पहिरोले बाटो बगाएपछि युवाहरुले बनाए पदमार्ग (फोटो फिचर)

  • १७ भाद्र २०७५, आईतवार
  • 2427 पटक पढिएको

बेनी, १७ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा पहिरोले बाटो बगाएर जोखिमपूर्ण तवरले आवत जावत गर्नुपर्ने बाध्यता हटाउन युवाहरुले पदमार्ग बनाएका छन् । गलेश्वर हुँदै पिप्ले जाने बाटो अन्र्तगत सेतीपखरामा पहिरोले बाटो नै बगाएपछि आवत जावतमा समस्या भएको थियो ।

तिजको अवसरमा आवतजावत बढी हुने र पहिरोले बाटो बगाएपछि स्थानीय क्रियटिभ युथ ग्रुप (सिवाईजी)को नेतृत्वमा पहिरोले क्षती पु¥याएको ठाउँमा नयाँ पदमार्ग निर्माण गरिएको हो । समुहका १८ जना युवाहरु शनिवार दिनभर खटिएर ७० मिटर नयाँ बाटो निर्माण गरि सर्वसाधारणलाई सहज रुपमा आवत जावत गर्ने व्यवस्था मिलाईएको सहसचिब सञ्जय शर्माले जानकारी दिनुभयो ।

पदमार्ग निर्माण संयोजक प्रकाश शर्माको नेतृत्वमा खटिएका युवाहरुले श्रमदानमा पहिरोलाई छलेर पाखोमा सिँढी चिनेर बाटो बनाएपछि सर्वसाधारणलाई आवत जावतमा सहजता भएको छ । बाटो अबरुद्ध हुँदा पिप्ले, भगवती, बेग, मालिका, दुलेपानी, कलेजाबाङ लगायतका क्षेत्रका सर्वसाधारण घाँसलाई समातेर जोखिमपूर्ण रुपमा वारपार गर्दै आएका थिए ।


सोही पहिरोले अबरुद्ध बनाएको सडक गाउँपालिकाको पहलमा मर्मत गरिएपछि सर्वसाधारण नागरिक हिड्ने बाटो मर्मतमा स्थानीय सरकारले चासो नदेखाएपछि आफुहरुले श्रमदान गरेर मर्मत गरेको समुहका अध्यक्ष तारानाथ शर्माले बताउनुभयो । यस समुहले पदमार्ग निर्माण, प्राकृतिक र दैवी प्रकोप पिडितलाई राहत, सरसफाई लगायतका विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।