गुराँस र मनोरम हिमालको सुन्दरताले सजिएको ‘रुपौला रुइसे’ (फोटो फिचर)
- २४ फाल्गुन २०७३, मंगलवार
- कमल खत्री
- 3440 पटक पढिएको
म्याग्दी, २४ फागुन । सदरमुकाम बेनीदेखि एक विहानको पैदल दुरीमा रहेको म्याग्दीको पर्यटकीय रुइसे–भेडीओढार क्षेत्र प्राकृतिक सौन्दर्यताले सु–सज्जीत बनेको छ । भर्जिन पदमार्गको रुपमा परिचित धौलागिरी आइसफल पदमार्गको प्रवेशद्धारको रुपमा रहेको यो क्षेत्रको जंगलमा फागुन महिनाको सुरुवातसंगै फुलेको राताम्मे गुराँसको सुन्दरताले पर्यटकहरुलाई आकर्षित गरिरहेको छ ।
समुन्द्री सतहदेखि २ हजार ५ सय ३० मिटर उचाईमा भगवती, पिप्ले, बेगखोला, दग्नाम र चिमखोला गाविसको सिमाक्षेत्रलाई समेटिएका रुईसे– भेडीओढारबाट मनोरम हिमसृङ्खलाको अवलोकन गर्न सकिन्छ । पुर्वमा माछापुच्छ«ेदेखि अन्नपूर्ण, निलगिरी, धौलागिरी हुँदै पश्चिममा गुर्जा हुँदै चुरेन हिमालको मनमोहक दन्तेलहर हिमाललाई नजीकबाट नियाल्न पाउनु यस क्षेत्रको प्रमुख बिशेषता हो ।
यो क्षेत्र यतिबेला जंगलमा फुलेको राताम्मे गुराँस फुलले थप सु–सज्जीत बन्न पुगेको छ । धौलागिरी आईसफल पदमार्गका दायाबायाँका जंगलहरु गुराँस फुलेसंगै राताम्मे बनेका छन् । बिशेष गरि रुइसे–भेडीओढारसम्म स्थानीयबासीहरु पुग्ने गरेपनि आबश्यक प्रचार प्रसारको अभावमा प्राकृतिक सौन्दयताले भरिपूर्ण रुइसे–भेडीओढार क्षेत्र अहिले पनि पर्यटकको पर्खाइमा रहेको छ ।
रुईसे र भेडिओढार क्षेत्रमा रहेका भेडाबाख्राका गोठहरुले परम्परागत जिबनशैलिको झल्को दिने गर्छ भने चरणक्षेत्रमा रहेका भेडाबाख्राको दृष्य पर्यटकहरुको लागि पनि आकर्षण बन्ने गरेको पाइन्छ । अग्ला पहाडमा हरियाली जंगलले शुसज्जित रुइसे क्षेत्र दन्तेलहर जस्तै देखिने आधा दर्जन बढी हिमसृङ्खलाको दृष्य अवलोकन र गुराँसे जंगलमा रमाउनको लागि आकर्षक रहेको रुईसे–भेडीओढार पर्यटन विकास समितीका अध्यक्ष देवेन्द्र केसीले बताए । पाँच बर्ष अगाडि टान पोखराको नेतृत्वमा धौलागिरी आइसफल पदमार्गको पहिचान गरेपछि रुइसे क्षेत्रको बारेमा प्रचार प्रसार हुन थालेको हो ।
म्याग्दीको गलेश्वर देखि सुरु हुने धौलागिरी आईसफल पदमार्ग पिप्ले, भगवती, दग्नाम, बेगखोला, चिमखोला, दाना, कुइनमंगलेको लेक हुँदै मुस्ताङको लेते पुगेर टुङ्गिन्छ । पदमार्गको पहिचान भए पश्चात यस क्षेत्रमा अहिले पर्यटन पुर्वाधारको भईरहेको छ । तिन बर्ष अगाडि भगवती र पिप्लेका सरोकारवालाहरुले रुईसे–भेडीओढार पर्यटन विकास समिती गठन गरेर यस क्षेत्रको प्रचार प्रसार र पूर्वाधार निर्माणलाई तिब्रता दिएका हुन् ।
