धारापानीमा केन्द्रिय प्रशारण लाईनको विद्युतको पहुँच

  • १८ भाद्र २०७५, सोमबार
  • 1969 पटक पढिएको

बेनी १८ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानीमा केन्द्रिय प्रशारण लाईनको विद्युत सुबिधा पुगेको छ । गाउँपालिकामै पहिलो पटक धारापानीका दुई सय घरमा शुक्रबार साँझ केन्द्रिय प्रशारण लाईनको बिजुली बलेको हो । गाउँपालिका, नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्र, सामुदायीक वन उपभोक्ता समिति र उपभोक्ताहरुको पहलमा विद्युतीकरण गरिएको उपभोक्ता समितिका सचिव किरन थापाले जानकारी दिनुभयो ।

सचिव थापाका अनुसार गाउँपालिकाले गत आर्थिक वर्ष २०७४÷७५ मा २८ लाख रुपैया उपलब्ध गराएको विद्युतीकरण योजनाका लागि विद्युत प्राधिकरणले ट्रान्सफर्मर उपलब्ध गराएको थियो । विद्युत वितरणका लागि प्रयोग भएका १०६ वटा मध्य तत्कालीन ताकम गाविसको सहयोगमा २२ वटा र जिल्ला विकास समतिबाट १५ वटा पोल सहयोग प्राप्त भएको थियो ।उपभोक्ता समितिको ९५ हजार रुपैया लगानी भएको छ । २०० घरधुरी उपभोक्ताले पोल, तार ढुवानी र पोल गाड्ने खाडल खन्नका लागि तिन दिनका दरले तिन लाख पचास हजार रुपैया बराबरको श्रमदान गरेका उपभोक्ता समितिका अध्यक्ष रिमप्रकाश थापाले बताउनुभयो ।

उपभोक्ताको घरमा विद्युतको मिटर जडान गर्न स्थानीय धारापानी सामुदायीक वन उपभोक्ता समूहले अनुदान उपलब्ध गराएको छ । प्रतिघर एक हजार सात सय रुपैयाका दरले अनुदान दिइएको समुहका अध्यक्ष रेशमबहादुर थापाले बताउनुभयो । घाँस, दाउरा र काठ बिक्री गरेर भएको आम्दानी विद्युतीकरणका लागि उपभोक्तालाई सहयोग गरिएको हो ।हाउस वायरीङको खर्च भने उपभोक्ता आफैले ब्यहोरेका छन् । केन्द्रिय प्रशारण लाईनको विद्युत सुबिधा पुगेपछि धारापानीबासी खुसी र उत्साहीत भएका छन् । यसअघि उज्यालोका लागि सोलार र टुकीमा निर्भर थिए । उज्यालोका साथै टेलीभिजन हेर्न, मोवाईल चार्ज गर्न, कम्प्युटर, ल्यापटप चलाउन सहज भएको छ ।

धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्षमा ७ नम्बर वडामा पर्ने अन्य बस्तीहरुमा पनी विद्युत सुबिधा विस्तार गर्ने योजनालाई प्राथमिकता दिएको छ । केन्द्रिय विद्युत विस्तारका लागि असी लाख रुपैया बजेट बिनियोजन भएको वडा अध्यक्ष कलानिधी सुवेदीले बताउनुभयो ।