मल्लाजमा पुम्दीखोला खानेपानी आयोजना निर्माण
- २२ भाद्र २०७५, शुक्रबार
- 1920 पटक पढिएको
मल्लाज २२ भदौ । जलजला गाउँपालिकाको मल्लाजमा चार करोड रुपैया भन्दा बढीको लगानीमा पुम्दीखोला खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । खानेपानीतथा सरसफाई डिभिजन कार्यालय पर्वत मार्फत निर्मीत उक्त आयोजनाबाट जलजलाको २, ३ र ४ नम्बर वडाका छ सय भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । नेपाल सरकारको तिन करोड ६६ लाख ८४ हजार रुपैया अनुदान र स्थानीयबासीको ५७ लाख १९ हजार रुपैया बराबरको श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष लालबहादुर अधिकारीले बताउनुभयो ।
श्रमदान सहितचार करोड ६६ लाख १९ हजार ५८९ रुपैया लागत अनुमान गरीएको थियो । वि.स २०६७ मा सर्वेक्षण भई सोही वर्षदेखि निर्माण सुरु भएको आयोजना मार्फत हालसम्म ६०० घरले मिटर जडान गरेर खानेपानी उपभोग गरेका छन् । मिटर जडित निजीधारा मार्फत खानेपानी वितरण भएको छ । मुख्य र शाखा पाईपलाईन विस्तारका लागि श्रमदान गरेका मल्लाजबासीले मिटर, टुटी, धाराको पाईप र जडान शूल्क वापतथप सातहजार पचास रुपैयाका दरले लगानी गरेका छन् ।
मल्लाजमा रहेका तितौरे, चौराह, प्युसे, हम्र्पनी, पधेरापाटे, थाम पिडाल्ना आयोजनालाई समेत सुधार, वितरण प्रणालीलाई व्यवस्थित र एकिकरण गरेर एक हजार घरधुरीमा खानेपानी विस्तार गर्ने समितिको लक्ष्य छ । जलजला गाउँपालिका ५ स्थित पुम्दीको मुहानबाट प्रतिसेकेण्ड दश लिटरका दरले खानेपानी आपुर्ती गराइएको छ । १५ किलोमिटर ३२ मिटर मुख्य र ३३ किलोमिटर ५० मिटर शाखा पाईपलाईन निर्माण भएको आयोजनाका तिन वटा ईन्टेक, एक वटा कलेक्सन च्याम्बर, ७ वटा वितरण च्याम्बर, मिटर जडान गर्ने १४७ वटा भब्ल च्याम्बर, ३ वटा हावा फाल्ने एयर च्याम्बर र विभिन्न क्षमत्ताका १३ वटा टंकी रहेका छन् ।
४ घनमिटरका दुई वटा, छ घनमिटरका एक वटा, दश घनमिटरको एक वटा, १२ घनमिटरको २ वटा, १६ घनमिटरको १ वटा, बिस घनमिटरको ५ वटा र पचास घनमिटरको एक वटा रिजर्भ टंकी निर्माण भएको छ । घरघरम ाचौबिसै घण्टा नियमित रुपमा शुद्ध खानेपानी आपुर्ती भएपछि सरसफाई, स्थानीयबासीको दैनीकी सहज र सामाजिक दन्द्ध कम भएको छ । खानेपानीका कारण हुने बिवाद र झै झगडा कमभएको उपभोक्ता समितिका अध्यक्ष अधिकारीले बताउनुभयो । खानेपानीका लागि सार्वजनीक धारामा पुगेर लाईन बस्नुपर्ने समयको बचत भएको छ ।
आयोजनालाई दिगो र नियमित रुपमा सञ्चालनका लागि तिन जना कर्मचारी राखीएको छ । न्युनतम पन्ध्र हजार लिटर पानी उपभोग गरेवापत मासिक एक सय रुपैया न्युनतम शूल्क कायम गरिएको छ । यसैगरी जलजला गाउँपालीकाको ३ नम्बर वडाका २२४ घरलाई वडा कार्यालयले निजी धाराको मिटर जडानका लागि दुई हजार १०० रुपैयाका दरले अनुदान उपलब्ध गराएको छ । वडा अध्यक्ष देवेन्द्र भण्डारी (रवी)ले मोटरसाईकल खरिदका लागि बिनियोजन भएको दुई लाख पचास हजार रुपैया रकमान्तर गरेर निजी धारा जडानका लागि अनुदान उपलब्ध गराएको बताउनुभयो ।