गत बर्ष जिल्ला विकास समितिको आर्थिक सहयोगमा रुईसेको रिवाङचौरमा जग्गा सम्याउने काम गरीएको छ यो बर्ष नै विभिन्न क्षेत्रबाट सहयोग जुटाएर त्यसमा सामुदायिक लज निर्माण गर्ने योजना बनाएको समितीका अध्यक्ष केसीले बताए । उनका अनुसार, पदमार्गको नक्सांकन, पर्यटक बास बस्ने ठाउँहरुमा क्याम्पिङ साईट निर्माण, खानेपानीको सुविधा विस्तार जस्ता महत्वपूर्ण पूर्वाधार निर्माणको काम सम्पन्न गर्नका लागि बजेट अभाव भएको छ ।
गलेश्वर हुँदै सुरु हुने उक्त पदमार्गको लागि यो बर्ष नेपाल सरकार पर्यटन मन्त्रालयले रु १० लाख बजेट विनियोजन गरिसकेको छ भने धौलागिरी आईसफल पदमार्गलाई समेत छुट्टै १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । भेडिओढारसम्म पुग्नका लागि पहिले स्थानीयले जंगल जाँदा प्रयोग गर्दै आएको बाटोलाई नै मर्मत गरिएको छ भने त्यसलाई अझै व्यवस्थित बनाउने समितीको तयारी छ ।
‘‘ पहिले रुईसे क्षेत्र दाउरा घाँस र बस्तुभाउको गोठ राख्ने थलोको रुपमा चिनिन्थ्यो, धौलागिरी आइसफल पदमार्ग पहिचान भएपछि महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ, अहिले प्रचार प्रसारले समेत गति लिन थालेपछि हामी उत्साहित बनेका छाँै ’’– भगवती–८ सिजलगाउँका स्थानीय युवा हरि भण्डारीले भने । उनले बेनी–जोमसोम पदमार्गमा सडक सञ्जाल विस्तार भएसंगै म्याग्दी हुँदै मुस्ताङ जाने पर्यटकहरुले धुलो सास्ती र पदमार्गको अभाब खेपिरहेको अबस्थामा रुइसे हुँदै लेते निस्कने धौलागिरी आईसफल पदमार्गलाई सञ्चालनमा ल्याउन सके बैकल्पिक र उत्कृष्ट पदमार्गको रुपमा विकास गर्न सकिने बताए ।
मनोरम प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भेडीओढार क्षेत्रबाट म्याग्दी, बागलुङ र पर्वतका विभिन्न स्थानहरुलाई एकैठाउँबाट अबलोकन गर्न सकिन्छ भने यसक्षेत्रबाट विहानीको सुर्योदयको दृष्य मनमोहक देखिन्छ । पुर्वको माछापुच्छेू नजीकबाट उदाएको सुर्यका किरण पश्चिममा रहेको धौलागिरी , चुरेन र गुर्जा हिमालमा ठोकिदा मुस्कुराउँदो हिमालको लोभलाग्दो दृष्यावलोकन गर्न पाउँदा त्यहाँ पुग्ने जो कसैको मन फुरुङ्ग हुने रुइसे–भेडीओढार पर्यटन विकास समितिका सदस्य रिम मल्लले बताए ।
