म्याग्दीको विकासमा रचनात्मक सहयोग गर्छौः मोना युएईका अध्यक्ष कार्की (भिडियो)

  • २४ बैशाख २०७५, सोमबार
  • 3642 पटक पढिएको

म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईले रोजगारि, व्यवसाय लगायतको शिलसिलामा युएईमा पुगेका म्याग्देलीहरुलाई गोलबद्ध गर्ने अभियान थालेको छ । त्यहाँ रहेका म्याग्देलीहरुलाई आईपर्ने समस्याहरु समाधानको लागि सामुहिक प्रयास गर्नुको साथै जिल्लाको सामाजिक क्षेत्रमा सहयोग गर्ने उदेश्य अनुरुप संस्थाले विभिन्न कामहरु गर्दै आएको छ । यसै सन्दर्भमा मोना युएईका अध्यक्ष प्रकाश कार्कीसंग म्याग्दीअनलाईनका सम्पादक कमल खत्रीले गर्नुभएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

 

१– यहाँलाई स्वागत छ ।

धन्यवाद, कमल जी

२–युएईमा मोनाको स्थापना कसरी भयो यसबारेमा बताईदिनुहोस न ।

युएईमा रहेका हामी म्याग्देलीहरु सन २०१४ देखि गोलबद्ध भएका हौँ । म्याग्दी एकता समितिको नाममा हामी त्यहाँ एकताबद्ध भएका हौँ । त्यो संस्था शुशिल केसीको नेतृत्वमा गठन गरेका थियौ । सो समयमा म उपाध्यक्ष भएको थिए । सुरुवातको समय भएकाले रोजगारको शिलशिलमा यूएई आएका म्याग्देलीलाई जोड्न त्यसै समयदेखि सुरु भएको हो । तर सबैलाई समेट्न सम्भव थिएन् । त्यस समयमा हामीले ब्यक्तिगत रुपमा सहयोग गरिरहेका थियौ ।

संस्थामा रहेर काम गरिरहेपनि मिडियामा आउन सकेका थिएनौँ । म्याग्दी प्रवासी नेपालीहरुको साझा अभियानको रुपमा युएयमा मोना युएई गठन भएको हो । प्रदिप सुवेदीको अध्यक्षतामा गठन भएको मोना युएईले एउटै र साझा संस्थाको रुपमा अगाडी बढौँ भन्ने प्रस्ताब गरेपछि हामीले म्याग्दी एकता समितीलाई मोना युएईमै गाभेर अगाडी बढेका हौँ । सबै एकजुट भयो भने जस्तो सुकै काम गर्न र सबै म्याग्देलीलाई एकता गर्न सकिने धारणले २०१६ मा हामी युएईमा रहेका म्याग्देलीहरुले मोना युएईको स्थापना भएको हो । दुईओटा संस्थालाई एक बनाएर धेरै सहजता भएको छ।

 


३– संस्था स्थापनाको छोटो समयमा नै नेतृत्व लिनुभयो । अहिले यो संस्थाले के काम गरिरहेको छ ?

पछिल्लो समय प्रदिप सुवेदी ज्यूको कार्यकालमा हामी सबै नयाँ नयाँ र सबैमा कामको अनुभव थिएन् । तर सबैको सहयोगले सबै म्याग्देलीलाई समेट्ने उद्देश्यले सो कार्यकालमा धेरैलाई संस्थामा आवद्ध गर्न सफल भएका थियौँ । भने केही सामाजिक सहयोग गर्न पनि सफल भएका थियौ । दोस्रो कार्यकालमा सबै साथिहरुको सुझाब र मेरो पनि समाजसेवा प्रतिको रुचि भएको कारण संस्थाको नेतृत्व लिन पुगेको हुँ । सामािजक क्षेत्रमा पनि मेरो अुनभव धेरै पहिलेदेखिको हो ।

