रित्तिएका गोठथरीले पर्यटक लोभिदै
- १४ बैशाख २०७५, शुक्रबार
- 2285 पटक पढिएको
रामबहादुर थापा
बागलुङ, १४ वैशाख । कुनै ताका किसानको जीविका धान्ने गोठथरी अहिले रित्तिएका छन् । पशुपालन र खेतीपातीले हराभरा हुने गाउँलेको मौसमी बासथलो अहिले उजाड देखिन्छन् । खरले छाएका गोठ जीर्ण छन्, बारी बाँझै पल्टिएको छ । महिनौँसम्म गोठथरी बस्ने किसान अहिले पाइलासम्म टेक्दैनन् । बरु प्रकृतिमा रमाउने पर्यटक भने गोठथरीसँग लोभिएका छन् ।
गलकोट नगरपालिका–४ निलुवास्थित गोठथरीको चित्र पनि ठीक यस्तै छ । किन एक्लो भयो गोठथरी ? किन बिर्सिए मानिसले ? यो मात्र होइन, पुस्तौँदेखि गोठाला र किसानसँग साइनो गाँसेका गोठथरी अहिले नाम मात्रमा सीमित छन् । कतिपय गोठथरी त किसानको स्मृतिबाट हराइसके । खरले छाएको गोठ, अघिल्तिर बारी, पशुलाई चरन, नजिकमा घाँसदाउरा गर्ने जंगल यही हो गोठथरीको चिनारी । निलुवामा मात्र ६० भन्दा बढी किसानको एक हजार ५०० रोपनी बारी अहिले बाँझै छ ।
दर्जनौँ गोठ जीर्ण अवस्थामा छन् । केहीलाई पर्यटनसँग जोड्न संरक्षण गरिएको छ । मकै, जौ, आलु, लसुन फल्ने बारीमा अहिले घाँसको जंगल छ । खेती गर्ने कोही नभएपछि चाक्ला बारी खरबारीमा परिणत भएका छन् । हिजोआज गोठथरी पुग्दा बैराग लाग्ने गरेको किसान थमबहादुर क्षेत्रीले बताउनुभयो । “खेती किसानी छोडेपछि गोठथरीको महत्व हरायो,” उहाँले भन्नुभयो, “सबै सुविधाभोगी भए ।” पहिले वर्षको दुई याममा पशुचौपायासहित गाउँले गोठथरी जाने गरेको उहाँले सम्झनुभयो । बेशीबाट फागुनमा गोठ गएपछि असारमा झर्ने र पुनः भदौमा गएर कात्तिकमा झर्ने चलन थियो ।
किसान गोठथरी जानेलाई गोठ र लेक जाने भनेर पनि भन्ने गर्थे । वर्षायाममा पोसिलो घाँस, बुट्यान पाइने हुँदा किसान गाईभैँसी र बाख्रा लगेर गोठ जाने गर्थे । लेक गएकै बेलामा वर्षभरिलाई हुने दाउराको जोहोसमेत हुने गथ्र्यौं । ५० वर्षीया सावित्रा क्षेत्रीले पनि सानोमा गोठ जाँदाको अनुभव सुनाउनुभयो । “गोठ जाँदा घाँस, दाउरा र खेतीपातीमा व्यस्त भइन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले त सबैले काम गर्न छोडे ।” लेकको त कुरै छोडौँ तल बेशीमै रहेका खेतबारी पनि बाँझै पल्टिएको तीतो यथार्थ हाम्रासामु छ ।
वैदेशिक रोजगार, बजारमा निर्भरता, सुविधाभोगी जीवन आदि कारणले कृषिमा आकर्षण घटेको हो । वडा नं ४ का अध्यक्ष बलबहादुर खत्रीले निलुवामा कृषिको नयाँ योजना ल्याउन पहल गर्ने बताउनुभयो । “यत्रो खेतीयोग्य जमिन बाँझै छ,” उहाँले भन्नुभयो, “यसको सही सदुपयोग हुन सके ठूलो लाभ लिन सकिन्छ ।” तरकारी, गेडागुडी या अन्य कुनै नगदेबालीका लागि निलुवा उपयुक्त रहेको उहाँको भनाइ छ । वर्षायाममा प्रशस्त पानी पुग्ने भए पनि हिउँदमा भने सिँचाइ र खानेपानी दुवैको अभाव छ । निलुवामा खानेपानी, सडकलगायत पूर्वाधार विकासको काम पनि भइरहेको छ ।
निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रले पर्यटन प्रवद्र्धनका लागि काम गरिरहेको छ । निलुवालाई पुरानै अवस्थामा फर्काउन नसके पनि भएका संरचना र स्वरुपलाई जोगाइने केन्द्रका अध्यक्ष ओमकार सुवेदीले बताउनुभयो । केन्द्रले अघिल्लो महिना निलुवामै मह शिकार महोत्सवको समेत आयोजना गरेको थियो । बागलुङ सदरमुकामदेखि ४५ किमीको दूरीमा अवस्थित निलुवा पर्यटकीय गन्तव्यका रूपमा चिनिएको छ ।