उनका अनुसार , भगवती सम्म यातायात सहज गराउन सके सडक र पदयात्रा दुबै मार्फत प्रयाप्त पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको छ । अहिले रुइसे र भेडिओढार क्षेत्रमा सामान्य रुपमा आन्तरिक पर्यटकहरु भित्रन थालेको भएपनि प्रचार प्रसार र पर्यटन पूर्वाधार अभाबले पर्यटकहरुको फलो बढ्न सकेको छैन् । भगवतीको सिजलगाउँ र साझापानी बस्तीदेखि माथि थाप्लोमा घना जंगल, पहाडी भुबनोट र ठुला घाँसेमैदान रहेको रुइसे भेडिओढार क्षेत्रसंग पिप्ले , बेगखोला र दग्नाम गाविस समेत जोडिएकाले यो क्षेत्रको पर्यटन विकास गर्न सकेमा अहिले प्रस्तावित रघुगंगा गाउँपालिका क्षेत्रकै विकासमा महत्वपूर्ण टेवा पुग्ने सम्भावना रहेको हालै रुइसे क्षेत्रको भ्रमणमा पुगेका स्थानीय विनोद केसीको भनाई छ ।
बिषेश गरि भगवती, कलेजाबाङ, सिजलगाउँ, साझपानी र बेगखोलामा होमस्टे र रुईसेमा सामुदायिक लज निर्माण गर्नुपर्ने छ भने भगवती हुँदै रुइसेको डिलसम्म पुगेको सडकलाई स्तरोन्नती गरि सहज रुपमा यातायातका साधन आवतजावत गर्न सक्ने बनाउनुपर्ने देखिन्छ । भेडिओढारमा ठुलो चट्टाने प्राकृतिक भ्युटावरबाट देखिने सुर्योदयको मनमोहक दृष्यको अवलोकन गर्न सकिने यो क्षेत्रलाई धार्मिक तथा ऐतिहाँसिक दृष्टिकोणमा समेत महत्वपूर्ण मानिन्छ ।
जिल्लाकै पुरानो कोतमन्दीरको रुपमा चिनिने भगवती कोट मन्दीर संगै भुमे मन्दीर, नौलि बराह, देउराली मन्दीर लगायतका धार्मिक स्थलहरु रहेकाले यस क्षेत्र धार्मिक रुपमा समेत महत्वपूर्ण रहेको भगवतीका अगुवा देवेन्द्र बहादुर मल्ल बताउँछन् । नौली बराह नजीकै रहेको एक ढुंगाको खोप्टीमा कहिल्यै नसुक्ने पानी ले सबैलाई आश्चर्यमा पार्ने गरेको छ ।
बाइसे चौविसे राज्यको पालामा तत्कालिन राजाहरुले राज्य गरेको रुईसेमा तत्कालिन राजाले हात्ति बाध्ने स्थान, पानीखाने कुवा, राजाका सहयोगीले आराम गर्ने स्थान लगायतका अबशेषहरु रहेका छन् । यस क्षेत्रमा रहेका प्राचिन सम्पदाहरुको खोजी गर्न सकेमा यस क्षेत्रको पर्यटन विकासले थप गति लिने स्थानीयको भनाई छ ।
गलेश्वर हुँदै पदयात्रा मार्फत साढे १ घण्टामै भगवती पुग्न सकिने र त्यहाँबाट केही समयमै रुइसे भेडिओढार क्षेत्रमा पुग्न सकिने भएकाले एक दिनको पदयात्राको लागि उत्कृष्ट पर्यटकीय गन्तव्यको खोजिमा रहेकाहरुको लागि यस क्षेत्रमा भम्रण गर्नु उत्तम हुने भगवतीका अगुवा रिम कटुवाल बताउँछन् । भगवतीको सिजलगाउँ र साझापानी तथा पिप्लेको कलेजाबाङ र अक्षताबाट पनि रुइसे सजीलैसंगै पुगिन्छ । पदयात्रा गर्नको लागि गलेश्वरबाट पिप्ले, भगवती हुँदै रुईसे पुगेर कलेजाबाङ – मौवाफाँट र अर्कोतर्फ बेगखोला हुँदै फर्कन पनि सकिन्छ । त्यसको लागि पदमार्ग लगायतका आबस्यक पूर्वाधार निर्माण गर्न आबस्यक छ ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l