जिल्ला एवम विभिन्न ठाउँका सामाजिक कार्यको लागि मैले धेरै पहिलेदेखि नै सानो ठुलो सहयोग गर्दै आएको थिए। यस संस्थामा रहेर युएईमा रहेका सबै म्याग्देलीहरुलाई एकजुट बनाउन सकिन्छ र त्यहाँ आईपर्ने समस्याहरुलाई सामुहिक रुपमा हल गर्ने र जिल्लाको सामाजिक क्षेत्रमा सहयोग भित्र्याउन सकिन्छ भन्ने मेरो संकल्प छ । यस संस्था मार्फत हामीले भुकम्पपिडित , बाढी, पहिरो पीडित र आर्थिक विपन्नताको कारण उपचार गराउन नसकेकाहरुलाई सहयोग गरेका छौँ । पछिल्लो समय बैदेशिक रोजगारीको शिलसिलामा युएयमा पुगेर अलपत्र परेकाहरुलाई पनि सहयोग गरेका छौँ । भने पछिल्लो समय हामीले चितवनका टोपबहादुर रायमाझीलाई आर्थिक सहयोग गरेका थियौ । दुई बर्षको अन्तरालमा हामीले करिव ३१ लाख सहयोग जिल्ला र जिल्ला बाहिरमा गरिसकेका छौ । हाम्रो एजेण्डा ठुलो छ । सबैको साथ सहयोग भएमा परिणाम निकाल्न सक्छौँ भन्ने लागेको छ ।

४– अहिले युएईमा रहनुभएका म्याग्देलीहरुको साझा संस्था मोना युएईमा कति म्याग्देलीलाई संस्थामा आवद्ध गर्नुभएको छ ?

हामीले पछिल्लो समय विचविचमा फरक विधाका कार्यक्रम गरि युएयमा रहेका म्याग्देलीहरुलाई संस्थामा आवद्ध गराउने क्रम बढाएका छौँ । त्यसलाई मध्यनजर गर्दै खेलकुद तथा सास्कृतिक र पिकनिक लगायतका कार्यक्रम गरिसकेका छौँ । अस्तिभर्खर सम्पन्न भएको पिकनिकमा ३५० जनालाई मोनामा आवद्ध गर्न सफल भएका थियौँ । भने विभिन्न कार्यक्रम र अभियानबाट मोनामा धेरैलाई भावनात्मक एकता गर्न सफल भएका छौ । मोनाबाट थालेको अभियानमा सबैको सहभागिता र सक्रियता बढाउन हामीले जोड दिएका छौँ । बिशेष गरि संस्थामा नियमित सम्पर्कमा केही कम भएपनि संस्थाले चलाउने अभियान र कार्यक्रममा भने धेरै म्याग्देलीहरुलाई समेटन सफल भएका छौँ ।

५–र्युएईमा रहेका म्याग्देलीलाई आईपर्ने विभिन्न समस्यामा मोनाले सहयोग गर्दै आएको छ । खासगरि युएईमा रहेका म्याग्देलीहरुलाई कस्ता समस्या आउँदा रहेछन् ?

सर्वप्रथमत परिस्थिती र बाध्यताले विदेशमा आएका नेपालीलाई किन र कसरी आउनुभयो भनेर कसैलाई भन्न मिल्दैन् । प्रमुख समस्या भनेको भिजिट भिस्सामा पुगेकाहरु मध्ये केहीलाई काम नपाईने हो । भिजिट भिसामा त्यहाँ पुगीसकेपछि आफु सक्षम छैन भने रोजगारि पनि कन्फर्म हुँदैन् । भिजिट भिसामा गएकाहरुलाई काम नपाउनु नै यहाँको ठुलो समस्या हो । हुन त यो समस्या आफुमा क्षमता नभएकाहरुको लागि निस्केको हो । कतिपय क्षमतावान व्यक्तिहरुले भिजिट भिजाबाटै पुगेर पनि राम्रो कमाई भने गर्नुभएको छ । यो देशमा सिप सिकेर जानेलाई अवसर धेरै छ ।

केही महिना अघि मात्रै हामीले एक म्याग्देलीलाई आईपरेको समस्या समाधान ग¥यौँ । छुट्टीका दिन कम्पनीबाट घुम्न निस्केका घतानका दिनेश रेग्मी घुम्ने क्रममा र्दुघटनामा पुर्नभयो । उहाँलाई चोटग्रस्त भएको बेला कम्पनीले छुट्टी दिएन । हाम्रो प्रयासमा उहाँ घरमा आउनुभयो । उपचार गरेर उहाँ अहिले सोही कम्पनीमा काम गर्न जानुभएको छ । यस्ता समस्या परेकाहरु सम्पर्कमा आए भने सहयोग गरिरहेका छौँ ।

६ – म्याग्दीसंगै देशका विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । आर्थिक संकलन गरेर नेपालमा सामाजिक काम गर्न कत्तिको कठिन छ । विदेशमा काम गरेर बचेको समयमा समाजसेवा गर्न प्रवासी म्याग्देलीहरुलाई कसरी सम्भव बनाउँछ ?

