गलेश्वरमा शतबीज छर्ने भक्तजनको घुइँचो
- १५ मंसिर २०८१, शनिबार
- 1 पटक पढिएको
म्याग्दी १५ मङ्सिर । म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा बालाचतुर्दशीको अवसरमा सतबीज छर्ने भक्तजनको घुइँचो लागेको छ । पश्चिम नेपालको पशुपतिनाथको रूपमा चिनिएको गलेश्वर शिवालयलाई मुक्तिनाथ प्रवेशद्धारको रुपमा समेत लिने गरिन्छ । गलेश्वर शिवालय परिसरमा बालाचतुर्दशीका दिन बिहानैदेखि शतबीज छर्ने र दीपदान गर्नेहरुको भिड लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
कालीगण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलको विशाल चक्रशिलामा अवस्थित गलेश्वर धाममा सतबीज छर्नका लागि शुक्रवार साँझदेखि टाढाका भक्तजनहरु भजनकृतन सहित जाग्राम बस्न आएका थिए । रातिदेखि नै टाढाटाढाका भक्तजनहरुले सतबीज छरेको र विहानदेखि भक्तजनहरुको उपस्थित बढ्दै गएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव प्रसाद रेग्मीले बताउनुभयो ।
सतबीज छर्न आएका भक्तजनहरुलाई सहज रुपमा कालीगण्डकी नदीमा स्नान गर्न र मन्दिरमा आएर पूजा अर्चना गर्नका लागि विभिन्न २४ वटा उपसमितिले सहजीकरण गरेको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । भक्तजनको सहजताको लागि सुरक्षाकर्मीका साथै स्वंसेवकहरु परिचालन गरिएको छ । बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने चलन रहेको छ।
शालिग्राम शिला पाईने एकमात्रै नदि कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सातथरीका बीउ छर्ने गरिन्छ । यसैगरी शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि छर्ने प्रचलन रहेको छ । गलेश्वरमा सतबिज छर्नका लागि म्याग्दीको विभिन्न गाउँका साथै पर्वत, बागलुङ, मुस्ताङ, कास्की, चितवन, नवलपरासी लगाएतका स्थानबाटसमेत भक्तजनहरु आएका गलेश्वर क्षेत्र विकास कोषले जनाएको छ।
गत बर्षको तुलनामा यस बर्ष भक्तजनहरुको सख्ंया बढेको र दिनभरमा ३० हजार बढी भक्तजन आउने अनुमान गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिब बलबहादुर खत्रीले जानकारी दिनुभयो । द्वापरयुगमा सतीदेवीको गला पतन भएको मानिने गलेश्वरमा सतबीज छर्नका लागि आउने भक्तजनहरुले अघिल्लो दिनमै आएर रातभरी भजन कीर्तन गर्दै जाग्राम बसेर बालाचतुर्दशीको दिन बिहानै कालीगण्डकी स्नान गरी पितृको स्मरण गर्दै दीपदानसहित शतबीज छर्ने प्रचलन रहेको छ। गलेश्वरधामको महिमाको कारण पछिल्लो समय यो क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भएको सतबीज छर्न आउनुभएका क्षेत्रबहादुर चोखालले बताउनुभयो ।
बालाचर्तुदशी पर्वको अवसरमा गलेश्वरमा परम्परागत रुपमा मेला समेत लाग्दै आएको छ । सतबीज छर्न आएका भक्तजनहरुलाई लक्षित गरेर गलेश्वरमा घरायसी सामानको किनबेच समेत हुने गर्छ । मेला भर्न आएका सर्वसाधारणले डालो, नांगो, ठेकी संगै जाडोका लक्तकपडाहरु खरिद गरेर लैजाने भएकाले यहाँ व्यापारीक चहलपहल समेत बढेको छ ।