वाम गठबन्धनको सालिजा र लेखफाँटमा घरदैलो र कोणसभा

  • २४ कार्तिक २०७४, शुक्रबार
  • 1805 पटक पढिएको

पर्वत २४ कात्तिक । प्रदेशसभा क्षेत्र नम्बर १ पर्वतका वाम गठबन्धनका साझा उम्मेदवार नेत्र अधिकारी सहितको टोलीले विहिवार जलजला ५ लेखफाँट र ६ सालिजामा कोणसभा र घरदैलो सम्पन्न गरेको छ ।वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका पोलिटव्युरो सदस्य अधिकारीले जलजला गाउँपालिका कृषि खेतीमा उर्वर भूमि भएकाले यसको व्यवसायिक र आधुनिकिकरण गर्न आफूले पहल गर्ने बताउनुभयो । उहाँले सालिजामा रहेको हम्पाल डाँडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने धाराणा व्यक्त गर्नुभयो ।

समृद्ध नेपाल निर्माणको ठोस कार्ययोजना सहित वाम गठबन्धन चुनावी अभियानमा होमिएकाले गठबन्धनलाई मतदान गरि विजयी गराउँन उहाँले अनुरोध गर्नुभयो । उम्मेदवार अधिकारीले मिलनचोक,धाइरिङको भूमे थान,हम्मपाल,जलजला हुँदै राम्चेको पर्यटकीय क्षेत्र महरेडाँडा सम्म पदमार्गको विकास गर्ने योजना मतदाताहरु समक्ष अघि सार्नुभयो । उहाँले लेखफाँट र सालिजामा उत्पादन भएका कृषि उपजलाई बजारीकरण गर्नका लागि व्यवस्थित सडक मार्ग निर्माण वाम गठबन्धनको मूख्य प्राथमिकता भएको बताउनुभयो ।

माओवादी केन्द्र जलजला कमिटिका अध्यक्ष दिपक आचार्यले सञ्चालन गरेको कार्यक्रममा नेकपा एमाले पर्वतका उपसचिव गोविन्द पहाडी, निर्वाचन परिचालन कमिटि जलजलाका संयोजक लालवहादुर अधिकारी, पूर्व उपसचिव उदय सुवेदी,माओवादी केन्द्रका तर्फबाट समानुपातिक उम्मेदवार मनरुपा सुवेदी लगायतले वाम गठबन्धनलाई मत दिन अनुरोध गर्नुभएको थियो । पर्वतमा दोस्रोचरणमा मंसिर २१ गते निर्वाचन हुँदै छ ।