सुरुवातमा सहयोग अभियानमा हामी कार्यसमितिनै सहभागि भएका थियौ । सुरुवातका अभियानहरुमा कार्य समितिले मात्रै आर्थिक संकलन गर्ने गरिएपनि विस्तारै सबैलाई आह्वान गर्न थाल्यौँ । मोना युएयले संचालन गर्ने अभियानमा सर्वप्रथम हामी संस्थामा आबद्ध भएकाहरुबाटै सहयोग गर्न सुरुवात गर्छौ । अहिले एकमहिनामा एक÷ दुई वटा अभियान गरिरहेका छौ । हालै मलेसियामा वितेका म्याग्दीको रुमका युवाहरुको घरपरिवारलाई पनि संस्थाबाट सहयोग गरेका थियौँ। हाम्रो मुख्य अभियान ‘समाजका लागि जे सक्छौ, आजै गरौ , आफैबाट सुरु गरौँ’ँ भन्ने भाबका साथ मोना युएई अघि बढेको छ ।

७– खाडी मुलुकहरुमा रोजगारिको लागि आकर्षक ठाउको रुपमा युएइ चिनिन थालेको छ। त्यहाँ जानेहरुलाई के भन्नुहुन्छ?

रोजगारका लागि गएका धेरै नेपालीले दुख पाएका छन् । सर्वप्रथम रोजगारको लागि जहाँ गएपनि सिप सिकेर जाऔँ । भिजिट भिसामा जानेहरुलाई काम सिकेर, आफ्नो क्षमतामा विश्वास गरेर सोही अनुसारको उपलब्धी लिनका लागि जानुपर्छ भन्न चाहन्छु। भिजिट भिसामा विश्वास गरेर काम गर्न जाँदा संघर्ष र समन्वय गर्न नसक्नेहरु समस्यामा पर्नसक्छन् ।
त्यसैले रोजगारि भिजामै भरपर्दौ र आफ्नो रुचि र क्षमता अनुसारको सिप सिकेर जान आग्रह गर्दछु ।

८– विदेशमा आर्जन गरेको स्रोत, साधन , सिप र सम्पतिलाई जिल्लामा लगानीको रुपमा भित्र्याउने अभियान म्याग्दीमा चलिरहेका छ । मोना युएईले यसबारेमा कस्ता योजना बनाएको छ ।

बास्तवमा मोना युएई त्यहाँ रहेका म्याग्देलीहरुलाई गोलबद्ध गराउने मुख्य उदेश्य हो भने त्यहाँ भैपरि आउने समस्या समाधान संगै जिल्लाको सामाजिक क्षेत्रमा सहयोग र आर्थिक क्षेत्रमा लगानी भित्र्याउने उदेश्य पनि यस संस्थाले राखेको छ । हामी प्रवासमा रहेकाहरु सधै विदेशमा बसेर पुग्दैन् । जसरी पनि स्वदेश फर्कछौ । हामीले बिदेशमा विताएको उर्जाशिल समयमा आर्जन गरेको स्रोतलाई जिल्लाको सम्भावनायुक्त क्षेत्रमा लगानीको रुपमा भित्र्याउन धेरै जसो सकरात्मक नै हुनुहुन्छ । जिल्लामा कसरी लगानी भित्र्याउने र ब्यवसाय बढाउने छलफल भईरहेको छ । विदेशबाट नेपाल आउदाँ योजनासहित यहाँ स्वदेश टेकिन्छ । तर यहाँको वातावरण र अवस्थाले त्यो चेन्ज भैदिने समस्या छ । खासगरि विदेशमा पसिना बगाएको आम्दानीलाई स्वदेशमा लगानीको लागि सरकारी तवरबाट वातावरण बनाउन आबश्यक देख्छु ।

९ ) समय र सम्बादको लागि यहाँलाई धन्यबाद्

मलाई मोना युएइ र मेरा विचारहरु राख्ने अवसर दिनुभएकोमा यहाँलाई पनि धन्यबाद