ।
यो गीतमा पुरुषले गीतको भाका निकाल्छन भने महिलाहरुले गीतमा गाएर साथ दिन्छन् । नृत्य गर्नेमध्ये एक जना पुरुष महिलाको भेषभुषामा सजिन्छन भने अन्य २÷३ जना पुरुषहरु कम्मरमा मादल भिरेर नाच देखाउने गर्छन् । यो नाचमा एक जना पुरुष पुरुसुंगेको भूमिकामा हुने गरेको गाउँका पुराना मादले कलाकार दिलिप घरब्जा छन्त्यालले बताउनुभयो ।
‘‘खुसीयाली बाँड्नको लागि पुस्तौँदेखि ‘पुटपुरो’ संस्कृति चलिआएको पाईन्छ, गीत मार्फत कलाकारहरुले बच्चाको दिर्घायु, सुस्वास्थ्य र प्रगतीको कामना सहित आर्शिवाद दिने गर्छौ, यो संस्कृतिले छरिएर रहेका आफन्त र नातागोतालाई पनि एकैठाउँमा भेला पार्ने भएकाले यसको महत्व झन बढेको छ’’– कलाकार छन्त्यालले भन्नुभयो ।
जेठो छोरा जन्मदाँ अनिबार्य रुपमा यो संस्कृति देखाउने चलन रहेपनि पछिल्लो समय बसाईसराई, युवा जमात वैदेशिक रोजागरिमा जाने प्रचलनले संस्कृति हस्तान्तरण हुन नसक्दा यो संस्कृतिलाई जिवन्त दिन कठिनाई भएको छ ।
हराउँदै जान थालेको पुख्र्यौली लगायतका मौलिक संस्कृतिलाई पाका कलाकारहरुबाट नयाँ पुस्तामा हस्तान्तरण गर्न लागिपरेको मल्कबाङका समाजसेवी अमर भलञ्जा छन्त्यालले बताए । समाजसेवी छन्त्यालले भने –‘भाषा, कला र संस्कृतिको संरक्षण हाम्रो पहिलो दायित्व हो । केही नयाँ पुस्ताले शीप र क्षमताको विकास पनि गरेका छन् । पुख्र्यौली संस्कृतिबारे थप तालीम सञ्चालन गर्ने योजना बनाएका छौँ ।’
मल्कबाङ लगायतका छन्त्याल समुदायको बाहुल्यता रहेका गाउँमा केही नयाँ कलाकारहरुले पुराना संस्कृति सिक्न थालेपनि गाउँबाट बाहिर रहेकाहरुमा भने संस्कृतिको निरन्तरता हराउँदै जान थालेको मल्कबाङका नयाँ कलाकार दिनेश घ्याप्चन छन्त्यालको भनाई छ । अहिले बेनी, पोखरा, बुटवाल, काठमाण्डौ लगायतका ठाउँमा बसाईसराई गरेर गएका छन्त्याल समुदायमा अधिकाँशले पुटपुरोको लागि गाउँबाटै कलाकारहरुलाई बोलाउनुपर्ने बाध्यता रहेको छ ।
यो नाच देखाउनु भन्दा पहिले सरस्वती जगाउने चलन छ । सरस्वती जगाउँदा बजाईने मादलको ताल र गाउने गीतले चोखो शरिर भएकाहरु काम्न थाल्ने यो नाचको अर्को अनौठो बिशेषता रहेको छ ।
भिडियो
देवान छन्त्याल
म्याग्दी अनलाईन डट् कमका संयोजक हुन् l