गलेश्वरमा निर्माण भएको धर्मशाला हस्तान्तरण (फाेटाे फिचर)

  • १९ चैत्र २०७५, मंगलवार
  • 2430 पटक पढिएको

गलेश्वर १९ चैत । सरस्वती गोविन्द फाउण्डेशलने म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा निर्माण गरेको तिर्थयात्री निवास (धर्मशाला) मंगलबार हस्तान्तरण गरिएको छ । काठमाडौको होटल ¥याडीसनका सञ्चालक स्व.गोविन्ददास श्रेष्ठद्धारा स्थापीत फाउण्डेशनको करिब बहत्तर लाख रुपैयाँ सहयोगमा निर्माण भएको धर्मशाला गलेश्वर शिवालय क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिएको हो ।

गत पुषमा दिवंगत भएका श्रेष्ठले २०७४ फागुनमा धर्मशाला भवनको शिलन्यास गर्नुभएको थियो । फाउण्डेशनकी अध्यक्ष समेत रहेकी श्रेष्ठकी छोरी अनुराधा र बुहारी निशु श्रेष्ठले भवनको चावी कोषका अध्यक्ष रुद्रबहादुर केसीलाई हस्तान्तरण गर्नुभएको थियो ।

दुई तले पाँच कोठे धर्मशाला भवन, परिसरमा पर्खाल र प्रवेशद्धारा निर्माणका लागि फाउण्डेशनबाट एकहत्तर लाख एकाउन्न हजार ९८६ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो ।

मुख्य भवनमा अन्ठाउन्न लाख सन्तानब्बे हजार सात सय नब्बे, कम्पाउण्ड पर्खालमा चार लाख सोह् हजार, प्रवेशद्धारमा पाँच लाख अरतीस हजार, यात्रुका लागि लत्ताकपडा खरिदमा दुई लाख र प्राबिधिक तथा प्रशासनिक कार्यमा एक लाख रुपैयाँ खर्च भएको अध्यक्ष केसीले जानकारी गराउनुभयो ।

गलेश्वर, मुक्तिनाथ र दामोदरकुण्डको तिर्थयात्रामा आउने भक्तजनहरुको आवास सुबिधाका लागि धर्मशाला बनाइएको हो । फाउण्डेशनबाट गलेश्वरको पूर्वाधार विकासका लागि व्यक्तिगत रुपमा अहिलेसम्मकै धेरै आर्थिक सहयोग प्राप्त भएको छ ।

श्रेष्ठ परिवारद्धारा स्थापित फाउण्डेशनको सहयोगमा निर्मीत भवनमा एक दिनमा एक सय जना बास बस्न सक्ने क्षमता छ । यसअघि चार सय जना बास बस्न सक्ने धर्मशाला रहेको गलेश्वरमा तिर्थयात्रीहरुलाई निशूल्क भोजनको व्यवस्था मिलाइएको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो । कार्यक्रममा कोषका संरक्षक समेत रहनुभएका प्रजिअ लीलाधर अधिकारीले धर्मशाला गलेश्वरको धार्मिक पर्यटन विकासमा कोसेढुङ्गा बन्ने र अरु सहयोगदाताहरुलाई पनि उत्प्रेरित गरेको बताउनुभयो ।

कोषका अध्यक्ष रुद्रबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष भिमनाथ पराजुलीको स्वागत मन्तब्य र सदस्य सचिव माधवप्रसाद रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । श्रेष्ठ परिवारलाई गलेश्वर क्षेत्र विकास कोषको आजिवन सदस्यता प्रदान गरिएको थियो । गलेश्वर आमा समूहले उहाँहरुलाई सम्मान गरेका थिए । हस्तान्तरण भएपछि मंगलबारदेखिनै धर्मशाला प्रयोगमा ल्याउने कोषका कार्यालय सचिव राम बानियाले बताउनुभयो ।

कालीगण्डकी नदी किनारमा रहेको नौ रोपनी क्षेत्रफलमा फैलीएको ढुङ्गामाथि अवस्थित गलेश्वरमा भक्तजनले चढाउने भेटी, दाता र सरकारी निकायको नौ करोडको लगानीमा सत्संग भवन, जेष्ठ नागरीक आश्रम, पुजारी निवास, सामुदायीक स्वास्थ्य ईकाई, पदमार्ग, शिवलीङ्ग, क्याम्पीङ साईट, बालउद्यान, तिर्थयात्री निवास, मन्दिर निर्माण, मुर्ती स्थापना गरिएको छ ।

गलेश्वर देखि राममन्दिर जोड्ने कालीगण्डकी नदी माथि १२१ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । कालीगण्डकीको पानी लिफ्ट गरेर गलेश्वर परिसरमा १०८ धारा बनाउने तयारी गरिएको छ । गलेश्वर मन्दिर परिसरमा हालै ४२ फिट अग्लो त्रिशुल स्थापना भएको छ ।